काठमाडौं उपत्यकालगायत वीरगन्ज, बुटवल–भैरहवा, नेपालगन्ज, चितवनलगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा लकडाउन घोषणा भएपछि अत्यावश्यकबाहेकका उद्योगहरू बन्द भएका छन्, केही ठाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै उद्योग सुचारु, कच्चा पदार्थ र कामदारको समस्या
कोभिड महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत थुप्रै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीको जोखिम, संक्रमण र रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण औद्योगिक क्षेत्र प्रभावित हुन थालेका छन् । कतिपय उद्योग बन्द भएका छन् भने कतिपय आंशिक क्षमतामा मात्रै चलेका छन् ।
उपत्यकाका औद्योगिक क्षेत्रमा निषेधाज्ञाको आंशिक प्रभाव
काठमाडौं उपत्यकामा रहेका तीनवटै औद्योगिक क्षेत्रमा निषेधाज्ञाको आंशिक असर देखिएको छ । बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रका औसत ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए । ‘कच्चा पदार्थ आयात र आपूर्ति चक्रमा ठूलो समस्या आइनसकेका कारण अधिकांश उद्योगहरू अहिलेसम्म सञ्चालनमै छन्,’ उनले भने, ‘यद्यपि, निषेधाज्ञाका कारण मजदुर आवागमनमा समस्या हुनेलगायत विविध कारण केही साना, मझौला उद्योगहरू चलेका छैनन्, कम क्षमतामा चलेका छन् ।’
बालाजु औद्योगिक क्षेत्रमा करिब १ सय ३० वटा उद्योग रहेका छन् । ती उद्योगमा ५ हजारजनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । बालाजु औद्योगिक क्षेत्रका ७० प्रतिशत उद्योग सञ्चालनमै रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । पाटन औद्योगिक क्षेत्रमा १ सय १३ वटा उद्योग रहेका छन् । जसमा १ हजार ६ सयजना कार्यरत रहेका छन् । पाटनका ६० प्रतिशत उद्योग सञ्चालनमै रहेको बस्नेतले जानकारी दिए । भक्तपुर औद्योगिक क्षेत्रमा २८ वटा उद्योग रहेका छन् । तर, अधिकांश उद्योग बन्द अवस्थामा रहेका छन् । यहाँका २० प्रतिशतको हाराहारीका उद्योग मात्रै सञ्चालनमा छन् ।
औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहरि पाठकले उपत्यकाका ५० प्रतिशत उद्योग निषेधाज्ञाबाट प्रभावित भएको बताए । खासगरी उद्योगका श्रमिक र कर्मचारी आउजाउमा समस्या हुँदा थुप्रै उद्योग चल्न नसकेको उनले बताए । ‘निषेधाज्ञाका कारण श्रमिक र कर्मचारी उद्योगसम्म आउन सकेका छैनन्, आवागमनमा समस्या छ,’ उनले भने, ‘हाम्रो जानकारीमा आएअनुसार ५० प्रतिशत उद्योग प्रभािवत भएका छन् ।’
सुनसरी–मोरङका उद्योगहरूको उत्पादन ५० प्रतिशत कटौती
प्रदेश १ का उद्योगहरूको उत्पादन ५० प्रतिशतसम्म कटौती भएको छ । दोस्रो र तेस्रो मुलुकबाट कच्चा पदार्थ र पाटपुर्जा आयातमा उद्योगहरूले कष्ट झेलिरहेका छन् । प्रदेश १ का समग्र उद्योगहरूको प्रतिनिधित्व गर्ने उद्योग संगठन विराटनगरका अनुसार एक महिनादेखि भारतमा सुरु भएको दोस्रो चरणको कोरोना सुनामीले गर्दा कच्चा पदार्थ र पाटपुर्जा आयातमा समस्या हुँदै आएको छ ।
१६ वैशाखदेखि नेपालको काठमाडौं उपत्यकामा लकडाउन सुरु भएपछि धेरै उद्योगहरूले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरिसकेका छन् । उद्योग संगठन विराटनगरका अध्यक्ष सुयस प्याकुरेलले भने, ‘काठमाडाैंसँगै वीरगन्ज, नेपालगन्ज, बुटबल, धनगढी, महेन्द्रनगरलगायतका सहरमा लकडाउन लागेकाले उद्योगको उत्पादन २० देखि ३० प्रतिशतमा झर्न बाध्य हुनेछ ।’

चितवनस्थित बोटलर्स नेपाल (तराई) लिमिटेडमा सुरक्षासहित काम गर्दै कर्मचारी
