उपत्यकामा थुप्रिएको फोहोर बुधबारबाट उठाइने भएको छ। बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, काठमाडौं प्रहरी प्रमुखलगायतको बैठकले यस्तो निर्णय गरेको हो।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ निर्णयबारे महानगर प्रमुख शाक्यले बैठकपछि भने, ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौँ। हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौँ। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’ उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए। ‘बैठकले मोटामोटी तीन–चारवटा निर्णय गरेको छ। ‘पहिलो निर्णय नै काठमाडौं उपत्यकाको फोहोर भोलि बुधबार बिहान ६ बजेबाट उठाउने भयो,’ सिडिओ पराजुलीले भने।
उनले सडक विभागले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए। ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उने भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौंबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ।’
काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह, सडक विभागका महानिर्देशक अर्जुनजंग थापालगायको उपस्थिति रहेको थियो।