ऐनविपरीत जीवन बिमा कम्पनीहरूद्वारा अभिकर्तालाई सवा ९ अर्ब कर्जा वितरण

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

अभिकर्ताबाट कर्जा असुली गर्न नसक्दा कम्पनीहरूको बोनसदर नै प्रभावित

जीवन बिमा कम्पनीहरूले अभिकर्ताहरूलाई फकाउन कमिसन, इन्सेन्टिभका साथै ऐनविपरीत रकम वितरण गरेको पाइएको छ । बिमा समितिको तथ्यांकअनुसार १९ जीवन बिमा कम्पनीले ९ अर्ब १३ करोड रुपैयाँ विभिन्न शीर्षकमा कर्जा वितरण गरेका छन् । बिमा नियमावलीले अभिकर्तालाई बिमा व्यवसाय गरेबापत निश्चित प्रतिशत र निश्चित अवधिसम्ममा कमिसन दिने व्यवस्था गरेको छ । त्यस्तै, कम्पनीले व्यवसाय प्रवद्र्धनका लागि अभिकर्तालाई इन्सेन्टिभसमेत दिन सक्छन् । तर, कम्पनीहरूले अभिकर्तालाई यसका अतिरिक्त विभिन्न शीर्षकमा कर्जा वितरण गर्न थालेका छन् । 

जीवन बिमा कम्पनीहरूले अभिकर्ता रिझाउनकै लागि जथाभावी कर्जा वितरण गरेको पाइएको छ । नेपालमा एकैपटक ९ वटा जीवन बिमा कम्पनी थपिएपछि यस्तो खालको विकृति झनै मौलाएको बिमा समितिको ठहर छ । कतिपय नयाँ कम्पनीले पुराना कम्पनीका अभिकर्तालाई तान्न विभिन्न खालका कर्जा योजना दिएका छन् । त्यस्तै, पुराना कम्पनीका अभिकर्ताले सामूहिक रूपमा नै नयाँ बिमा कम्पनीसँग मोलमोलाइसमेत गर्ने गरेको पाइएको छ । तर, अभिकर्ताको कार्यसम्पादनका आधारमा कर्जा दिने गरेको बिमा कम्पनीहरूको जिकिर छ । 

कर्जा दिँदा खरिद गरिएको वस्तु धितोमा राख्ने र कम्पनीले अभिकर्ताको कमिसनबाट कर्जा असुली गर्ने कम्पनीको भनाइ छ । तर, कम्पनीले विभिन्न शीर्षकमा कर्जा दिएको देखाए पनि वास्तविकतामा नगद नै दिने गरेको जीवन बिमक संघका उपाध्यक्ष एवं सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए ।  

कम्पनीहरूले विशेष गरी गाडी, मोटरसाइकल, ल्यापटप, कम्प्युटर, मोबाइल, घर, भवन र सापटी शीर्षकमा कर्जा वितरण गर्दै आएका छन् । ‘कार, मोटरसाइकलजस्ता वस्तु खरिदमा हामीले पनि केही भनेका छैनौँ । किनभने, यस्तो कर्जामा कार र मोटरसाइकल कम्पनीको नाममा नै हुन्छ । बिमा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पनि पर्ने भएकाले हामी चुप लागेका हौँ,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । तर, यसबाहेक अन्य शीर्षकमा पनि कम्पनीले कर्जा वितरण गर्न थालेपछि समितिले कडाइ गरेको उनले जानकारी दिए । 

समितिको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । नेसनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ कर्जा बाँडेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३ करोड ३८ लाख रुपैयाँ प्रवाह गरेको छ । त्यस्तै, नयाँ कम्पनीहरूमा आइएमई लाइफले २३ करोड ३ लाख, युनियन लाइफले ३ करोड ३१ लाख, ज्योतिले ३ करोड २५ लाख र सन नेपालले ६ लाख रुपैयाँ कर्जा वितरण गरेका छन् । बिमा कम्पनीहरूले बजारको दरअनुसार कम्तीमा पनि ८ देखि १२ प्रतिशत ब्याजदरमा अभिकर्तालाई कर्जा उपलब्ध गराउँदै आएका छन् । 

