बिमा समितिले गर्‍यो एकल भुक्तानी बिमालेखमा कडाइ

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

बिमा समितिले एकल भुक्तानी बिमालेखमा कडाइ गरेको छ । केही दिनअघि सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरूलाई पत्राचार गर्दै समितिले कम्तीमा तीन वर्षसम्म यस्तो बिमालेख समर्पण नगर्न निर्देशन दिएको हो । सो अवधिसम्म यस्तो बिमालेखको धितोमा कर्जा जारी गर्न नपाइने व्यवस्थासमेत समितिले गरेको छ ।

गत १७ असारबाट जारी भएको यस्तो बिमालेखमा नयाँ व्यवस्था लागू हुनेछ । ‘एकल बिमामा एकैपटकमा सबै रकम भुक्तानी दिन सकिने व्यवस्था पनि छ,’ बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘यसमा बिमांक रकमको सीमा पनि लगाउनुपर्ने पनि देखिएको छ ।’ समितिका अनुसार विदेशबाट फर्किएकाहरूमा यो बिमालेख बढी लोकप्रिय छ । करिब १० लाखदेखि १ करोडसम्म बिमांक रकम रहने गरी यस्तो बिमालेख जारी गरिएको हुन्छ ।  

एकल बिमालेखमा सम्पत्ति शुद्धीकरणलगायतका विषय पनि जोडिएकाले समितिले यसमा सूक्ष्म निगरानी गरिरहेको सिलवालले बताए । कम्पनीहरूले व्यवसाय उच्चदरमा वृद्धि भएको देखाउनसमेत अहिले यस्तो बिमालेख सहयोगी हुने गरेको छ ।

अभिकर्ताहरूले एकल भुक्तानी बिमा गराउने र एक वर्षमै समर्पण गर्न लगाउने वा बिमालेखकै धितोमा कर्जा दिने प्रवृत्ति मौलाएपछि यो प्रवृत्तिलाई रोक्न खोजिएको हो । सामान्यतया एकल भुक्तानी बिमालेखमा बिमा अभिकर्ताहरूले कमिसन नपाउने भए पनि यसलाई समेत प्रथम बिमाशुल्क मानेर ६ प्रतिशत कमिसन र १८ प्रतिशतसम्म इन्सेन्टिभ दिने गरिएको छ । 

सुझावित समाचार