सगरमाथा आरोहणदललाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण
सगरमाथा आरोहणदललाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

सगरमाथा शिखरमा राष्ट्रिय वाणिज्य बैंकको लोगोसहितको झन्डा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गर्दै आरोही बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पा ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सँगै सगरमाथा आरोहण गर्ने बाबुछोराको टोलीलाई आर्थिक सहयोग गरेको छ । बैंकले ‘प्रकृति जोगाऔँ, जलवायु परिवर्तन न्यूनीकरण गरौँ’ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स् क्याम्पेनलाई ३ लाख रुपैयाँ सहयोग गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झन्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरेको जनाइएको छ । फादर एन्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत विश्वमै पहिलोपटक सात महादेश र पाँच समुद्रको सफाइ गर्ने बताइएको छ । 

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकको झन्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्दै कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । सगरमाथा आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबुछोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताएका थिए । 

सुझावित समाचार