अभिकर्तालाई कर्जा प्रवाह नगर्न समितिको निर्देशन
 बिमा अभिकर्तालाई कर्जा प्रवाह नगर्न बिमा समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिले गत २ वैशाखमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै कर्जा वितरण गर्नमा रोक लगाएको हो । त्यसका साथै समितिले असार मसान्तसम्ममा सबै कर्जा असुली गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । तर, कम्पनी र अभिकर्ताले लामो अवधिका लागि दिएको कर्जा दुई महिनामा नै असुली गर्न नसकिने भन्दै समितिलाई निर्देशन सच्याउन दबाब दिएका थिए । फलस्वरूप समितिले पहिलो निर्देशन सच्याउँदै कर्जा असुली हुने अवधिसहित समितिलाई विवरण बुझाउन निर्देशन दिएको छ ।

कर्जा असुलीमा समस्या हुँदा बोनसदर प्रभावित
जीवन बिमा कम्पनीहरूले अभिकर्ताबाट कर्जा असुली गर्न नसक्दा कम्पनीहरूको बोनसदर नै प्रभावित हुन थालेको छ । कम्पनीले अभिकर्ताको कार्यसम्पादनभन्दा पनि लोभ्याउन जथाभावी कर्जा दिँदा असुलीमा समस्या भएको समितिका कार्यकारी प्रमुख पौडेलले बताए । उनका अनुसार कर्जा लिएपछि कतिपय अभिकर्ता सम्पर्कविहीन हुने गरेका छन् । तर, पेसागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले भने अभिकर्ताबाट कर्जा असुली गर्न नसक्नु कम्पनी व्यवस्थापनको कमजोरी भएको बताए । ‘कम्पनीले अभिकर्ताको व्यावसायिक प्रस्तुतीकरणभन्दा पनि नातावादका आधारमा कर्जा प्रदान गर्दै आएका छन्,’ उनले भने । त्यसैले असुलीमा समस्या भएको हो । कम्पनीहरूले उपलब्ध गराउने कर्जा असुल नहुँदा वित्तीय विवरणमा प्रोभिजन गर्नुपर्छ । जसको प्रत्यक्ष असर बोनसदरमा पर्ने गरेको समितिको भनाइ छ । 

ऐनमा अभिकर्तालाई कर्जा दिने व्यवस्था नै छैन : राजुरमण पौडेल कार्यकारी निर्देशक एवं प्रवक्ता, बिमा समिति

कुनै पनि ऐनमा अभिकर्तालाई कर्जा दिने व्यवस्था गरेको छैन । बिमा कम्पनीहरू आफैँले कर्जा दिएका हुन् । यदि बिमा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सामग्री खरिद गर्दा धितोसहित कर्जा दिन्छन् भने हामीले त्यसलाई समेत नाइँ भनेका छैनौँ । तर, अहिले त कम्पनीहरूले घर खरिद गर्न, भवन खरिद गर्न, घडेरी खरिद गर्नदेखि लिएर नगदसमेत कर्जा दिएको पाइयो । त्यसैले समितिले कर्जा फस्र्योट गर्ने विवरण बुझाउन कम्पनीलाई निर्देशन दिएको हो । 

कम्पनीले कमिसन रोकिदिएका छन्  : नन्दप्रसाद तिवारी अध्यक्ष पेसागत अभिकर्ता संघ नेपाल

अहिले जीवन बिमा कम्पनीहरूले अभिकर्ताको कमिसन रोकिदिएका छन् । समितिले आफ्नो पहिलो निर्देशन सच्याए पनि कम्पनीले कमिसन रोकेका छन् । कमिसन रोकिदिँदा अभिकर्तालाई आर्थिक संकट परेको छ । 

ऐनमा कर्जा दिन पाइने व्यवस्था छ  : पोषकराज पौडेल प्रमुख कार्यकारी अधिकृत, सिटिजन्स लाइफ उपाध्यक्ष, जीवन बिमक संघ

ऐनमा कर्मचारीलाई र अभिकर्तालाई कर्जा दिन पाइन्छ भन्ने व्यवस्था छ ।

तर, केका लागि दिने भनेर प्रस्ट्याइएको छैन । त्यसैले यसमा स्पष्ट नभएको हो ।

बिमा समितिले व्यवसाय प्रयोजनका लागि आवश्यक सामग्रीका लागि कर्जा दिनलाई रोकेको छैन ।

सवारीसाधन कर्जामा समिति सकारात्मक नै छ । तर, अन्य कर्जा शीर्षकमा कर्जामा समितिको आपत्ति हो ।

त्यसैले समितिले यो असारभित्रमा कर्जा असुलीको विवरण कम्पनीहरूसँग मागेको छ । 
 

See More On

सुझावित समाचार