मुख्य स्ट्राइकर इमिल फोसवर्ग चोटमुक्त भएको समाचारपछि स्विडेनका प्रशिक्षक जाने एन्डरसन दंग परेका छन् । फोसवर्गले पछिल्लो चार खेलमा चार गोल गरेका छन् । उनले आज राति युक्रेनविरुद्धको खेलमा पनि गोलको निरन्तरता दिने विश्वासका कारण प्रशिक्षक एन्डसरन दंग परेका हुन् ।
फोसवर्गकै उत्कृष्ट प्रदर्शनले स्विडेनले चालू युरोकपको प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गरेको हो । आज राति १२ः४५ मा स्विडेनले युक्रेनसँगको सामना गर्दा प्रशिक्षक एन्डरसनले स्ट्राइकर फोसवर्गलाई पहिलो प्राथमिकतामा राख्नेछन् । तर, स्विडेनको टोलीमा घाइते खेलाडीको समस्या यथावत् नै छ । अर्कोतिर भरपर्दा खेलाडीहरू मार्कोस डानिल्सन, मिकाएल लुस्टिङ र क्रिस्टोफ ओल्सनले लगातार दोहोरो पहेँलो कार्डको सामना गरेका छन् ।
युक्रेनले भने नियमित खेलाडी डेन्सिय पोपोभ र एलेसान्डर जुब्कोभलाई पहिलो सेटमै उतार्ने सम्भावना छ । यी दुवै खेलाडी हल्का चोटग्रस्त छन् । युक्रेनका विगर भिक्टोर गान्कोभ पहिलोपटक पहिलो सेटमै खेल्नेछन् ।
युक्रेन र स्विडेनबीचको विजेताले क्वार्टरफाइनलमा इंग्ल्यान्ड र जर्मनीबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । स्विडेन र युक्रेनबीचको खेल चालू युरोकपकै अन्तिम प्रिक्वार्टरफाइनल खेल हुनेछ ।
पछिल्लो समय स्विडेन उत्कृष्ट फर्ममा छ । स्विडेनले पछिल्लो १० खेलमा नौ गोल गरेको छ । जारी युरोकपमा स्पेनविरुद्ध मात्र गोल गर्न नसकेको हो । एलेक्सान्डर इस्कले गोल गर्न नसके पनि उनले विपक्षी टोलीका डिफेन्डरलाई चुनौती दिन सफल भएका छन् । स्पेनिस क्लब रियल सोसिडाडका खेलाडी इस्कले मैदानको चौतफी क्षेत्र कभर गरेका छन् । युक्रेन भने पछिल्लो ६ खेलमा अपराजित छ । यसअघि कतार विश्वकप छनोटमा युक्रेनले फ्रान्सलाई १–१ को बराबरीमा रोकेको थियो ।

हेड टु हेड
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा स्विडेन र युक्रेनबीच यो पाँचौँ भेट हो । सन् २०११ मा सम्पन्न मैत्रीपूर्ण खेलमा स्विडेनले युक्रेनलाई १–० ले हराएको थियो । त्यसयता युक्रेनले स्विडेनमाथि दबाबमा राखेको छ ।
सन् २०१२ को युरोकपमा युक्रेनले स्विडेनलाई २–१ ले हराएको थियो । सो खेलमा युक्रेनका वर्तमान प्रशिक्षक एन्ड्रे स्भचेन्कोले नै दुई गोल गरेका थिए ।
तथ्य
– युरोकप च्याम्पियनसिपमा स्विडेन तेस्रोपटक नकआउटमा पुगेको हो । प्रशिक्षक एन्डरसनको प्रशिक्षणमा स्विडेनले पछिल्लो आठमध्ये सात खेलमा जित निकालेको छ । स्विडेनले चालू युरोकपमा सर्वाधिक पाँच सय ९१ पास खेलेको छ ।
– स्विडेनका खेलाडीबीचको पासिङ एक्युरिसी ६९ प्रतिशत छ । फोसवर्गले पोल्यान्डविरुद्धको पहिलो खेलमा एक मिनेट २२ सेकेन्डमा गोल गरेका थिए । यो युरोकप इतिहासकै दोस्रो छिटो गोल हो ।
– युक्रेन इतिहासमै पहिलोपटक युरोकप फुटबल प्रतियोगिताकै नकआउट चरणमा पुगेको हो । युरोकपमा युक्रेनले कहिले पनि क्लिन सिट प्राप्त गर्न गरेको छैन । युक्रेनले समूह चरणमा वेल्सविरुद्ध १६ पटक गोलका लागि प्रयास गरेको थियो ।