सेनाको गाडी र पिकअप भ्यानकाे ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

सप्तरीमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर–कंकालिनी नगरपालिका– १ भारदहको कंकालिनी मन्दिरनजिक बुधबार सेनाको गाडी र पिकअप भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको १८ नम्बर बाहिनी गाईघाटको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे.१च ६९२५ नम्बरको पिकअप गाडी एक–आपसमा ठोक्किँदा पिकअपचालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 

दुर्घटनामा पिकअपका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका– १० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत जमदार जीवन गिरी घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ दुर्घटनामा परेका दुवै गाडी र सेनाको गाडीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी काफ्लेले बताए । 

सुझावित समाचार