के हो ककटेल ?

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

आजकल मदिरा प्रेमीहरूबीच ककटेल सामान्य हुन थालेको छ । मानिसहरू सादा मदिराबाट ‘मिक्स ड्रिङक’मा चासो दिन थालेका छन् । दुई वा सोभन्दा बढी मदिरामा अन्य सुगन्धित तथा स्वादिला पेयपदार्थ मिसाएर पिइने मदिरा नै ककटेल हो । ककटेलका विषयमा थुप्रै किंवदन्ती छन् । मेक्सिकोकी जकटेल नाम गरेकी राजकुमारीले आफ्ना बाबुका साथीलाई मदिरा खुवाउँदा अन्य फलफूलका जुस र विभिन्न बास्ना मिसाएर सामान्यभन्दा फरक स्वादमा दिने गर्थिन् । उनले बनाउने विशेष प्रकारको मदिरा पिउनकै लागि उनका बुबाका साथी नियमित दरबारमा आउँथे । उनकै नाम जकटेल अपभ्रंश हुँदै त्यस प्रकारको रक्सीको नाम ककटेल हुन पुगेको किंवदन्ती छ । 

त्यस्तै, स्पेनका एक राजा भालेजुधाइ खेलमा धेरै सौखिन थिए । उनले पालेको र सधैँ जित्ने भाले मरेपछि उनी धरै चिन्तित भए । उनी त्यही कुखुराको प्वाँख हातमा लिएर खेलाइरहन्थे । एक दिन कुनै सोचमा मदिरामा जुस मिसाएर उनले त्यही प्वाँखले घोल्न थाले । त्यसपछि भारदारहरू अचम्ममा परे । राजाले कुखुराको प्वाँखले घोलेर त्यो मदिरा पिएकाले त्यस प्रकारको मदिरालाई ककटेल भन्न थालियो भन्ने भनाइ पनि छ ।

एकभन्दा बढी पेयपदार्थ मिसाएर पिइने मदिरायुक्त पेयपदार्थलाई मिक्स ड्रिंक्स भनिन्छ । मिक्स ड्रिंक्स चार प्रकारको हुन्छ । एपरोटिफ, ककटेल, लङ ड्रिंक्स र स्टिमुल्यान्ट्स । एपरोटिफ भनेको भोक जगाउने मिक्स ड्रिंक्स हो । यसमा मार्टिनी र म्यान ह्याटन विशेष चर्चित छन् । मार्टिनी र म्यान ह्याटन दुवै स्विट र ड्राई गरी दुई–दुई प्रकारमा पाइन्छन् । यो खानाभन्दा पहिला पिइन्छ । त्यसपछि आउँछ ककटेल, ककटेलमा चाहिँ ह्वाइट लेडी, पिंक लेडी, साइड कार, वकार्डीजस्ता पर्छन् । यी ब्रान्ड ककटेलमा बढी चल्तीमा छन् । त्यसपछि आउँछ, लङ ड्रिंक्स । लामो ग्लासमा सर्भ गरिने हुनाले यसलाई लङ ड्रिक्स भनिन्छ । जोन कोलिन्स, जिन फिजजस्ता ड्रिंक्स यसभित्र पर्छन् । त्यसपछि लास्टमा आउँछ स्टिमुल्यान्ट्स । योचाहिँ उपचार हो भन्दा हुन्छ । बढी मदिरा सेवन गरेर भोलिपल्ट अप्ठ्यारो भयो भने यो पिइन्छ । अर्थात् ह्याङ हटाउन स्टिमुल्यान्ट्स पिइन्छ । 

एकभन्दा बढी पेयपदार्थ मिसाएर पिइने मदिरायुक्त पेयपदार्थलाई मिक्स  ड्रिंक्स भनिन्छ । मिक्स ड्रिंक्स चार प्रकारको हुन्छ । एपरोटिफ, ककटेल, लङ ड्रिंक्स र स्टिमुल्यान्ट्स । एपरोटिफ भनेको भोक जगाउने मिक्स ड्रिंक्स हो । यसमा मार्टिनी र म्यान ह्याटन विशेष चर्चित छन् ।