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा पनि दोस्रो चरणमा सुरु हुन थालेको कोरोना लकडाउनले गर्दा उद्योग क्षेत्रमा समस्या सुरु भइसकेको बताउँछन् । एक हप्तापछि लकडाउन जारी रहेमा खाद्यान्न, अक्सिजन र ग्यास, औषधिलगायत अत्यावश्यकबाहेक सबै उद्योगहरू स्वतः बन्द हुने उनी बताउँछन् । उद्योगीहरूले करोनाकालमा उद्योगलाई बचाइराख्न खोप लगाउने कार्यलाई तीव्रता दिनुपर्नेमा विशेष जोड दिएका छन् ।
गत वर्ष लकडाउन सुरु भएपछि धेरै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग र उत्पादनले प्राथमिकता पाएका थिए । यसैले यो वर्ष पनि सीमा क्षेत्रलाई पूर्ण रूपमा लकडाउन गरेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग उद्योगीहरूको छ । मोरङ व्यापार संघ अध्यक्ष प्रकाश मुन्दडा भन्छन्, ‘बोर्डरमा हामीले सम्झौता गर्नुहुँदैन, त्यसो भएमा स्वदेशको उत्पादनले बजार पाउन खासै समस्या हुँदैन ।’
स्वास्थ्यसँगै व्यवसाय धराशायी हुने कञ्चनपुरका व्यवसायीको चिन्ता
कोरोना महामारी रोकथामका लागि बिहीबारदेखि कञ्चनपुरमा लकडाउन गरिएको छ । लकडाउनका कारण जिल्लाका उद्योग, व्यावसायिक प्रतिष्ठान, कलकारखाना व्यवसाय बन्द भएका छन । महेन्द्रनगरका व्यवसायी दानसिंह ठकुराठीले लकडाउनले व्यवसायीलाई महासंकटमा पारेको बताए । ‘कोरोना रोकथामका लागि लकडाउन मात्रै पूर्ण विकल्प होइन,’ उनले भने । लकडाउनले उद्योगी–व्यवसायीलाई आर्थिक व्ययभार बढाएको बताउँदै उनले बैंकको ब्याज तिर्न मुस्किल पर्ने बताए । बेलडाँडीका फर्निचर उद्योगी प्रकाश मालीले लकडाउनसँगै व्यवसाय चौपट भएको बताए । झलारीका उद्योगी धीरेन्द्र साउदले लकडाउन इमानदार व्यवसायीका लागि दुःखद र तस्करका लागि खुसीका दिन आएको बताए । ‘हामी लकडाउन छ भनेर त्यसको पालना गर्छौँ,’ उनले भने, ‘तस्कर समूह लकडाउनको मौका छोपी भारतबाट धमाधम सामान ल्याएर बेच्छन् ।’
कञ्चनपुर उद्योग वाणिज्य संघका अनुुसार लकडाउनका कारण प्रत्यक्ष रूपमा जिल्लाभरिका १० हजार व्यवसायी मारमा परेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पीताम्बर जोशीले भने, ‘एकातिर कोरोना त्रास बढेको छ, व्यवसायीले गत वर्षकै घाटा व्यहोर्न सकेका छैनन्,’ उनले भने, ‘हामी जताबाट पनि संकटमा छौँ ।’
चितवनका उद्योग कलकारखाना निषेधाज्ञामा पनि सञ्चालन
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गरे पनि चितवनका उद्योग तथा कलकारखाना जनस्वास्थ्यका मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुमति दिएको छ । सोअनुसार नै जिल्लाका सबै उद्योग कलकारखानालाई सञ्चालनमा ल्याउने गृहकार्य भएको उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले बताए । चितवनमा १६ वैशाखको राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा छ । जिल्लामा साना–ठूला गरेर १२ सय उद्योग कलकारखाना छन् । पौडेलले भने, ‘कामदारलाई उद्योग परिसरभित्रै आवासको व्यवस्था गरी वा उद्योगले नै ल्याउने–लाने व्यवस्था गरेर जनस्वास्थ्यका मापदण्ड पूरा गरी उद्योग सञ्चालन गर्छौँ ।’
जिल्लाका उद्योगहरूले पनि त्यहीअनुसार तयारी सुरु गरेको देखिन्छ । भरतपुरको पशुपति प्रिन्टिङ प्रेसका सञ्चालक गोपाल गैरे नियमित रूपमा उद्योग सञ्चालन गर्ने गरी तयारी गरेको बताउँछन् । उद्योगभित्र पनि मापदण्ड पूरा गरेका छौँ, अधिकांश कर्मचारीलाई आवास सुविधामा राखेर काम गर्ने तयारी गरेको उनले सुनाए । भरतपुरको बोटलर्स नेपाल (तराई) लिमिटेडमा विगतदेखि नै स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कारखाना सञ्चालन गर्दै आएको छ ।
