गाउँपालिकाले जनतालाई बाँड्न लिएको चामल दुई वर्षदेखि गोदाममै

कुहिएको एक सय ५५ बोरा चामल मुचुल्का उठाएर गाडियो

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

दैलेखको नौमूले गाउँपालिकाका जनतालाई वितरण गर्ने भन्दै पालिकाले खरिद गरेको चामल दुई वर्ष गोदाममै थन्कियो । दुई वर्षअघि असिनापीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेखअन्तर्गत पालिकाको रकममा लाखौँको चामल खरिद गरेको थियो । ढुवानी भाडा पालिकाले व्यहोरेको र जनतालाई सस्तोमा चामल वितरण गर्ने अभियानअन्तर्गत लगिएको चामलमध्ये बचेको चामल कुहिएपछि स्थानीय प्रशासन र प्रहरीको रोहवरमा एक सय ५५ बोरा चामल गाडिएको छ । 

दुई वर्षदेखि गोदाममै थन्किएपछि एक सय ५५ बोरा चामल कामै नलाग्ने अवस्थामा पुगेको थियो । स्थानीयले खबरदारी गरेपछि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीको रोहवरमा चामल गाडिएको छ ।  तत्कालीन समयमा नौमूले गाउँपालिकामा असिना परेर मकै र धान बाली नष्ट भयो, स्थानीयहरू भोकमरीको चपेटामा पर्न सक्ने अवस्था आएपछि दुई वर्ष अघिदेखि पालिकाले जनता बचाउने अभियानअन्तर्गत सस्तो मूल्यमा चामल खरिद गरेर पालिकाका जनतालाई वितरण अभियान पनि थाल्यो । करिब पाँच ट्रकभन्दा बढी चामल नौमूले लगिएको थियो, पालिकानजिकै गोदाम बनाएर वडा–वडामा चामल वितरण गरिएको नौमूले गाउँपालिकाले जानकारी दिएको छ । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको बताउँदै बिग्रेको चामललाई मुचुल्का उठाएर विसर्जन गरिएको बताए । उनले पालिकामा विभिन्नखाले समस्याहरू, कोभिड समस्या निरन्तर रहिरहेकोले अति आवश्यकता परेको वेलामा चाहिने होला भन्दै पालिकाले स्टक राखेको हो धेरै समय गोदाममै रहेपछि बिग्रेको बताएका छन् । 

गोदाममा चामल कुहिनु पालिकाको कमजोरी : स्थानीय
दुई वर्षसम्म जनतालाई चामल वितरण नगरेर राखिनुमा पालिकाको कमजोरी भएको स्थानीयको आरोप छ । जनताको करको रकमबाट आएको पैसा हो । गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण जनताले चामल नपाएको र लाखौँको चामल कुहिएकोप्रति स्थानीय बासिन्दाहरूले आक्रोश पोखेका छन् । लापरबाही गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । जनताका लागि भनेर ल्याएको भए किन बाँडिएन ? कसको आदेशमा चामल राखिएको हो ? यो विषयमा व्यक्तिगत स्वार्थ हाबी भएकोले यसको जिम्मेवारी अध्यक्ष र कार्यपालिका सदस्यहरूले लिनुपर्ने एक स्थानीयको भनाइ छ । 

मैले मेरो घरमा चामल राखेको हाेइन : अध्यक्ष भदे बुढामगर
‘जनताकै लागि हामीले हजारौँ बोरा चामल वितरण गर्याैँ, असिनापीडितदेखि कोरोना महामारीका वेला आइसोलेसन, क्वारेन्टाइनमा बसेका जनतालाई पालिकाले खरिद गरेको चामल प्रयोगमा ल्याएका हौँ । पालिकामा समस्या धेरै भएपछि चामल ल्याउँदा, पल्टी गर्दा, एक स्थानबाट अर्को स्थानमा सार्दा भिजेका बोराहरू र गोदामको मुनि परेका बोराहरूमध्ये केही चामल बिग्रेको अवस्था आएको हो । हामीले नमस्ते होटेलको पछाडि गोदाममा राख्दा हजारौँ बोरामध्ये केही चामल बिग्रिन पुगेछ, मैले चामल घरमा लगेर राखेको भन्ने विषय गलत हो । व्यवस्थापनमा केही कमजोरी भएको होला, तर मैले व्यक्तिगत स्वार्थमा चामल प्रयोग गरेको छैन, जनताकै लागि ल्याएका हौँ, व्यक्तिगत कमजोरी देखाउने काम कहीँ कतैबाट भएकोमा मलाई दुःख लागेको  छ।’ बुढाले भने । 

See More On

सुझावित समाचार