मुलुकभर धानखेती हुने जमिनमध्ये ५६.६१ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । देशभर खेतीयोग्य २५ लाख हेक्टर जमिनमध्ये १४ लाख ९१ हजार हेक्टर धानखेतीका लागि योग्य मानिँदै आएको छ । यसमध्ये वर्षेधान (असारमा रोपेर मंसिरमा काट्ने) १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने अनुमान छ ।
१३ लाख ७१ हजार हेक्टरमा वर्षेधान रोपाइँ हुने तथ्यांकका आधारमा हालसम्म ७ लाख ७६ हजार हेक्टरमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । जुन ५६.६१ प्रतिशत हो । यो वर्ष समयमै मनसुन भएको र रासायनिक मलको सहज उपलब्धताका कारण रोपाइँमा सुधार भएको विभागले जनाएको छ ।
यद्यपि, गत वर्षको तुलनामा अहिलेको रोपाइँ कम हो । गत वर्ष यही अवधिमा ६०.६६ प्रतिशत रोपाइँ सकिएको थियो । किसानले रासायनिक मलको चर्को अभाव खेपे पनि गत वर्ष रोपाइँ समयमै सम्पन्न भएको थियो । विभागको कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलले यो वर्ष धानखेतीका लागि योग्य मानिएको सबै जमिनमा रोपाइँ हुने अपेक्षा राखेको बताए ।‘हामीले विवरण संकलन गरिरहँदा सबै ठाउँमा उत्साहजनक हिसाबले रोपाइँ भइरहेको रिपोर्ट प्राप्त भएको छ’ उनले भने, ‘त्यसैले यो वर्ष गत वर्षकै हाराहारीमा वा थोरै कम मात्रामा रोपाइँ हुने अपेक्षा छ ।’
विभागको तथ्यांकअनुसार सबैभन्दा थोरै धानखेती हुने कर्णालीमा रोपाइँ ८३.८५ प्रतिशत सकिएको छ । कर्णाली प्रदेशमा कुल ३८ हजार ३ सय ८५ हेक्टरमा मात्रै रोपाइँ हुने गरेको छ ।
त्यस्तै, तीन लाख हेक्टर धानखेतीयोग्य जमिन रहेको लुम्बिनी प्रदेशमा हालसम्म ८०.५० प्रतिशत रोपाइँ सकिएको छ ।
सुदूरपश्चिममा ७५.५४ प्रतिशत र बागमती प्रदेशमा ६१.०१ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा धेरै धान रोपाइँ हुने प्रदेश १ र २ मा ठूलो क्षेत्रफल रोपाइँ हुन बाँकी छ । कृषि विभागको तथ्यांकअनुसार प्रदेश १ मा ४६.५८ प्रतिशत र प्रदेश २ मा ३९.२८ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा सबैभन्दा कम ३०.५७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।