निसानको नयाँ म्याग्नाइट एक महिनामा ७ सयभन्दा बढी बुकिङ

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

निसान इन्डियाको नयाँ उत्पादन निसान म्याग्नाइट नेपालमा ३० दिनमै ७ सय ६० भन्दा बढी बुकिङ भएको छ । कम्पनीले नेपालसहित इन्डोनेसिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेपछि नेपालमा पनि यसको बुकिङ खुला गरिएको थियो । 

‘मेक इन इन्डिया, मेक फर वल्र्ड’ अवधारणासहित निर्माण गरिएको यो नयाँ सवारीसाधनले भारतमा सफलता प्राप्त गर्दै गएको कम्पनीले जनाएको छ । नेपालमा पनि ३० दिनमा ७ सय ६० भन्दा बढी बुकिङ भएकाले यसले निर्धारण गरेको मासिक बिक्री १ हजार ५ सय ८० पूरा हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

निसानको नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा सुरु भएको जनाइएको छ । कम्पनीले सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निसान म्याग्नाइट पूर्ण रूपमा तयार गरिसकेको दाबी गरेको छ । जसमध्ये १३ हजार ७ सय ९० वटा भारतीय बजारमा गइसकेका र १ हजार २ सय २० वटा निर्यात गरिएको कम्पनीले जनाएको छ । 

निसान मोटर इन्डिया प्रालिका अध्यक्ष सिनान ओजकोकले भारतीय उपभोक्ताहरूले यसको नमुना र नयाँ प्रविधिलाई अत्यन्त रुचाएको बताए । उनले भने, ‘भविष्यमा यसले आफ्नो बजार आक्रामक रूपमा अगाडि बढाउनेछ ।’ उपभोक्ताले यो गाडी प्रयोगमा ल्याउँदै जाँदा यसको बजार माग पनि बढ्दै जाने ओजकोकको भनाइ छ । निसान मोटर इन्डिया प्रालि जापानको निसान मोटर कम्पनीको शतप्रतिशत सहायक कम्पनी हो । सन् २००५ देखि भारतमा उत्पादन थालेको यसको कारखाना चेन्नईमा रहेको छ ।

See More On

सुझावित समाचार