सन् ६४ को जुलाईमा रोम सहरमा एक्कासि आगो दन्कियो । पाँचौँ रोमन शासक निरो क्लाउडियस भने भायोलिन बजाएर बसिरहे । आगोको लप्कामा जिउँदै जल्दै गरेका हजारौँ नागरिकको चीत्कार शासक निरोको कानसम्म आइपुगेन । नागरिकको विलौना र आर्तनादले उनको मुटु रेट्न सकेन, बरु उनी भायोलिनको तार रेटिरहे । नागरिकको आँसुमा हाँसिरहे । रोम जलेर तरेखु बन्यो ।
आफ्नो सहर एउटा मुर्दाघाटमा रूपान्तरण भइरहँदा पनि ‘निरो–सत्ता’ रापिएन । आजका समकालीन शासकको ‘शासकीय अनुहार’मा आधुनिक संस्करणको निरोको प्रतिछाया देखिन्छ । नागरिक भोक र असुरक्षाको रापले छट्पटाइरहँदा पनि शासक ‘बहिरा’ बन्दै गएका छन् ।
प्रविधि र ज्ञानको बलमा शासकीय सभ्यताको उच्चतम मूल्य हासिल गरिसकेको २१औँ शताब्दीका शासक पनि यतिसम्म निर्मम बन्न सके कि ‘लोकतन्त्रको मन्दिर’ भत्काएर आफ्नो ‘निर्जीव सालिक’ स्थापना गर्ने दुस्साहस गरे र आफैँलाई सत्तामा पुर्याउने नागरिकले त्यही ‘निर्जीव सालिक’ पूजून् भन्ने चाहना राखे ।
विधिको शासनको सैद्धान्तिक जरा उखेलेर आफ्नो कुर्सीको खुट्टा मजबुत पार्न खोजे । आफ्नै घरमा झोसिएको आगो दन्किन छाडिदिएर आफू पराले कुन्यूको आड लिए । आफूले शरण लिएको पराले कुन्यूमुन्तिर आफू सुरक्षित भएको भ्रम उनीहरूलाई परिरह्यो ।
खलनायकी शासनको दबदबा : धेरैजसो ‘शक्तिशाली’ मुलुकका शासकको शक्ति उन्माद र ‘अहंको टकराव’ ले विश्व लोकतन्त्रमाथि धावा बोल्दै गर्दा कतिपय मुलुक आन्तरिक राजनीतिक चंगुलमा फसेका छन् । एक आँकडाअनुसार यतिवेला विश्वका एकतिहाइजसो मुलुकका जनता कुनै न कुनै रूपले शासकसितको विमति दर्ज गर्न सडकमा ओर्लिएका छन् । यसले पुष्टि गर्छ कि लोकतन्त्रकै नाममा अपेक्षाकृत विश्व शासकीय स्थायित्वभन्दा बढी राजनीतिक विग्रहको बिउ रोपिएको छ ।
पछिल्लो वर्ष विश्व राजनीतिको रंगमञ्चमा सम्भवतः सबैभन्दा बढी बहुलठ्ठीपन झल्किने राजनीतिक झाँकी प्रस्तुत भए । आज विश्वको शासकीय सत्ता नै सनक, बहुलठ्ठी र शक्ति उन्मादको दुवालीमा परेको देखिन्छ । सन् २०२० को उत्तराद्र्धतिर अमेरिकाजस्तो विश्वमै उन्नतमध्येको ठानिएको लोकतन्त्र अभ्यास गरेको मुलुकको आमनिर्वाचन विवादित मात्रै बनेन, ४५औँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व शासनमै ‘बलमिच्याइँको खलनायकी शासकीय गुण’ले प्रश्रय पायो । महाभियोगको बिल्ला भिरेर उनी ‘ह्वाइट हाउस’बाट बाहिरि“दै गर्दा धेरैले विश्व लोकतन्त्रको ‘विजय’को रूपमा अथ्र्याए । ट्रम्पले गरेको शासकीय (कु) अभ्यास नै आजको विश्वको समकालीन कार्यकारी नेतृत्वको ‘प्रतिनिधि शासकीय गुण’ बन्यो ।
