घुस लिएपछि प्रहरीको केन्द्रीय विशेष प्रहरी कार्यदलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खटिएका दुईजना प्रहरी पक्राउ परेका छन् । शुक्रबार बौद्धकी एक महिलासँग ९० हजार घुस लिएपछि दुई प्रहरी पक्राउ परेका हुन् ।
असइ सञ्जीव बस्नेत र सइ सुरज खड्काले बौद्धकी एक व्यापारी महिलासँग ९० हजार रकम मागेका थिए । उनीहरूले धम्क्याएर रकम असुलेको आरोप पीडित महिलाले लगाएकी छिन् । महिला लागुऔषध कारोबारी भएकाे भन्दै प्रहरीले पैसा माग गरेका थिए। पैसा नदिए फसाइदिन्छौँ भनेपछि महिलाले डराएर पैसा दिएकी थिइन् ।
महिलाले दिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेको प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।