एपरेटिफको कुरा गरौँ । जस्तो, ड्राई मार्टिनी, यो अलि ड्राई खाइने भएर तीन भागमा दुई भाग जिन र एक भाग ड्राई भरमुथ हुन्छ । त्यसमा ओलिभ एउटा हालिन्छ । त्यस्तै, स्विट मार्टिनीमा भने आधा जिन र आधा स्विट भरमुथ हालिन्छ । ड्राई मार्टिनीमा ओलिभ हालिएजस्तै स्विट मार्टिनीमा भने एउटा चेरी राखिएको हुन्छ । त्यो ड्राई हो वा स्विट हो भन्ने कुरा ग्लासमा भएको ओलिभ वा चेरीले चिनिन्छ । कुनै पार्टीमा घुमाइरहेको समयमा ड्राई पिउने वा स्विट पिउने त्यही ओलिभ र चेरीले चिनिने हो । स्विट भरमुथ इटालीमा बन्छ । ड्राई भरमुथ फ्रान्समा बन्छ । अर्को म्यान ह्याटन हो । यो नामैले अमेरिकी एक सहर भन्ने बुझिन्छ । यो अमेरिकन ड्रिंक्स हो । यसको बेस फरक हुन्छ । मार्टिनीमा जिन हालिन्छ भने म्यान ह्याटनमा अमेरिकन ह्विस्की हालिन्छ । यो पनि ड्राई र स्विट नै हुन्छ । बनाउने मार्टिनीजस्तै हो । यसमा पनि ड्राईमा ओलिभ र स्विटमा चेरी राखिएको हुन्छ । भरमुथ पनि मार्टिनीमा जस्तै गरी राखिन्छ । 

अब ककटेलको कुरा गरौँ । ककटेल मुख्य गरेर ५ प्रकारले बनाइन्छ । यसमा फरक–फरक पदार्थ मिसाउँदा कुन विधि प्रयोग गरिन्छ भन्ने प्रक्रियालाई नै बनाउने शैली भनिन्छ । ती हुन्– 

१) हल्लाउने  २) घोल्ने  ३) मिक्सचरमा राखेर घुमाउने 
४) पिस्ने ५) तह–तह पारेर बनाउने ।

नेपालमा प्रचलित केही ककटेल बनाउने विधि

म्यानह्याटन : ६० मिलिलिटर जिम विम, १० मिलि लिटर मार्टिनी रोसो र १ थोपा अंगोस्टुरा सेकरमा राखेर आइससँगै घोलिन्छ र मार्टिनी ग्लासमा राखेर चेरीले सजाइन्छ । 

टम कोलिन्स : ६० मिलिलिटर सी ग्राम्स जिन, २० मिलिलिटर लेमन जुस, दुई थोपा अंगोस्टुरा कोलिन्स ग्लासमा राखी सोडाले भरिन्छ । त्यसलाई कागतीको चाना र चेरीले सजाइन्छ । 

द सिंगापुर स्लिङ : सिग्रामस जिन ३० मिलिलिटर, चेरी ब्रान्डी १५ मिलिलिटर, ट्रिपल स्याक दुई थोपा, बेनेडिक्टिन दुई थोपा, कागतीको जुस साढे सात मिलिलिटर, भुइँकटहरको जुस १ सय २० मिलिलिटर, ग्रेनाडाइन १० मिलिलिटर र अंगोस्टुरा दुई थोपा राखेर ककटेल सेकरमा राखेर हल्लाइन्छ । यसलाई टम्स कोलिन्स ग्लासमा राखेर भुइँकटहर र चेरीले सजाइन्छ । 

नेग्रोनी : ३० मिलिलिटर सिग्राम्स जिन, ३० ग्राम मार्टिनी रोसो, ३० मिलिलिटर कम्पारीलाई ककटेल सेकरमा राखेर हल्लाइन्छ र मार्टिनी ग्लासमा राखेर सुन्तलाका चानाले सजाइन्छ । 
ब्लडी मेरी : ६० मिलिलिटर स्मिरनफ, १ सय २० ग्राम गोलभँेडाको जुस, दुई थोपा ट्वास्को, १५ मिलिलिटर कागतीको जुस, दुई थोपा वरसेस्टरसायर, दुई चिम्टी नुन र दुई चिम्टी मरिचको धुलो ओल्ड फेसन्ड ग्लासमा हालिन्छ । त्यसलाई बिस्तारै घोलिन्छ र सेलेरीले सजाइन्छ । 