अर्कोतर्फ, विश्व नागरिक शासनमा सैनिक बर्दीको छाया पनि उत्तिकै पर्न थालेको छ । विश्वका कतिपय मुलुकका सेनाले नागरिक नियन्त्रणमा बस्ने रुचि कम देखाए, नागरिक नियन्त्रणको दायरा नाघेर राजनीतिक शक्ति आर्जनको मोह बढी राखे । जस्तो कि म्यानमारको नागरिक शासनमाथि त्यहाँको सैनिकले बुट बजार्यो, म्यानमारमा संस्थागत हुँदै गरेको लोकतन्त्र पुनः सैनिक ब्यारेकभित्र बजारियो ।
यसलाई बहुलठ्ठी विश्व राजनीतिको ‘उत्पादन’ मान्नुपर्ने होला ! सेनाले राजनीतिक शक्ति आर्जन मोह बढाउनुमा विश्व राजनीतिक अभ्यास नै बढी खोटी देखिएला । त्यसो त सन् २०२० डिसेम्बरको पहिलो साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जननिर्वाचित संसद् विघटन गरे, जुन बितेको दुई वर्षमा चौथोपटक चुनावी आह्वानसहितको संसद् विघटन थियो ।
यसलाई विश्लेषकले ‘राजनीतिक बहुलठ्ठी र सनक’को रूपमा अथ्र्याए । हुन पनि हो, नागरिकको वैधताबाट निर्मित संसद् नै विघटन गर्ने ‘ख्याल’ले शासकको दिमागमा गुँड बनाइरहँदा उसको शासकीय क्षमतामा पक्कै पनि ह्रास आएको हुनुपर्छ । आजको राजनीतिक समय यति निर्मम बनिदियो कि शासकले नागरिकलाई आफ्नो सत्तारोहणको लिस्नोसिवाय अरू ठान्नुपर्ने आवश्यकता रहेन । यस्ता शासकबाट विश्व राजनीतिमा घट्ने अपेक्षित दुर्घटना भनेका यिनै र यस्तै हुन्, जुन हामीले देखिसकेका छौँ, भोगिरहेका छौँ ।
अधिनायकत्वको ‘रिहर्सल’ : विश्वले कोरोनाको खिलाप मुकाबिला गर्दै गर्दा यसकै बहानामा हंगेरी, अमेरिका, इटलीजस्ता मुलुकले लोकतन्त्रको गुण र मूल्य खुइल्याइदिए । हंगेरीका शासकमा राजनीतिक शक्ति आर्जनको मोह यसरी ह्वात्तै बढ्न पुग्यो कि उनले शासनको सीमा तोकेको त्यहाँको मूल कानुन नै संशोधन गरिदिए, ताकि लोकतान्त्रिक विधिविपरीत शासन अवधि इच्छित रूपमै लम्ब्याउन सकियोस् ।
यही प्रसंगलाई राजनीतिक विश्लेषक जोल्टान केग्लेडीले टिप्पणी गरेका छन्– ‘हंगेरीले तर्जुमा गरेका कतिपय कानुनले उक्त मुलुक अधिनायकवादी शासनको खुड्किला चढिसकेको प्रस्ट्याउँछ । हंगेरीका राष्ट्रपति भिक्टोर ओर्वान होऊन् वा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, जब यो मार्काका शासकले आफ्नो प्रशंसामा कमी आएको ठान्छन्, त्यतिन्जेल तिनले आफ्नो शासकीय वैधता गुमाइसकेका मात्रै हुँदैनन्, आफ्नै शासकीय क्षमतामा पनि आफैँलाई विश्वास लाग्न छाडिसकेको हुन्छ ।’
ओर्बान, ट्रम्प जस्ता नेता आफ्नो शासनमा भन्दा बढ्ता आफ्नाविरुद्ध बोल्नेमाथि शासन गर्न रुचाउँछन्, रुचाएको पनि देखियो । मुलुकमाथि शासन गर्ने क्षमता गुमाएकैले उनीहरू आफ्ना ‘विरोधी’ ठेगान लगाउन तम्सिने हुन् । स्वतन्त्र मिडियामाथि हैकम लादेर नागरिकको नभई मिडियाको ‘शासक’ बन्न कस्सिनुमा उनीहरूको ‘राजनीतिक अभिमुखीकरण’कै खोटी होला ।
जस्तो कि टर्किस राष्ट्रपति रिसेप तैयप एर्दोगानले ‘मिडियाले महामारी संकटलाई राजनीतीकरण गरिदिएको’ आरोप लगाए । यसकारण उनलाई ट्रम्पको ‘नक्कली कठपुतला’को रूपमा समेत हेरियो । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते उपर लागेको नागरिकको ‘गैरन्यायिक हत्या’ आरोप पखाल्न उनले स्वतन्त्र मिडियामाथि आक्रोश पोखे र शासकीय खराबीलाई राजनीतिक रंग पोतेर मेट्न खोजे । ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारो पनि आफ्नो शासकीय खराबी लुकाउन मिडियामाथि खनिए ।
यसरी शासकीय खराबीको मौलो अग्लिँदै जाँदा विश्वका समकालीन शासक मानसिक रूपले बढी हतास र राजनीतिक रूपले कम विवेकी देखिन थाले । यसबाट शासकीय रिक्तता महसुस गर्नुपर्ने कठोर परिस्थितिको सिर्जना भयो । लोकतन्त्रको रक्षा गर्नुपर्ने शासकीय दायित्वचाहिँ राज्यसंस्थाबाट सरेर स्वतन्त्र मिडियाको काँधमा आइपुग्यो । तर, मिडियाले आफ्नो धर्म निभाउन खोज्दाचाहिँ शासकले मिडियालाई समानान्तर शासकको रूपमा बुझे, अन्ततोगत्वा मिडिया नै शासकका प्रधान शत्रु साबित भए ।
उदाहरणका लागि ट्रम्पले ‘द वासिंटन पोस्ट’, ‘सिएनएन’, ‘न्युयोर्क टाइम्स्’लगायतलाई ‘नागरिकका शत्रु’ करार गरे । भारतमै पनि पछिल्लो किसान आन्दोलनको हिंसात्मक प्रहरी दमनको समाचार सम्प्रेषण गरेकै निहुँमा ‘द वायर’ र ‘द क्याराभान’ आदिका रिपोर्टरलाई राज्य विप्लवको बिल्ला भिराएर मुद्दा चलाइयो ।
यी एकाध घटना मात्रै पनि शासकीय विधि र नियमलाई शासकको बलमिचाइले प्रतिस्थापन गर्दै गरेको पुस्ट्याइ“ गर्न काफी छन् । आजका शासक लोकतान्त्रिक विधि लत्याएर ७२ वर्षसम्म ‘भर्सिलिज दरबार’ मा एकछत्र राज गरेका फ्रान्सेली शासक ‘लुई चौधौँ’को ‘सजीव सालिक’ बन्न उद्यत देखिन्छन् । यही कोटीका शासकले हुर्मत काढेको लोकतन्त्रको रक्षार्थचाहि“ स्वतन्त्र मिडिया सडकमा उत्रिनुपर्ने अवस्था आइपर्यो ।
राजनीतिक लडाइँको एउटा हिस्सा त चाहेर–नचाहेर शासक भर्सेज मिडियाको लडाइँ बनिदियो । तर, जुन मुलुकमा स्वतन्त्र मिडियाको अस्तित्व रहन्छ, त्यहाँ कुनै न कुनै किसिमको लोकतन्त्रको अवशेष जीवितै रहन्छ, किनभने स्वतन्त्र मिडियाले लत्तो नछाडेको मुलुकमा ‘सर्वसत्तावाद’ वा ‘तानाशाह’ जन्मिहाल्न हच्किन्छ ।
‘नार्सिसिस्ट’ ऐंठन : ग्रिक मिथोलोजी अनुसार पौराणिक ग्रिसमा एउटा जल देवता ‘सेफिसस’ को पुत्र ‘नार्सिसस’ थियो । ऊ बिछट्टै रुपवान थियो । तर, उसले आफ्नो रूप भने देखेको थिएन, आफूलाई चिनेको पनि थिएन । अरूले गरिदिएको आफ्नो सुन्दरताको बखानमै ऊ मग्न थियो । उसमा आफ्नो ‘सुन्दर रूप’ को घमन्ड थपिँदै गयो । एक दिन तलाउमा पानी पिउन जाँदा उसले एउटा सुन्दर अनुहार देख्छ ।
यसरी शासकीय खराबीको मौलो अग्लिँदै जाँदा विश्वका समकालीन शासक मानसिक रूपले बढी हतास र राजनीतिक रूपले कम विवेकी देखिन थाले । यसबाट शासकीय रिक्तता महसुस गर्नुपर्ने कठोर परिस्थितिको सिर्जना भयो ।
पानीमा देखिएको त्यो अनुहार उत्पात मन पर्छ र एकतर्फी मायामा डुब्छ । उसलाई पानीमा देखिएको अनुहारलाई आफ्नो माया जताउने मनसुवा भएपछि ऊ तलाउमै हाम फाल्छ । तर, उसले कहिल्यै थाहा पाउँदैन कि पानीमा देखिएको सुन्दर अनुहार अरू कसैको नभएर त्यो उसको आफ्नै अनुहार थियो । ऊ पानीबाट निस्किएर बाहिर आउन सक्दैन । आफैँलाई चिन्न नसकेको ‘नार्सिसस’को अस्तित्व अन्नतः मेटिन्छ ।
आजका विश्व शासकले रुचाउने ‘आत्मपूजा’ले योभन्दा फरक हर्कतको अपेक्षा गर्दैन । विश्वका अधिकांश शासक आफ्नै अनुहारसमेत खुट्याउन नसक्ने अवस्थामा छन् । विवेकीय क्षमता गुमाएको अवस्थामै सत्तासीन छन्, जुन तथ्य पुष्टि गर्न उनीहरूले सम्पादन गर्दै गरेको समकालीन शासकीय अभ्यास नै पर्याप्त छ । आफ्नो वा ‘किचन केबिनेट’ भन्दा बाहिरी फेरोको सरोकारमा उति दिलचस्पी नहुनु भनेको शासकलाई ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर’ले गाँज्नु हो ।
विश्वभर मुलुकको आन्तरिक राजनीतिक ध्रुवीकरण बढ्दै गएको त छ नै, विश्व स्वयं पनि धु्रवीकृत हुँदै छ । कारण हो, विश्व निषेध र प्रतिशोधको रणमा उत्रिसकेको छ । कोरोनात्तोर कालमा विश्व व्यवस्था र अन्तर्राष्ट्रिय राजनीति पुनः असन्तुलित बन्दै गरेको तथ्य स्थापित भइसकेको छ ।
कोरोनाजन्य महाव्याधिसित जुध्नका निम्ति आवश्यक पर्ने सहकार्यको बदलामा अमेरिका–चीन, इरान–अमेरिकाले आपसी वैमनस्य साँधे, जुन आजको अन्तर्राष्ट्रिय राजनीति चित्रित गर्न पर्याप्त छ । विश्व व्यवस्थामा उकासिँदै गरेको शक्ति उन्मादको परिणाम भनेको ‘लोकतन्त्रका स्तम्भ’ ढल्नु र विधिको शासन ‘बलमिच्याइको शासन’ मा रूपान्तरण हुनु हो, जसले विश्व शासनमा लोकतन्त्रविरुद्ध सर्वसत्तावादी सोचको उदयमा मलजल गरिदिएको छ ।
