महामारी नियन्त्रणमा कर्पोरेट सहयोग

शनिबार, १ जेठ, २०७८
डिजिटल संस्करण
महामारी नियन्त्रणमा कर्पोरेट सहयोग

होङ्शी शिवम् सिमेन्टमार्फत् प्राप्त भएका ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्यमन्त्रीलाई प्रदान गर्दै नेपाल उद्योग परिसंघका पदाधिकारी ।

विश्वका विकसित मुलुकदेखि विकासोन्मुख मुलुकसम्मका धनाढ्यहरूले आफूले कमाएको रकमको केही हिस्सा सामाजिक कल्याणमा खर्च गर्ने गर्छन् । विश्वकै धनाढ्य बिल गेट्स, वारेन बफेट, ज्याक मालगायतले सामाजिक काममा ठूलो रकम दान गर्दै आइरहेका छन् । नेपालमा पनि व्यवसायीहरूले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेका छन् । आकस्मिक रूपमा आइपर्ने संकटमा पनि निजी क्षेत्रले सक्दो सहयोग गरिरहेको देखिन्छ ।

बाढीपहिरो जाँदा होस् वा विनाशकारी भूकम्प वा कोभिड महामारी । मुलुकमा संकट आउनेबित्तिकै धेरैको ध्यान धनाढ्य वर्गतर्फ जान्छ । यस्तो वेलामा धनीमानीले दिल खोलेर सहयोग गरून् भन्ने अपेक्षा हुन्छ । सहयोगी हात अगाडि बढाउँदा सामाजिक सञ्जालमा धन्यवादको ओइरो लाग्छ । त्यससँगै प्रशस्त धन–सम्पत्ति भएर पनि संकटमा सहयोग गर्न मन खुम्च्याउनेसँग सामाजिक सञ्जालमा आक्रोश पनि व्यक्त हुन्छ । 

अहिले मुलुक कोभिड महामारीले आक्रान्त छ । अस्पतालमा अक्सिजन र बेडको अभाव हुँदा संक्रमितले अकालमै ज्यान गुमाइरहेका छन् । सरकार महामारी व्यवस्थापनभन्दा पनि कुर्सी जोगाउने खेलमा व्यस्त देखिन्छ । विपक्षी जनताको समस्याभन्दा आफूले कुर्सी नपाएकोमा आक्रोशित देखिन्छन् । यस्तो वेलामा जनताले धनाढ्य वर्गसँग सहयोगको अपेक्षा राख्नु स्वाभाविक पनि हो । कोभिडको दोस्रो लहरले मुलुक आक्रान्त भएपछि स्वदेशबाट मात्र होइन, विदेशमा रहेका नेपाली पनि सहयोग गर्न तम्सिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सहयोग रकम उठाएर अक्सिजनका सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर मेसिनलगायत पठाउन थालेको छ । कोभिडको दोस्रो लहरमा कतिपय व्यवसायीले सहयोग घोषणा गरिसकेका छन् भने कतिपय सहयोग गर्ने तरखरमा छन् । नेपालमा संकटमा सहयोग गर्नका लागि दर्जनौँ व्यावसायिक घरानाहरू सक्षम छन्् । कोभिड महामारीको पहिलो लहरमा सहयोग गरेका कतिपय व्यवसायीहरूले दोस्रो लहरमा अझै सहयोग घोषणा गरेका छैनन् ।

व्यवसायीका सहयोग
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाहले कोभिड–१९ संक्रमितको उपचारका लागि १ करोड ३५ लाख रुपैयाँबराबरको सहयोग गरेका छन् । उनले धुलिखेल अस्पतालको आइसियू र अक्सिजन प्रणाली सुधारका लागि आर्थिक सहयोग गरेका हुन् । मदिरा किङको परिचय बनाएका उनी आर्थिक वर्ष ०७६/७७ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने व्यवसायी हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाले कोभिड–१९ विरुद्ध जुध्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ सहयोग गरे । गोल्छा ग्रुपले सहयोग गरेको यो रकम अस्पतालले कोभिड संक्रमितको उपचारलाई प्रभावकारी बनाउन उपयोग गर्नेछ । उनले कोभिडको पहिलो लहरमा पनि विभिन्न संघ–संस्थासँग मिलेर सहयोगी हात अगाडि बढाएका थिए । अहिलेको विषम परिस्थितिमा कोभिड संक्रमितको उपचारका लागि आवश्यक उपकरणको व्यवस्था र सेवा सहज बनाउन आर्थिक सहयोग गरेको उनी बताउँछन् ।  

