नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतामा आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका अध्यक्ष पद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको विनाधितो कर्जा प्रवाह गर्ने उल्लेख छ । आनमा हाल डेढ सयभन्दा बढी विज्ञापन एजेन्सीहरू सक्रिय सदस्यका रूपमा रहेका छन् । करिब सात सय एजेन्सीले सम्बन्धित रहेर व्यवसाय गर्दै आएको आनले जनाएको छ ।
सम्झौतामा हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विज्ञापन व्यवसायीको आर्थिक रूपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । मुक्तिनाथ विकास बैंकले फरक ढंगले ग्राहकलाई सेवा दिँदै आएकाले लोकप्रिय हुन सकेको उनले दाबी गरे ।
आनका अध्यक्ष धितालले विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सम्झौता सहयोगी हुने बताए । कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने उनको भनाइ थियो ।