फलतः विश्व शासनले नागरिक नियन्त्रित सरकारमातहतको सैन्य नियन्त्रण खुकुलो हुँदै गरेको छनक पाउन थालेको छ । त्यसो त आर्थिक संकुचनका कारण पनि आजको विश्व शासन डरलाग्दो अवस्थामा आइपुगेको छ । संयुक्त राष्ट्र संघको एक आँकडाले कोरोना माहामारीका कारण विश्वभरका थप १३ करोडभन्दा बढी नागरिक गरिबीको रेखामुनि धकेलिँदै गरेको देखाएको छ ।
सरदर २० मिलियन हाराहारी अमेरिकीले आफ्नो रोजगारी गुमाइसकेका छन् र त्यहा“को बेरोजगारी दर १४ दशमलव ७ प्रतिशतमा उकालिएको छ । हाल विश्वरभरका एक सयभन्दा बढी मुलुकले आफ्ना उद्योगधन्दा उकास्नका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोषसित ऋणको लागि हात पसारेका छन् ।
यसरी विश्व आर्थिक व्यवस्था जर्जर बन्दै जानुमा शक्तिशाली भनिएका कतिपय मुलुकका शासकको ‘नार्सिसिस्ट’ मनोविज्ञान, बहुलठ्ठीपन र सनक सबैभन्दा बढी जिम्मेवार देखिन्छ । त्यही भएर पनि, यतिवेलाको विश्व राजनीतिक रूपले द्वन्द्वोन्मुख भएको हो, जसले नयाँ स्वरूपको शीतयुद्ध छेडिसकेको छ ।
बितेका साढे दुई दशकमा विकासको उकालो चढ्दै आएको विश्व अर्थतन्त्र टिठलाग्दो बिन्दुमा आइपुग्दै गर्दा विश्व शासनचाहिँ शासकीय खराबीको हर्जना भर्नै नसक्ने गरी थलिएको छ । मुलुकी व्यवस्था सञ्चालनका औजार ठानिएका विधि र राजनीतिक विवेकलाई शासकको बहुलठ्ठीपनले प्रतिस्थापन गरिदिएको छ । परिणामस्वरूप नागरिक शासकले एकाएक ‘तानाशाही शासक’ बन्ने वा ‘सर्वसत्तावाद अभ्यास’को सपना देख्न पुगे ।
यसैको प्रारम्भिक ‘रिहर्सल’ मान्नुपर्ला, कतिपय मुलुकका न्यायालयले अभ्यास गर्दै आएका न्यायिक अधिकार पनि बलजफती पुनः शासकीय संस्थामै फर्काइएका छन् । विश्व राजनीतिको यसखाले परिदृश्यले इतिहासमा क्रूर शासक जन्माउन सहायक बनेको नजिरसमेत स्थापित छ ।
सन् १९२९ को विश्वव्यापी आर्थिक महामन्दीउप्रान्त युरोपमा हिटलरको उदय भएको थियो । ‘हिटलर’को उदयका कारण विश्व व्यवस्थामा पुगेको क्षति आजसम्म पूर्ति हुन सकेको छैन, कोरोनाउप्रान्त पनि आधुनिक संस्करणका ‘हिटलर’को उदय हुने संकेत विश्व व्यवस्थामा असरल्ल देखिन थालिसकेको छ । यसको परिणाम भनेको आधुनिक शैलीको ‘निरो–सत्ता’ उत्पादन हुने हो, शासकीय ‘नार्सिसिज्म’थप झांगिने हो । अन्ततः विश्व व्यवस्था शासकीय खराबीका कारण थप खराब बन्दै जाने हो ।