व्यावसायिक घराना सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले नवलपरासीको सुनवल नगरपालिकाले सञ्चालन गरिरहेको अस्पताललाई ७० लाख रुपैयाँबराबरको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका छन् । अस्पतालमा कोभिडका बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक उपकरण सहयोग गरेको उनी बताउँछन् । यस्तै, तिनाउ गाउँपालिकामा सञ्चालित कोभिड सेन्टरमा पनि अक्सिजन सिलिन्डरलगायत सामग्री खरिद गर्न ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

सौरभ समूहकै लक्ष्मी स्टिलले भैरहवाको भीम अस्पताललाई १ सय थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । साथै, करिब १० लाख रुपैयाँ खर्चिएर अस्पतालका सबै बेडमा अक्सिजन पुग्ने गरी पाइपलाइन पनि जडान गरिदिन लागेको छ । भीम अस्पतालमा यसअघि लीलाराम कुन्तीदेवी न्यौपाने ट्रस्टले ३ करोड २५ लाख रुपैयाँमा अत्याधुनिक इमर्जेन्सी कक्ष निर्माण गरिदिएको थियो । अहिले अस्पतालमा लिफ्ट पनि सञ्चालनमा ल्याइएको समूहका अध्यक्ष न्यौपाने बताउँछन् । 

पोखराका व्यवसायी आनन्दराज बतासको नेतृत्वमा पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ । उनका अनुसार अहिलेसम्म मनकारी दाताहरूबाट अक्सिजन प्लान्टका लागि ३ करोड उठिसकेको छ । यो अभियानमा केही बैंक तथा संघ–संस्थाहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । ‘हामीले ५ करोड रुपैयाँ उठ्ने अनुमान गरेका छौँ । यो रकमले ३ सय बेडमा चौबिसै घन्टा अक्सिजन उपलब्ध गराउने प्लान्ट जडान गर्न सकिन्छ,’ उनले भने, ‘पैसा उठ्दै गर्छ, सोमबार–मंगलबार एलसी खोल्दै छौँ, तीन महिनाभित्र अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसक्ने योजना छ ।’ अक्सिजन प्लान्टको फाउन्डेसन पोखरा महानगरपालिकाले बनाउनेछ । उनी थप्छन्, ‘यस्तो विषम परिस्थितिमा सरकारको मात्र मुख हेरेर बस्ने होइन, हामी सबैले सक्दो सहयोग गर्नुपर्छ ।’

पोखराबाटै उदाएको लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी लक्ष्मी हुन्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँबराबरको पिपिईलगायत स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ । लक्ष्मी हुन्डाईले गत वर्ष १ करोड रुपैयाँबराबरको सहयोग गरेको थियो । 

व्यावसायिक घराना शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, म्याट्रेस, ५० थान पिपिई सेट र तीन हजार थान के–९० मास्क उपलब्ध गराएको छ । यी दुई संस्थाले वीर अस्पताललाई डेढ सय बेड, पिपिई, मास्कलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । दुवै व्यावसायिक संस्थाले सुदूरपश्चिममा कोभिड बिरामीको उपचारका लागि अक्सिजन र बेड दिने भएका छन् । अहिले सुदूरपश्चिमलाई ५० हजार थान एन–९५ मास्क र दुई सय पिपिई सेट उपलब्ध गराइसकेका उनीहरूले चीनबाट आइपुग्नेबित्तिकै २ सय ५० अक्सिजन सिलिन्डर पनि सहयोग गर्ने तथा २ सय बेड, तन्ना र सिरानी पनि सहयोग गर्न ठिक्क पारेको शंकर समूहले घोषणा गरेको छ ।  

