चीनले समझदारी कार्यान्वयन नगर्दा तातोपानी नाका पूर्ण सञ्चालनमा आएन

आइतबार, १२ बैशाख, २०७८
डिजिटल संस्करण
चीनले समझदारी कार्यान्वयन नगर्दा तातोपानी नाका पूर्ण सञ्चालनमा आएन

चीनको न्यालममा अड्किएका ट्रकहरू

नेपाल–चीनका सरकारी अधिकारी र व्यापारिक संस्थाहरूबीच भएको समझदारी कार्यान्वयन नहुँदा तातोपानी नाका पूर्ण सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनका विभिन्न व्यापारिक संघसंस्था र दुवैतर्फका सरकारी अधिकारीले दैनिक २० टेलर सामग्री लार्चा भन्सार पठाउने समझदारी गरेका थिए । तर, दुई महिना बितिसक्दा पनि सहमति कार्यान्वयन भएको छैन । चिनियाँ २० टेलरबराबर नेपाली ४० कन्टेनर सामान हुन्छ । भूकम्पअघि तातोपानीबाट दैनिक २ सय कन्टेनरसम्म सामान नेपाल भित्रिन्थे । 

भूकम्पपछि १५ जेठ ०७६ बाट सञ्चालनमा आएको नाकाको व्यापारिक गतिविधिमा प्रगति नहुँदा अहिले सीमाका बजारहरू सुनसान भएका छन् । तिब्बतको न्यालम काउन्टीअन्तर्गत रहेको जाङ्मुपोर्ट (खासा) बाट तातोपानीका लागि सामग्री निर्यातको अन्तिम निर्देशन र सूचना जारी हुने गर्छ । तर, जाङ्मु प्रशासनको एकोहोरो पेल्ने प्रवृत्तिका कारण कतिपय नेपाली व्यापारीले उत्तरी नाकाको व्यापार छोडेर विस्थापित हुनुपरेको छ । भूकम्पपछि उदाएको सिल्क ट्रान्सपोर्ट कम्पनीले हरेक समस्यासँग जुधेर चिनियाँ सामग्री ढुवानी गरिरहेको छ । सिल्क ट्रान्सपोर्टबाहेक अन्य कम्पनी हाललाई विस्थापित भएका छन् ।

कोभिडको समस्या देखाएर चिनियाँ पक्षले नेपाली व्यापारीको सामान न्यालममा रोकिदिने गर्छ । चिनियाँ पक्षको एकतर्फी निर्णयले नेपाली व्यवसायीको लगानी डुब्ने अवस्था आएको एक व्यवसायीले बताए । गर्मी र बर्सातको समयलाई मध्यनजर गरेर चीनका विभिन्न सहरबाट खरिद गरेका सामान न्यालममा रोकिएको दुई महिना बितेको छ । ‘नाका सञ्चालनमा आएपछि उत्साहित भएर चीनबाट सामान खरिद गरेका नेपाली व्यापारी निराश छन्,’ सिल्क ग्रुपका अध्यक्षसमेत रहेका व्यापारी रमेश शेर्पाले भने, ‘अहिले न्यालममा पाँच सय कन्टेनर सामान अलपत्र अवस्थामा रोकिएको छ ।’ 

हाल दैनिक ९ टेलर सामान आयात भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । दैनिक २० देखि ३० टेलर सामान आयात नहुने हो भने हरेक सामग्रीको अवधि गुज्रने र व्यापारीले घाटा व्यहोर्नुबाहेक अरू विकल्प नभएको शेर्पाले सुनाए ।  

तातोपानी नाका पूर्ण सञ्चालनमा नआउँदा सीमावासीले समस्या भोग्नुपरेको यस क्षेत्रका सांसदसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी छ । तर, उनको पहलकदमीले सार्थकता पाएको छैन । ‘नाकाबारे बारम्बार चिनियाँ राजदूत होउ यान्छी र सरकारका विभिन्न तहका अधिकारीसँग कुराकानी गरिरहेको छु,’ सापकोटाले भने, ‘तर, पूर्ण सञ्चालनमा आउन केही समय लाग्छ भन्ने चिनियाँ पक्षको कुरा छ ।’

लगातारको प्राकृतिक विपत्तिले कोदारी राजमार्ग छिन्नभिन्न भएको र त्यसको मर्मत–सम्भार राम्ररी नहुँदा नाका सञ्चालनमा कठिनाइ परेको सभामुखको भनाइ छ । अरनिको राजमार्ग र बाह्रबिसेदेखि लिपिङसम्म कोदारी राजमार्गको स्तरोन्नतिका लागि चिनियाँ अधिकारीसँग बारम्बार कुरा भएको उनले जानकारी दिए । बर्खा नजिकिँदै गएकाले सम्भावित प्राकृतिक विपत्ति रोक्न र नाका सञ्चालनलाई निरन्तरता दिन सरोकारवाला निकायसँग छलफल अघि बढाइसकेको सापकोटा बताउँछन् । 

सुझावित समाचार