स्वास्थ्य राज्यमन्त्रीसँग अटो व्यवसायीले मागे खोप

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण

नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर अटोमोबाइल क्षेत्रका जनशक्तिलाई समयमै कोभिड–१९ को खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । टोलीले राज्यमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना दिँदै सरकारका तर्फबाट अटोमोबाइल क्षेत्रका व्यवसायी, कर्मचारी, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकका लागि खोप उपलब्ध गराउने विषयमा पहल गर्न माग गरेको हो ।

भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड–१९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको बताए । सरकारले लगाएको निषेधाज्ञा हाल केही खुकुलो भए पनि अटोमोबाइल क्षेत्रसँग जोडिएका मानिसहरू खोपको अभावमा आफ्नो कार्यक्षेत्रमा जान नसकेको उनको भनाइ थियो । खासगरी व्यवसायको फ्रन्टलाइनमा बस्ने कर्मचारी र श्रमिकलाई धेरै समस्या भएको चौधरीले बताए । 

छलफलमा चोधरीले अटोमोबाइल व्यवसायलाई थप गतिशील बनाउन खोपको टड्कारो आवश्यकता भएकाले तत्काल खोप उपलब्ध गराइदिने व्यवस्थाका लागि आग्रह गरेको नाडाले जनाएको छ । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको जनाइएको छ । यसैक्रममा टोलीले स्वास्थ्य तथा जनसंख्यासचिव लक्ष्मण अर्याललाई भेटी आवश्यक खोप उपलब्ध गराइदिन अनुरोध गरेको नाडाले जनाएको छ ।

सुझावित समाचार