कोरोना भाइरसबाट बेलायतमा मंगलबार एक हजारभन्दा बढीको मृत्यु

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

बेलायतमा केही महिनाअघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही सातामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन । यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिनापछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घन्टामा थप एक हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार आठ सय ५० जना पुगेको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढिरहेका समाचार आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेको तुलनामा केही कमी देखिए पनि उल्लेखनीय रूपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घन्टामा १२ हजार तीन सय ६४ जना संक्रमित थपिएका छन् । 

सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार एक सय ४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त अर्को एक समाचारमा मंगलबारसम्मको तथ्यांकमा एक करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ ।

सुझावित समाचार