विद्युतीय कार निसान लिफको बुकिङ खुल्यो

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

निसान कम्पनीका गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा विद्युतीय सवारीसाधन लिफ सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ । कम्पनीले यो गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ सुरु गरेको हो । 

सुरक्षित र दिगो भविष्यको प्रत्याभूतिसहित नेपाली बजारमा लिफ इभी उपलब्ध गराएको कम्पनीले जनाएको छ । शून्य प्रदूषणको विशेषता भएको निसान लिफ इलेक्ट्रिक भेहिकल निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन रहेको दाबी गरिएको छ । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारीसाधन रहेको कम्पनीको भनाइ छ । 

निसान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकले विद्युतीय सवारीसाधनको सेगमेन्टका लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोस्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको बताए । निसानको ‘निसान इन्टेलिजेन्ट मोबिलिटी’अन्तर्गत ग्राहकले स्मार्ट, आरामदायी, वातावरणमैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्ने उनको भनाइ छ ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले इलेक्ट्रिक भेहिकलका विशेषताहरू र उपयोगिताबारे ग्राहकलाई जानकारी गराउनुका साथै अब विश्व र नेपालको भविष्य नै इलेक्ट्रिक भेहिकल रहेको बताए । उनले भने, ‘शून्य प्रदूषणसहितको उपयुक्त प्रविधिमा आधारित यो सवारीसाधन चालकदेखि यात्रुलाईसमेत सुविधासम्पन्न र आरामदायी छ । निसान लिफ इभीले आफ्ना ग्राहकहरूलाई सुरक्षित, स्मार्ट र सुविधासम्पन्न यात्रा गर्न थप सहजीकरण गर्नेछ ।’

यसमा ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १ सय ४० किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसलाई घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घन्टामा र निसानको चार्जिङ स्टेसनबाट ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । यो गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ)सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार