सरस्वती बहुमुखी क्याम्पस र केसिएमआइटी राजधानीमा जारी पिवाइसी इन्टरकलेज टियू बिबिए क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको क्वार्टरफाइनल चरणको आ–आफ्नो खेलमा जित हात पार्दै सरस्वती र केसिएमआइटीले प्रतियोगिताको अन्तिम चारमा स्थान सुक्षित गरेका हुन् ।
मूलपानीको तल्लो क्रिकेट मैदानमा सरस्वतीले के एन्ड केलाई ५४ रनले पराजित गर्यो । टस हारी पहिले ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रनको योगफल तय गरेको थियो । जवाफमा आएको के एन्ड के ११.५ ओभरमा ६५ रनमै समेटिन पुग्यो ।
सरस्वतीका लागि दिपेश अधिकारीले २८ र उज्ज्वल बानियाँले २३ रनको योगदान दिए । अलराउन्ड प्रदर्शन गरेका उज्ज्वलले विपक्षीको तीन विकेटसमेत लिएका थिए । यस्तै, नितिस अर्यालले थप तीन विकेट लिए ।
के एन्ड केका लागि डार्विन श्रेष्ठले २१ र अनित देवकोटाले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । के एन्ड केका किरेन उप्रेतीले तीन विकेट लिएका थिए ।
यस्तै, दिनको अर्काे खेलमा केसिएमआइटीले पिपुल्स कलेजमाथि चार रनको रोमाञ्चक जित हात पारेको हो । टस जिती पहिले ब्याटिङ गरेको केसिएमआइटीले १७.२ ओभरमा सवै विकेट गुमाउनुअघि ८१ रनको योगफल तय गरेको थियो ।
जवाफी ब्याटिङमा आएको पिपुल्स कलेज १८.१ ओभरमा ७७ रनमै समेटिएपछि केसिएमआइटी अघि बढेको हो । केसिएमआइटीका लागि अमित मण्डलले २६ रनको महत्वपूर्ण योगदान दिएका थिए । अर्जुन पन्तले पिपुल्सको तीन तथा तेजेन्द्र रावल र अमित मण्डलले दुई–दुई विकेट लिए ।
पिपुल्स कलेजका लागि भने रञ्जित भण्डारीले १६ रन जोड्नबाहेक अन्य खेलाडीले ठूलो योगदान गर्न सकेनन् ।