सातवटै स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष ०७७/७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिलेसम्म सदरमुकाममै थन्किएका छन्।
स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्रीहरू गत असारमै सबै स्वास्थ्य संस्थामा पुर्याइसक्नुपर्ने थियो। तर, अहिलेसम्म खलंगास्थित निजी घरमा थन्किएको पाइएको छ। चैत महिनामै सदरमुकाम आइपुगेका सामग्रीहरू झन्डै ६ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको छ।
स्थानीय तहले बर्थिङ सेन्टरमा भएको आवश्यक समस्याबारे लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरिद गरिएका थिए । खरिद गरिएका सामग्रीहरूको अभाव भएपछि पटकपटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले जनाएका छन्। माग गरिएका सामग्रीहरू स्वास्थ्य सेवा कार्यालयले खरिद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
भेरी नगरपालिकाले समेत पटकपटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको छैन। बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिले पुग्छ भन्ने अझै यकिन हुन सकेको छैन। सात पालिकामध्ये नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको छ। प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो ।
अघिल्लो आवमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन्। एउटा बर्थिङ सेन्टरमा झन्डै ८० प्रकारका सामग्री आवश्यक पर्छ।
कार्यालय प्रमुखले सक्रियता नदेखाउँदा अत्यावश्यक सामग्रीहरू गोदाममा थन्किएका छन्। यस विषयमा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।