४८ हजारभन्दा बढीले पाए डेढ खर्ब पुनर्कर्जा

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिडसम्बन्धी नीतिगत सहुलियतलाई निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण गत आर्थिक वर्षको अन्त्यदेखि दिइएको नीतिगत सहुलियतहरूलाई निरन्तरता दिने जानकारी दिएका छन् । राष्ट्र बैंकले भर्चुअल रूपमा आयोजना गरेको बैंकको ६६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । 

गभर्नर अधिकारीले भने, ‘कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैरपरम्परागत, लचिलो एवं सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिनेछ ।’ कोभिड–१९ को संक्रमणबीच राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको अधिकारीले बताएका छन् । 

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेसा, व्यवसायको पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको थियो । पुनर्कर्जाको ७० प्रतिशत रकम साना ऋणीहरूलाई प्रदान गर्ने र दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरूलाई विशेष पुनर्कर्जा उपलब्ध हुने व्यवस्थासमेत गरिएको छ । हालसम्ममा कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको छ ।

एकमुष्ट प्रदान गरिने पुनर्कर्जा क, ख र ग वर्गका संस्थालाई दुईपटक गरी कुल ९२ अर्ब ३८ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको हो । एकमुष्टतर्फ प्रवाह भएको पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका ३५ हजार ५ सय ५४, लघु, घरेलु तथा साना उद्यमलाई गएको छ ।  त्यस्तै, २ हजार ३३ वटा विशेष पुनर्कर्जा र १० हजार ९ सयभन्दा बढीले र साधारण पुनर्कर्जा पाएका छन् । 

यसरी प्रवाह भएको पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्थाअनुसार कुल ५ सय १९ भन्दा बढी स्थानीय तहका बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको छ । ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जा २८ वटा लघुवित्त वित्तीय संस्थामार्फत लगानी भएको छ । कुल १० अर्ब २३ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत भएको हो । ग्राहक ऋणीअनुसार यस बैंकबाट प्रदान गरिने २० करोड रुपैयाँसम्मको पुनर्कर्जा भने फागुन मसान्तसम्म २ सय ८१ ऋणीले प्राप्त गर्ने गरी ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको पुनर्कर्जा स्वीकृत भएको छ ।  

पुनर्कर्जाको तुलनामा व्यावसायिक निरन्तरता कर्जामा भने व्यवसायीहरूको चासो कम देखिएको छ । फागुन मसान्तसम्म व्यावसायिक निरन्तरता कर्जाबमोजिम ५ वटा वाणिज्य बैंकमार्फत २० ऋणीलाई २० करोड ८७ लाख रुपैयाँ कर्जा प्रदान भएको छ । 

सुझावित समाचार