होम डेलिभरी सेवा खोलिदिन आग्रह

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

बजार जानुपर्ने बाध्यता नहुँदा उपभोक्तालाई घरमै बस्न प्रोत्साहित गर्ने भनाइ

ई–वाणिज्य तथा होम डेलिभरी गर्ने कम्पनीहरूको संगठन ई–बिजेनस एसोसिएसन नेपाल (इबान)ले कोभिड–१९ को दोस्रो लहरका कारण भएको निषेधाज्ञामा सुरक्षित तवरले होम डेलिभरी गर्ने सवारीसाधनलाई छुट दिन आग्रह गरेको छ । उपभोक्ताले वस्तु घरमै पाउँदा घरबाहिर ननिस्कने र संक्रमणदर घट्ने जिकिरसहित संस्थाले होम डेलिभरी गर्ने सवारीसाधनलाई सडकमा गुड्न दिन आग्रह गरेको हो । 

इबानका अध्यक्ष सागर भट्टले उच्च सुरक्षा सतर्कताका साथ होम डेलिभरी गर्ने विषयमा गत साता मात्रै नेपालमा उच्चस्तरीय समन्वय समिति (सिसिएमसी), जिल्ला प्रशासन कार्यालय र विभिन्न मन्त्रालयहरूमा समेत यस विषयमा आफ्नो प्रस्ट योजना नै पेस  गरेको बताए । 

सम्बद्ध निकायहरूबीच आवश्यक समन्वय गरी यो सेवालाई प्रभावकारी तुल्याउन सकिएमा यसवाट आमउपभोक्तालाई राहत मिल्ने अध्यक्ष भट्टको भनाइ छ । उनले भने, ‘उच्च सुरक्षा सतर्कतालाई प्राथमिकता दिँदै आवश्यक र अनावश्यक वस्तुको सूची तयार गर्नुभन्दा पनि समग्रमा ई–वाणिज्य र होम डेलिभरीलाई आपत्कालीन सेवाका रूपमा अगाडि सार्न सरकारसँग हामीले आग्रह गरेका छौँ ।’ 

अन्तर्राष्ट्रिय अभ्यासमा पनि यस्तै व्यवस्था रहेको र ई–वाणिज्य एवं होम डेलिभरीलाई आपत्कालीन सेवाका रूपमा प्रयोगमा छुट दिइँदै आएको उनी बताउँछन् । यसले उपभोक्तालाई डिँहडुल गरी रोगको भयवाट बचाउनुका साथै मुलुकको अर्थव्यवस्थामा समेत टेवा पुर्याउने उनको भनाइ छ । 

अनलाइन बजार दराजका प्रबन्ध निर्देशक लिनो अह्लरिङले सुरक्षित रूपले सामान डेलिभरी दिँदा सबै पक्षलाई फाइदा पुग्ने बताए । यसले बन्द भएका पसलले डेलिभरी गर्ने व्यक्तिलाई मात्र सामान दिँदा सुरक्षित रूपमा व्यापार हुने, डेलिभरी गर्ने व्यक्तिहरूको रोजगारीमा असर नपर्ने, उपभोक्ताले घरबाट बाहिर निस्कनु नपर्ने, सरकारको राजस्वमा योगदान पुग्ने तथा डिजिटल पेमेन्ट गर्ने बानीको विकास हुने उनको भनाइ छ । प्रबन्ध निर्देशक अह्लरिङले भने, ‘अन्तर्राष्ट्रिय बजारमा अहिले ई–कमर्स उत्तम अभ्यासका रूपमा स्थापित नै भएको छ । सिंगापुर, पाकिस्तान, चीन, बंगलादेशलगायतका विभिन्न एसियन तथा युरोपियन मुलुकहरूमा अहिले यस्तो सेवालाई उच्च प्राथमिकता दिइएको छ । अझ विश्व बजारमा ई–कमर्स र होम डेलिभरी सेवा त एउटा आपत्कालीन सेवाकै रूपमा स्थापित भएको अवस्था छ ।’

यसले उपभोक्ताको किनमेलका लागि हिँडडुल गर्नुपर्ने अवस्थालाई कम गरी जोखिमबाट बच्न र अत्यावश्यक सामग्री सहजै प्राप्त गर्न सहयोग पु¥याएको उनको जिकिर छ । तर, नेपालमा भने विश्व बजारमा लागू भएको व्यवस्था मेल खान नसकेको अह्लरिङले गुनासो गरे । दराजका डेलिभरीकर्मीले कोभिड–१९ को पहिलो डोज भ्याक्सिन लिइसकेको र सुरक्षित तवरले काम गर्ने तालिम पनि लिएकाले उनीहरूले सामान डेलिभरी गर्दा कोभिड संक्रमण नहुने कम्पनीको दाबी छ । 

तयारी खाना उपभोक्ताकहाँ डेलिभरी दिँदै आएको फुडमान्डुका ब्रान्ड मार्केटिङ एन्ड सेल्स हेड श्याम मालीले सरकारले होम डेलिभरीलाई चासो नदिएकाले व्यवसाय बन्द गर्नुपरेको गुनासो गरे । तयारी खाना डेलिभरीले बजारमा सर्वसाधारणको चाप घटाउने र घरमै बसेर संक्रमणविहीन खाना खान पाउने उनको भनाइ छ । उनले भने, ‘अहिलेको समयमा परिवार नै संक्रमणमा पर्ने घटना धेरै भएको छ । 

कमसेकम हामीले खाना डेलिभरी गरिदिन पाएको भए उनीहरू खाना किन्नबाहिर निस्कनुपर्ने थिएन । उनीहरू खाना किन्न निस्कनु भनेको संक्रमण फैलिनु पनि हो । तर, सरकारले यस्तो कुरो बुझेकै छैन ।’ बिहान १० बजे सम्म मात्र डेलिभरी ब्वाईहरूले सामान पु¥याउन पनि छलीछली हिँड्नुपर्ने भएकाले सेवा नै बन्द गरेको उनको भनाइ छ । १० बजेसम्म मात्र लुकिछिपी डेलिभरी गर्न सहज नभएको र छिटो र थोरै समयमा गर्दा सुरक्षा मापदण्डमा पनि हेलचेक्र्याइँ हुन सक्ने आशंकामा सेवा बन्द गरेको मालीले बताए । सबै डेलिभरी ब्वाईलाई पहिलो डोजको भ्याक्सिन दिइसकेको र सुरक्षाका बारेमा तालिम पनि दिएकाले होम डेलिभरी सेवाले संक्रमण बढाउनुको साटो घटाउने उनको जिकिर छ । 

सुझावित समाचार