बन्द भएका ११ एयरलाइन्सबाट साढे पाँच करोड उठाउन प्राधिकरणको ताकेता

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरूलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको छ । ११ कम्पनीहरूले वर्षौँदेखिको ५ करोड ४५ लाख १९ हजार ६ सय ५० रुपैयाँ बक्यौता बुझाउन प्राधिकरणले सार्वजनिक सूचना निकालेको हो ।

नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजलाई शुल्क बुझाउन ३० दिने म्याद दिएको हो । यी एयरलाइन्सहरू हाल सञ्चालनमा छैनन् ।

३० दिनभित्र पनि रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरूको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा लेखिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाई आफ्नो हरहिसाब फरफारक गर्नुहुन तथा उल्लिखित बक्यौता रकम सम्बन्धमा कुनै फरक परेको आधार र प्रमाण भएमा पुस्ट्याइँसहित पेस गरी हिसाब मिलान गर्नुहोला ।’

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको छ । यो कम्पनीले ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ प्राधिकरणलाई बुझाउनुपर्नेछ । यसैगरी, कस्मिक एयरको बक्यौता रकम ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ छ ।

सुझावित समाचार