ब्ल्याक रसियन : ३० मिलिलिटर स्मिरनफ र ३० मिलिलिटर कह्ल्उवा आइससहित ककटेल सेकरमा राखेर हल्लाइन्छ र ओल्ड फेसन्ड ग्लासमा हालिन्छ । 

कस्मो पोलिटन : ४५ मिलिलिटर स्मिरनफ, १५ मिलिलिटर ग्र्यान्ड मार्नियर, १० मिलिलिटर कागतीको रस र ६० मिलिलिटर क्रेन बेरी जुस ककटेल सेकरमा आइससहित राखेर हल्लाइन्छ र मार्टिनी ग्लासमा हालिन्छ । 

कामिकाजे : ३० मिलिलिटर स्मिरनफ, ३० मिलिलिटर ट्रिपल सेक, ३० मिलिलिटर कागतीको रस, १० मिलिलिटर सुगर सिरप र पाँच मिलिलिटर ग्रेनेडाइन आइससहित ककटेल सेकरमा राखेर हल्लाइन्छ र कागतीको बोक्राको रस अलिकति हालेर ओल्ड फेसन्ड ग्लासमा कागतीसहित सजाइन्छ । 

माइताई : ४५ मिलिलिटर वकार्डी, १० मिलिलिटर चेरी ब्रान्डी, १० मिलिलिटर ट्रिपल सेक, ६० मिलिलिटर पाइनापल जुस, १० मिलिलिटर सुगर सिरप, २० मिलिलिटर कागतीको रस, १० मिलिलिटर एप्री र दुई थोपा अंगोस्टुरा राखेर ककटेल सेकरमा आइससहित हल्लाइन्छ । यसलाई ओल्ड फेसन्ड ग्लासमा राखेर पाइनापल र चेरीले सजाइन्छ । सेक्स अन द विच: ३० मिलिलिटर खरबुजा, ३० मिलिलिटर क्रिम डे क्यासी, ६० मिलिलिटर पाइनापल जुस, ६० मिलिलिटर क्रान्वेरी जुस आइससहित ककटेल सेकरमा राखेर हल्लाइन्छ र एपी वाइन ग्लासमा राखेर पाइनापल तथा कागतीको स्लाइसले सजाइन्छ । 

साइड कार : ४५ मिलिलिटर मह, १५ मिलिलिटर कोइन्थ्रु र १५ मिलिलिटर कागतीको रस राखेर ककटेल सेकरमा हल्लाइन्छ र मार्टिनी ग्लासमा राखिन्छ । 

स्क्रु ड्राइभर : ६० मिलिलिटर स्मिरनफ र १ सय २० मिलिलिटर सुन्तलाको जुस कोलिन्स ग्लासमा राखेर त्यसमा धेरै आइस राखिन्छ । अनि सुन्तलाको चानाले सजाइन्छ । 

ह्वाइट रसियन : ३० मिलिलिटर स्मिरनफ, ३० मिलिलिटर काह्ल्वा र २० मिलिलिटर क्रिम राखेर ककटेल सेकरमा आइससहित हल्लाइन्छ र ओल्ड फेसन्ड ग्लासमा राखिन्छ । लङ ड्रिंक्समा जोन कोलिन, जिन फिजजस्ता पर्छन् । यसमा जिन बेस हुन्छ । तर, कुन जिनबाट बनाएको भन्ने कुराले मुख्य अर्थ राख्छ । लन्डनको वा हल्यान्डको जिन प्रयोग हुन्छ । स्टिमुल्यान्ट्स आवश्यकताअनुसार बनाइन्छ । जुन मदिरा पिएर ह्याङओभर भएको हो, त्यही मदिरा थोरै राखेर त्यसमा अन्डाको पहेँलो भाग राखिन्छ र त्यसलाई सिजनिङ (नुन र मरिचको धुलो छर्किने) गरेर एकै घुट्कोमा पिइन्छ । 

सुझावित समाचार