सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। कांग्रेस नेता रमेश लेखक र एमालेका नेता डा. राजन भट्टराईले अतिवादी समूह तालिवानले अफगानिस्तानमा तनावग्रस्त स्थिति बनाइरहेका वेला नेपाली नागरिकको उद्धार गर्न गम्भीर भइदिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वेदश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गरे । उनले द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने बताए। परराष्ट्रविद्समेत रहेका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्वहालीको मागसमेत गरेका छन्। उनले भने, ‘जीवन जोखिममा रहेका नेपाली नागरिकको ढिला नगरी उद्धार गर्नुपर्ने हुन्छ। अरू मुलुकले उद्धार गरिरहेका छन्। नेपाली नागरिकले अर्को एजेन्सीसँग काम गरिरहेकाे हुनाले नयाँ आइरहेका शक्तिहरूले उनीहरूलाई झनै मन नपराउने अवस्था छ। यस्तो अवस्थामा सरकारले नेपाली नागरिकहरूको उद्धारमा ढिलाइ गर्नुहुन्न ।’
यस्तै, कांग्रेस नेता एवं पूर्वमन्त्री लेखकले नेपाली नागरिकहरूलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउन जिम्मेवार भइदिन सरकारसँग आग्रह गरे। उनले अफगानिस्तानमा ठूलो संख्यामा नेपालीहरू रहेको उल्लेख गर्दै उनीहरूको जीवनरक्षा गर्न संवेदनशील भइदिन सरकारसँग आग्रह गरे। ‘अफगानिस्तानमा रहेका सबै विदेशी नागरिकहरू चिन्तामा परेका छन्। ठूलो संख्यामा त्यहाँ नेपालीहरू रहेका छन्। त्यहाँ रहेका नागरिकहरूको सुरक्षित घर फिर्ती र जीवनरक्षाको सुनिश्चितता गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्दछ । त्यसका लागि प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु,’ उनले भने।
यसैगरी, परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए। उनले अन्य देशका नागरिकलाई फिर्ता बोलाउने काम भइरहँदा नेपाल सरकार त्यसमा संवेदनशील हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य भएको नाताले पनि नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाइ गर्न नहुनेमा पाण्डेले जोड दिए।