सूर्य नेपाल प्रालिले शुक्रबार काठमाडौंका ३ सरकारी अस्पताललाई ६५ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कम्पनीले महाराजगन्जको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र अक्सिमिटर प्रदान गरेको हो । वर्षको सुरुवातमै कम्पनीले सातैवटा प्रदेशमा स्थापना गरिएका कोभिड–१९ उपचार तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँका दरले ७ करोड रुपैयाँ सहयोग गरेको थियो । 

बैंक पनि अघि आउँदै
सिद्धार्थ बैंकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सातवटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरू रहेका १७ वटा गाउँपालिकाका कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो । नेपाल बंगलादेश बैंकले आफ्नो विदेशी संस्थापक आइएफआइसी बैंकसँग मिलेर सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ । बंगलादेश सरकारले प्रदान गरेको ५ हजार भाइलमा बैंकको सक्रियतामा संस्थापक बैंकले थप ५ हजार भायल औषधि नेपाललाई सहयोग गरेको हो ।

व्यावसायिक संगठन पनि सक्रिय
कोभिड महामारीसँग जुध्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले पनि होस्टेमा हैँसे गर्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै सचिवालयमा कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको समन्वयमा आममानिसको जीवनरक्षामा सहयोग पु¥याउन सहायता केन्द्र स्थापना गरेको बताइएको छ । सहायता केन्द्रले अक्सिजन सिलिन्डर व्यवस्थापन, अस्पताल तथा आइसोलेसनको सहजीकरण, अस्पताल व्यवस्थापन, एम्बुलेन्स, औषधि तथा मेडिकल उपकरण, होटेल तथा हवाई यातायातलगायत सेवा दिनेछ । 

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेकपटक सहयोग पुर्‍याउँदै आइरहेको छ । महासंघले यसअघि हेल्लो डाक्टर अभियान सुरु गरेर कोभिड संक्रमित बिरामीलाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने काम गरिरहेको छ । 

महासंघले भगवान् महावीर जैन निकेतन र आरम्भ फाउन्डेसनसँग सहकारी गरी कोभिड संक्रमितहरूका लागि कमलपोखरीस्थित जैन निकेतनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । यो आइसोलेसन सेन्टरमा सुरुमा २६ बेड रहेका छन् । आवश्यकताअनुसार थप बेडहरूको व्यवस्थापन गर्दै जाने महासंघले जनाएको छ । आइसोलेसनमा दुईजना स्वास्थ्यकर्मी र एकजना चिकित्सकको व्यवस्था गरी संक्रमितहरूको २४सै घन्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रबन्ध गर्नेछ । महासंघका अध्यक्ष गोल्छा भन्छन्, ‘कतिपय संक्रमित उचित खानपिन र क्वारेन्टिनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।’ महासंघका कार्यकारी सदस्य रञ्जितराज आचार्य विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरेर अन्य ठाउँमा पनि आइसोलेसन सेन्टर विस्तार गर्दै जाने योजना रहेको बताउँछन् । 

महासंघले काठमाडौं महानगरपालिका वडा नम्बर १७ सँगको सहकार्यमा क्षेत्रपाटीको गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने भएको छ । सुरुमा ५० बेड रहने आइसोलेसनमा आवश्यकताका आधारमा १ सय बेडसम्म पुर्‍याइने भएको छ । उक्त केन्द्रमा कोभिड संक्रमित भई घर–कोठामा बसेर रेखदेख गर्न सम्भव नभएका बिरामीलाई उचित खाना, औषधि र वासस्थानसहित स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसन सेवा प्रदान गर्ने योजना महासंघले बनाएको छ । नेपाल उद्योग परिसंघले होङ्सी शिवम् सिमेन्टमार्फत ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरेको छ । परिसंघले २ करोड रुपैयाँबराबरको अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको हो ।

नेपाल चेम्बर अफ कमर्सले कोभिडबाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई हेरेर एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुनेछ । कोभिडका गम्भीर बिरामीहरूलाई अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका वेलामा चेम्बरले क्षेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल एपिएफ अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नाडाले स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार थान उपलब्ध गराएको हो । 

जोन्टा क्लब अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रसूतिगृह) लाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । क्लबकी अध्यक्ष सीमा गोल्छाले भनिन्, ‘यो सहयोगले महिला र बालबच्चाको उपचारमा केही राहत मिल्ने विश्वास छ ।’ एनआरएन अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको छ ।

