नेप्सेमा करेक्सन

सोमबार, ३ फागुन, २०७७
डिजिटल संस्करण

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक कारोबार सुरु भएदेखि नै ओरालो लागेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनको भन्दा ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ बिन्दुमा आइपुगेको छ । उच्च तहमा पुगेको बजारमा करेक्सन भएको सरोकारवालाले बताएका छन् । ‘लामो अवधिसम्म वृद्धिको दिशामा रहेको बजारमा कहिलेकाहीँ करेक्सन आउनु स्वाभाविक हो,’ एक ब्रोकरले भने ।

नेप्सेले केही दिनअघि मात्रै हालसम्मको सर्वाधिक उच्च बिन्दु २ हजार ५ सय ६१ बिन्दु छोएर ओर्लिएको हो । कतिपयले भने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जामा कडाइ गर्न सकिने हल्ला बजारमा फिँजिएकाले पनि बजार केही ओरालो लागेको आकलन गरेका छन् । 

आइतबार कारोबारमा आएकामध्ये सामूहिक लगानी कोषबाहेक सबै समूहगत परिसूचकमा गिरावट आएको छ । २ सय २ धितोपत्र तथा ऋणपत्रको किनबेच भएकोमा ३८ वटाको मूल्य बढेर र १ सय ४१ वटाको मूल्य घटेर कारोबार भएको हो । 
यस दिन कारोबारमा आएकोमा नेपाल पूर्वाधार बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भएको हो ।

पहिलो कारोबार ३ सय ४० बाट सुरु भएको बैंकको सेयर मूल्य बढेर ३ सय ७४ सम्म पुगेपछि बजार बन्द भएको हो । नेको इन्स्योरेन्सको यस दिन सबैभन्दा उच्च रकमको कारोबार भएको छ । कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । 

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ । १ करोड ४८ लाख कित्ता सेयर किनबेचबाट ६ अर्ब ९२ करोड रुपैयाँबराबरको कारोबार भएको हो । २९ माघमा बसेको माहुली लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश घोषणाा गरेको छ ।

कम्पनीको सेयर मूल्य ९५ रुपैयाँले घटेर २ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सेयर मूल्य भने १५ रुपैयाँले घटेर ९ सय ९३ मा किनबेच भएको छ । बजार घटेसँगै लगानीकर्ताको सम्पत्तिको मूल्य ३३ खर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ ।  

सुझावित समाचार