- बागमतीको आर्थिक वृद्धि ४ दशमलव ७ प्रतिशत र सुदूरपश्चिमको ३ दशमलव ४ हुने अनुमान
- अघिल्लो आवमा कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धि ऋणात्मक
चालू आर्थिक वर्ष (आव) ०७७/७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुल गार्हस्थ्य उत्पादन) को सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशले ओगट्ने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । शुक्रबार सार्वजनिक गरेको प्रादेशिक अर्थतन्त्रबारे सार्वजनिक गरिएको अनुमानअनुसार बागमती प्रदेशको हिस्सा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनको ३७.७ प्रतिशत अर्थात् १६ खर्ब ७ अर्ब रुपैयाँ रहनेछ । विभागले नै १७ वैशाखमा गरेको प्रक्षेपणअनुसार राष्ट्रिय अर्थतन्त्र (उपभोक्ताको मूल्यमा) ४२ खर्ब ६६ खर्ब रुपैयाँ छ ।
त्यस्तै, राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा १ खर्ब ७२ अर्ब रहने विभागको अनुमान छ । यो राष्ट्रिय अर्थतन्त्रको ४ प्रतिशत हाराहारी हो । अघिल्लो आव ०७६/७७ को जस्तै चालू आव ०७७/७८ मा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
अघिल्लो वर्षको वृद्धिदर कर्णाली र बागमतीको क्रमशः सबैभन्दा बढी र न्यून
प्रदेशतर्फ चालू आवको आर्थिक वृद्धिदर बागमती प्रदेशको सबैभन्दा बढी ४ दशमलव ७ प्रतिशत हुने अनुमान गरिएको छ । यो प्रक्षेपित राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा बढी हो । चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा) ४ दशमलव ०१ प्रतिशत हुने अनुमान छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३ दशमलव ४ प्रतिशत रहने अनुमान गरिएको छ । तर, गत आवमा भने कर्णालीको वृद्धिदर सबैभन्दा बढी शून्य दशमलव ७ र सबैभन्दा कम दर बागमतीको माइनस ३ दशमलव ६ प्रतिशतले ऋणात्मक रहेको छ ।
बागमतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी
केन्द्रीय तथ्यांक विभागले औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलापहरूलाई हेर्दा पछिल्ला दुई आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको हिस्सा सबैभन्दा बढी देखिएको छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको छ । यसो हुनुमा बागमतीमा सहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार रहनु हो ।
त्यस्तै, राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा कृषिपछिको दोस्रो हिस्सामा कायम छ । बागमती प्रदेशमा घरजग्गासम्बन्धी व्यावसायिक कारोबार दोस्रो स्थानमा छ । त्यसबाहेक गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र सुरक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा छ । बागमती प्रदेशबाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवाको योगदान सबैभन्दा न्यून रहने देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागले चालू आव पनि आर्थिक विकासका दृष्टिकोणले अपेक्षित रूपमा उत्साहजनक नभएको उल्लेख गरेको छ । तर, कोभिड–१९ ले विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकारात्मक प्रभावलाई हेर्ने हो भने यो वर्ष राष्ट्रिय आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत हुनु सन्तोषजनक रहेको विभागका निर्देशक गणेशप्रसाद आचार्यले बताए । अघिल्लो आवमा आर्थिक वृद्धिदर २ दशमलव ०९ प्रतिशत नकारात्मक रहेको संशोधित अनुमान छ ।
प्रादेशिक अर्थतन्त्रका सूचक
प्रदेश १ अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ६ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : १ दशमलव २ प्रतिशत ऋणात्मक
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : ६ खर्ब ६४ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : ६ खर्ब १२ अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : १५ दशमलव ६ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : १५ दशमलव ६ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : ३५ दशमलव २ प्रतिशत
प्रदेश २ अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ५ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : १ दशमलव ६ प्रतिशत ऋणात्मक
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : ५ खर्ब ६२ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : ५ खर्ब १९ अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : १३ दशमलव २ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : १३ दशमलव ३ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : ३८ दशमलव ३ प्रतिशत
बागमती प्रदेशको अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ४ दशमलव ७ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : ३ दशमलव ६ प्रतिशत ऋणात्मक
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : १६ खर्ब ८ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : १४ खर्ब ५५ अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : ३७ दशमलव ७ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : ३७ दशमलव २ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान थोक तथा खुद्रा व्यापार क्षेत्र : २४ दशमलव ६ प्रतिशत
गण्डकी प्रदेशको अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ६ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : १ दशमलव ७ प्रतिशत ऋणात्मक
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : ३ खर्ब ७२ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : ३ खर्ब ४४ अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : ८ दशमलव ७ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : ८ दशमलव ८ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : २८ दशमलव २ प्रतिशत
लुम्बिनी प्रदेशको अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ९ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : १ दशमलव ८ प्रतिशत ऋणात्मक
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : ५ खर्ब ९६ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : ५ खर्ब ५० अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : १४ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : १४ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : ३१ दशमलव ९ प्रतिशत
कर्णाली प्रदेशको अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ६ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : शून्य दशमलव ७ प्रतिशत
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : १ खर्ब ७२ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : १ खर्ब ६१ अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : ४ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : ४ दशमलव १ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : ३३ प्रतिशत
सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र
- चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ४ प्रतिशत
- गत आवमा आर्थिक वृद्धिदर संशोधित : शून्य दशमलव ६ प्रतिशत
- चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : २ खर्ब ९४ अर्ब (उपभोक्ता मूल्यमा)
- गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : २ खर्ब ७४ अर्ब
- चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : ६ दशमलव ९ प्रतिशत
- गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : ७ प्रतिशत
- अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : ३५ दशमलव ५ प्रतिशत