महामारीमा देशको मद्दतमा प्रवासी नेपाली : २ करोडबराबरको स्वास्थ्य सामग्री सहयोग गर्दै गैरआवासीय नेपालीहरू 

नेपाल कोरोनाको दोस्रो लहरले आक्रान्त बनेको समयमा रोजगारीको सिलसिलामा खाडी मुलुकलगायत विश्वका विभिन्न मुलुकमा रहेका प्रवासीहरू सहयोगमा जुटेका छन् । गैरआवासीय संघको नेतृत्वमा मध्यपूर्वमा रहेको नेपाली श्रमिकको सहयोगमा ओमानबाट ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी भएको छ । 

त्यसका साथै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरू सहयोगका लागि जुटेका छन् । विभिन्न मुलुकका गैरआवासीय नेपालीहरूले रकम संकलन गरी २ करोडभन्दा बढीको स्वास्थ्य सामग्री नेपाल पठाउँदै छन् । 

संघले चीनबाट एक सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउँदै छ । अमेरिकाका गैरआवासीय नेपालीहरूले जनकपुरमा आइसोलेसन सेन्टर बनाउने तथा बेलायतका नेपालीहरूले खोप पठाउन बेलायती सरकारसँग पहल गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ अफ्रिकाद्वारा १० जिल्लामा अक्सिजन सहयोग गर्ने संघका अन्तर्राष्ट्रिय प्रवक्ता डिबी क्षत्रीले बताए ।

आगामी शनिबार गैरआवासीय नेपाली संघले ओमानबाट ६ सय थान सिलिन्डर नेपाल पठाउने भएको छ । संघले ओमानस्थित मेडिकल सप्लायर्स कम्पनी अल होस्नी ग्रुपसँग खरिद गरी सिलिन्डर पठाउने तयारी गरेको संघका अन्तर्राष्ट्रिय प्रवक्ता क्षत्रीले बताए । उनका अनुसार सिलिन्डर ४० लिटर क्षमताका हुनेछन् । करिब ७५ लाख रुपैयाँबराबरको सिलिन्डर संघले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सिलिन्डर खरिदका लागि हालसम्म ४० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको ओमानमा रहेका संघ प्रवक्ता क्षत्रीले नयाँ पत्रिकालाई बताए । सिलिन्डर खरिद गर्नका लागि मध्यपूर्वमा रहेका नेपाली श्रमिकले आर्थिक सहयोग जुटाएका हुन् । 

सिलिन्डर नेपाल पठाउन ओमानस्थित नेपाली दूतावासले पहल गरेको छ । दूतावासको पहलमा नेपाल सरकारले सिलिन्डर नेपाल ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान चार्टर गरी पठाउने भएको छ । संघले चीनस्थित सेन्जेन ट्याब्लेट इक्लेक्ट्रोनिक्स कम्पनीबाट १० लिटर क्षमताका १ सय थान अक्सिजन कन्सन्ट्रेटर किनेर पठाउने तयारी भएको संघका प्रवक्ता क्षत्रीले बताए । प्रतिथान करिब ७६ हजार रुपैयाँ पर्ने अक्सिजन कन्सन्ट्रेटर संघले ७६ लाख ७० हजार रुपैयाँमा खरिद गरेको हो । अक्सिजन कन्सन्ट्रेटरहरू आगामी पाँच दिनभित्रमा नेपाल आइपुग्ने प्रवक्ता क्षत्रीले बताए । 

त्यस्तै, गैरआवासीय नेपाली संघ अफ्रिकाले नेपालका विभिन्न १० जिल्लामा सिलिन्डरमार्फत अक्सिजन वितरणमा सहयोग गर्ने भएकोे छ । संघले चितवन, नवलपरासी, बारा, पर्सा, पूर्व–नवलपरासी, पश्चिम–नवलपरासी, पाल्पा, अर्घाखाँची, बुटवल, टीकापुरमा अक्सिजन खरिद गरी वितरण गर्ने भएको हो । संघले तत्काल १२ लाख रुपैयाँबराबरको अक्सिजन कन्सन्ट्रेटर वितरण गर्न लागेको प्रवक्ता क्षत्रीले बताए । 

See More On

सुझावित समाचार