लकडाउनका कारण धरानमा गोलभेँडाको मूल्यमा अत्यधिक कमी आएको छ । धरानको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार हाल औसत १२ रुपैयाँ प्रतिकेजी गोलभेँडा बिक्री भइरहेको छ । यस आर्थिक वर्षको चैत अन्तिमसम्ममा ९ हजार १ सय ६३ मेट्रिकटन गोलभेँडाको कारोबार भएको उनले जानकारी दिए । यो वर्ष बजारले १५ करोडबराबरको गोलभेँडा कारोबार गरेको छ ।
लकडाउनमा होटेल, रेस्टुरेन्ट बन्द भएका कारण गोलभेँडाको खपत घटेको उनको भनाइ छ । ‘लकडाउनअघि दैनिक ६० टनभन्दा बढी कारोबार हुने गरेकोमा हाल लकडाउनका कारण दैनिक २५ टन मात्र कारोबार भइरहेको छ,’ व्यवस्थापक भट्टराईले भने, ‘बिक्री घट्दा कृषकका बारीमा गोलभेँडा कुहिएको छ ।’ आर्थिक वर्ष ०७६/७७ मा गोलभेँडाको भाउ औसत प्रतिकिलो ३० रुपैयाँ थियो । सो वर्ष बजारबाट ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
यस क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन गर्ने जिल्ला धनकुटा हो । विशेष गरेर धनकुटाको साबिक बेलहारा गाविसका अधिकांश कृषक गोलभेँडामा आश्रित छन् । मोरङको कटहरे र झापाबाट पनि केही गोलभेँडा धरान कृषिउपज बजारमा आउने गरेको छ ।
लकडाउनले बेच्ने वेला भएको टमाएर सबै नष्ट भएको पात्लेखोला सहकारी धनकुटाका अध्यक्ष अमर दाहालले बताए । धरान कृषिउपज बजारस्थलका थोक व्यापारी अजय गुप्ताले तराई क्षेत्रमा पनि यही सिजन गोलभेँडा उत्पादन भएकाले माग कम भएको, तर केही दिनमा पहाडी क्षेत्रको गोलभेँडाले बजार पाउने बताए ।