काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको निर्माण हुने दुई देशबीच डिपिआर समझदारीको तयारी

भारत र चीन जोड्ने रेलमार्ग फरक गेजमा, चीन जोड्ने रेलमार्ग स्ट्यान्डर्ड गेज र भारत जोड्ने रेलमार्ग ब्रोडगेजमा निर्माण हुने अवस्था

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण
काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको निर्माण हुने दुई देशबीच डिपिआर समझदारीको तयारी

असोज ०७७ मा भारतको जयनगरबाट जनकपुर आएको रेल । जयनगर–जनकपुर ब्रोडगेज रेलमार्ग पनि भारतको सहयोगमा निर्माण भएको हो । फाइल तस्बिर

प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको हुने भएको छ । रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ । विस्तृत अध्ययनको काम अघि बढाउन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्न दुवै देशका अधिकारीबीच औपचारिक मिति तय गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईले जानकारी दिए । समझदारीपत्रमा हस्ताक्षरपछि भारतीय पक्षले डिपिआर अध्ययनको थालनी गर्नेछ ।

हालसम्म समझदारी नहुँदा अध्ययन थाल्न कठिनाइ भएको भन्दै भारतीय पक्षले चाँडो वातावरण तयार गर्न नेपाल सरकारलाई आग्रह गर्दै आइरहेको छ । यसअघि २५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले समझदारीपत्रलाई स्वीकृत गरी हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरिसकेको छ । यस निर्णयसँगै दुई देशका अधिकारीबीच हस्ताक्षर गर्ने बाटो खुलेको हो ।

भारतीय पक्षले आफ्नो सबै रेल प्रणाली ब्रोडगेजको भएकाले काठमाडाैं जोड्ने अन्तरदेशीय रेलमार्गलाई पनि सोही प्रणालीको निर्माण गर्ने अडान राखेको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली उच्च अधिकारीसमक्ष ब्रोडगेजमा बनाउने भनिसकेकाले त्यसलाई नै सदर गर्न नेपाली पक्षलाई मनाएको हो । भारतीय पक्षले ब्रोडगेजमा नै आफ्नो विशिष्टता रहेको भन्दै अघि बढाउनुपर्ने अडान राखेको थियो । दुई देशका अधिकारीहरूबीच भर्चुअल माध्यममार्फत भएको छलफलमा स्ट्यान्डर्ड गेज राख्न नेपाली पक्षले जोड दिएको थियो । अन्तिममा ब्रोडगेजमा नै रेलमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

 नेपाल सरकारले देशभित्र सञ्चालन हुने रेलमार्ग कुन गेजमा आधारित हुने स्पष्ट गरिसकेको छैन । सरकारी अधिकारी पनि आफूभन्दा माथिल्लो तहबाट निर्णय हुनुपर्ने भन्दै पन्छिने गरेका छन् । तर, भारत र चीन जोड्ने रेलमार्ग भने दुई फरक गेजमा निर्माण हुने अवस्था सिर्जना भएको छ । चीन जोड्ने रेलमार्ग स्ट्यान्डर्ड गेज र भारत जोड्ने रेलमार्ग ब्रोडगेजमा निर्माण हुने देखिएको छ । यसलाई सरकारले सघन छलफल चलाएर एउटा निष्कर्षमा पुग्नुपर्ने रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यले बताए । 

नेपाल आफैँले निर्माण गर्न लागेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि अझै कुन गेजमा निर्माण हुने प्रस्ट छैन । केही खण्ड ब्रोडगेजमा निर्माण गर्ने गरी डिजाइन गरेको छ । अन्य खण्डको भने कुन गेज राख्ने सरकार अझै अनिर्णीत छ । सिमरादेखि तम्सरिया (बुटवल) सम्मको खण्डमा ब्रोडगेज रहने गरी डिजाइन गरिएको छ । तर, त्यसबाहेकमा भने ब्रोड वा स्ट्यान्डर्ड जुन राखे पनि मिल्ने गरी डिजाइन गरिएको छ । त्यसबाहेक नेपाल–भारत जोड्ने ५ वटा अन्तरदेशीय रेलमार्ग पनि भारतको सहयोगमा केही निर्माणाधीन र केही भविष्यमा बनाउने योजनामा छन् । ती सबै अन्तरदेशीय रेलमार्ग ब्रोडगेजमा निर्माण हुनेछन् ।

रेलमार्गमा गेज के हो ?
रेल गुड्नका लागि दुई ट्र्याक चाहिन्छ । त्यही दुई ट्र्याकबीचको लम्बाइलाई गेज भनिन्छ । यसलाई अझ सजिलोसँग बुझ्न रेलको दायाँ र बायाँ चक्काबीचको लम्बाइ नै गेज हो । गेजले रेलको गुड्ने गतिलाई निर्धारण गर्छ । ब्रोडगेज रेलको अधिकतम गतिप्रति घन्टा २ सय किलोमिटरसम्म रहेको छ । तर, स्ट्यान्डर्ड गेजको रेलको औसत गति प्रतिघन्टा २ सय ५० किलोमिटरभन्दा माथि हुन्छ । 

नेपालले तीव्र गतिको रेल चलाउन खोजेको हो भने स्ट्यान्डर्ड गेज र स्थानीयलाई रेल सुविधा दिने तथा मालगाडी गुडाउने हो भने ब्रोडगेजमा जानुपर्ने विज्ञहरूबीच चर्को बहस छ । तर, कुन गेज नेपालका लागि उपयुक्त हो भनेर सरकारले अझै निर्णय गरिसकेको छैन । लागतको हिसाबले ब्रोडगेज सस्तो छ भने स्ट्यान्डर्ड गेज महँगो पर्छ । 

स्ट्यान्डर्ड गेजका लागि डेडिकेटेड (समर्पित) लेन चाहिन्छ, जुन ब्रोडगेजमा आवश्यक पर्दैन । नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा लगभग ७० प्रतिशत छ । त्यसअनुसार भारतमा जुन गेजमा रेलमार्ग छ, त्यही नेपालमा निर्माण गर्दा मात्र नेपालले लाभ लिन सक्ने एकथरी विज्ञहरूको भनाइ छ । अर्कोथरीले भने पुरानो प्रविधिभन्दा पनि नयाँ (स्ट्यान्डर्ड गेज) मा जानुपर्ने बताइरहेका छन् ।

सुझावित समाचार