लगातारको वर्षाले नवलपुरको जनजीवन प्रभावित, तीनजना बेपत्ता

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

लगातारको वर्षाका कारण नवलपरासीको जनजीवन प्रभावित भएको छ। कावासोती, गैंडाकोट, देवचुली, प्रगतिनगर, चोरमारा, अरुणखोला, दुम्कीबासलगायतका क्षेत्र जलमग्न भएका छन्।

अविरल वर्षाका कारण ठाउँठाउँमा बाढी–पहिरो गएको छ। पूर्वी नवलपरासीको हुप्सेकोट– ४ मा हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीनजना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

५० वर्षीय हस्तबहादुर पुलामीको घाइते अवस्थामा उद्धार गरिए पनि उनकी ४० वर्षीया श्रीमती धनमाया पुलामी, सात वर्षीया नातिनी भूमिसरा पुलामी र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका छन्।

निरन्तरको वर्षाका कारण कावासोतीको केरुंगे खोलामा आएको बाढीले कावासोती– १ मा कटान गरेको छ भने कावासोती– ९ मा खेलकुद मैदान बगाएको छ। कावासोती– ४ मा शंखदेवको पक्की पुलनजिकैको आधा बाटो केरुंगे खोलामा आएको बाढीले बगाएको छ।

कावासोती– ११ लोकाहा खोला आसपासको क्षेत्र, वडा नं. १५ को बागखोर, वडा नं. १७ को अमलटारी डुबानमा परेको छ भने गुद्रेही खोलामा पानीको सतह अत्यधिक बढेको छ। यसैगरी मध्यबिन्दु नगरपालिका– १५ स्थित अरुणखोलाको क्षेत्र डुबानको उच्च जोखिममा परेको छ। बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपुरको गैँडाकोट र दाउन्नेमा सडकसमेत अवरुद्ध भएको मल्लले जानकारी दिए।

सुझावित समाचार