जुम्लाको तातोपानी गाउँपालिका हियाँखोलाका १ सय २० घरपरिवार मिलेर सामूहिक रूपमा बगैँचा निर्माण गरेर स्याउखेती सुरु गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोनले चक्लाबन्दीमा स्याउखेती गर्ने कृषकलाई बिरुवा र घेराबारमा ५० प्रतिशत अनुदान दिएपछि गाउँले मिलेर सामूहिक बगैँचा बनाएका हुन् ।
सामूहिक बगैँचाभित्र रोपिएका स्याउका बिरुवा भने व्यक्तिगत नै हुनेछन् । उत्पादन पनि व्यक्तिकै हुनेछ । स्याउ सुपरजोनले ४६ लाख लागतमा घेराबार र स्याउका बिरुवा उपलब्ध गराएको हो । पहिले स्याउका बिरुवा रोप्दा गाईबस्तुले नष्ट गर्ने गरेका थिए । अहिले सामूहिक स्याउ बगैँचाको अवधारणाले स्याउका बिरुवा सुरक्षित छन् । भक्तबहादुरले भने, ‘अहिले स्याउ पनि बचेका छन् । घेराबारले सुरक्षित पनि हुनेछन् । यो जुम्लामा पहिलोपटक गरिएको सामूहिक स्याउ बगैँचाको अभ्यास हो ।’
स्थानीय देवीकन्या आचार्यले भनिन्, ‘सुक्खा क्षेत्र भएकाले स्याउ बगैँचाको कल्पनासमेत गरिएको थिएन । खडेरीले भएका पानीका मुहान पनि सुकिसकेका छन् । सिँचाइको कुनै पनि विकल्प थिएन । सामूहिक स्याउ बगैँचाको अवधारणाले बगैँचाको घेराबार पनि सम्भव भयो । सिँचाइ सुविधाका लागि पहल पनि भइरहेको छ । यो यहाँका किसानका लागि राम्रो पक्ष हो । यो बगैँचा किसानको राम्रो आम्दानीको स्रोत बन्नेछ ।’
सामूहिक स्याउ बगैँचा हेर्न बगैँचामै पुगेका कर्णाली प्रदेशका कृषि सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सामूहिक स्याउ बगैँचामा स्थानीय किसानको योगदानको प्रशंसा गरे । उनले भने, ‘सरकारले खोजेको पनि यही काम हो । सामूहिक कार्यमा सधैँ सरकारको साथ रहन्छ ।’
स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले ४६ लाख रुपैयाँको लागतमा ६ हजार स्याउका बिरुवा अटाउने गेटसहितको नेपालकै नमुना सामूहिक स्याउ बगैँचा स्थापना गर्न सकिएको बताए । बिरुवा र घेराबार सुपरजोनले दियो । यसमा ५ लाख रुपैयाँ तातोपानी गाउँपालिकाले सहयोग गरेको छ । लिफ्ट सिँचाइका लागि प्रदेश सरकारसँग पहल भइरहेको छ । प्रमुख भण्डारीले भने, ‘साना किसानका लागि स्याउमा व्यवसायीकरण गर्ने हो भने यस्तै गाउँ जम्मा गरौँ । प्रत्येक व्यक्तिको बगैँचाको सरकार घेराबार गर्न सक्दैन । गाउँ नै घेरिन्छ भने सपोर्ट गर्छौँ भनेर सामूहिक बगैँचाको अवधारणा ल्याएका हौँ । यो सम्भव भयो ।’
लिफ्ट सिँचाइका लागि गाउँपालिकाले १ करोड १५ लाख रुपैयाँको स्टमेट बनाइसकेको छ । बगैँचा २ लाख वर्गमिटरमा फैलिएको छ । बगैँचामा रेड, रोयल र गोल्डेन जातको छ । १ हजार ९ सय २० मिटर घेराबार गरिएको छ । बगैँचाभित्र कोसेबाली र जडीबुटी खेती पनि गर्न सकिन्छ । प्रमुख भण्डारीले किसानको पक्षमा काम गर्न सदैव तयार रहेको बताउँदै किसानले निर्धक्क भएर इमानदारीपूर्ण तरिकाले काम गर्नुपर्ने बताए ।