रुपन्देहीका अधिकांश व्यवसाय बन्द
बिहीबारबाट निषेधाज्ञा लागेसँगै रुपन्देहीका अधिकांश व्यवसाय बन्द भएका छन् । निषेधाज्ञामा बजार क्षेत्रका सबैजसो पसलहरू बन्द रहे । यहाँ औषधि, दूध, तरकारीसँग सम्बन्धित व्यवसाय सञ्चालनमा रहे पनि अन्य व्यवसाय बन्द हुन थालेका छन् । बुटवल औद्योगिक क्षेत्रका उद्योगहरू पनि सञ्चालन गर्ने अवस्था नरहेको उद्योगीहरूले बताएका छन् । कामदारलाई उद्योगमै आवासीय रूपमा राखेर काममा लगाउने अवस्था नरहेकाले बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उद्योगी गणेश अधिकारीले बताए । रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘अर्कोतर्फ कच्चा पदार्थ आयात नहुँदा र उत्पादन गरिएको वस्तु बजार लैजान सक्ने अवस्था नहुने हुँदा उद्योग सञ्चालनमा कठिन देखिएको छ ।’ त्यस्तै, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले यता निषेधाज्ञा भएको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्नेमा जोड दिन्छन् ।
बारा–पर्सामा अत्यावश्यकबाहेकका उद्योग बन्द
पर्सामा प्रशासनले एक साताको निषेधाज्ञा अवधिभर औषधि उपचार एवं अति आवश्यक काममा बाहेक घरबाट बाहिर निस्कन र हिँड्डुल गर्न नपाइने भनेको छ । मजदुर, कर्मचारी, सवारीसाधन उद्योगमा जान नपाएपछि उद्योग पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । बारा र पर्साका औद्योगिक करिडोरका अधिकांश मजदुर, कर्मचारी वीरगन्ज बस्ने भएकाले उद्योग र कलकारखानामा जान नपाएपछि उद्योग सञ्चालन हुन नसकेको उद्योगीहरूले बताएका छन् । उनीहरूका अनुसार पर्सामा निषेधाज्ञाको पहिलो दिन भएकाले अधिकांश उद्योग सञ्चालन हुन पाएका छैनन् ।
करिडोरमा कार्यरत रहेका पर्साका करिब ३ हजारभन्दा बढी मजदुर, कर्मचारी उद्योगमा जान नसकेको उद्योगी अनिल पटवारीले बताए । बारा र पर्साका औद्योगिक क्षेत्रमा रहेका ठूला, मझौला र साना उद्योग गरी १ हजारभन्दा बढी उद्योगमध्ये केही मात्र उद्योग आंशिक रूपमा सञ्चालनमा रहेको उनले बताए ।
उद्योगीहरूका अनुसार अति आवश्यक उद्योग मात्र सञ्चालनमा रहेका छन् । कच्चा पदार्थ तथा मजदुरको समस्या भए पनि दुग्ध पदार्थ, खानेपानी, बिस्कुट तथा औषधिका उद्योग भने सञ्चालनमा छन् । महामारीबाट जोगिँदै उद्योग र कलकारखाना सञ्चालनमा ल्याउनुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।
सञ्चालनमा रहेका उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारीको शरीरको तापक्रम जाँच गरेपछि मात्र प्रवेश दिने गरिएको उद्योगीहरूले बताएका छन् । उद्योगमा कार्यरत रहेका मजदुर र कर्मचारीहरू अनिवार्य रूपमा मास्कको प्रयोग गर्दै आएका छन् । संक्रमणबाट जोगिनका लागि भएको निषेधाज्ञामा सञ्चालनमा रहेका उद्योग, कलकारखानामा स्वास्थ्य मापदण्ड पूरा भएको उद्योग वाणिज्य संघका अर्का उपाध्यक्ष हरि गौतमले बताए । ‘संक्रमणबाट जोगिन केही समयसम्म यो स्वास्थ्य सावधानी अपनाउने भएकाले प्रशासनलाई पासको व्यवस्था मिलाएर उद्योगीलाई सहज बनाउन आग्रह गर्छु,’ उनले भने । कोरोनाका कारण कतिपय मजदुर आ–आफ्नो गृहजिल्ला गएका छन् भने कतिले घर जान नसकेर आफ्नो डेरामा बसेको जानकारी पनि उनले दिए ।
विराटनगरबाट गणेश लम्साल, कञ्चनपुरबाट मोहन विष्ट, भरतपुरबाट विवेक पोख्रेल बुटवलबाट विष्णु घिमिरे, वीरगञ्जबाट तिवारी यादव र काठमाडौंमा कृष्ण रिजाल