७ मई १८२४ का दिन भियनाको एक साँझ संगीतमय थियो । सहरका अभिजात्य र कुलीन तप्काका अधिकांश मानिस भियनाको रोयल कोर्ट थिएटरमा उर्लिएका थिए । सबैले निकै व्यग्र प्रतीक्षा गरिरहेका थिए । त्यहाँ सबै लुडबिग वैन बिथोविनको नवौँ सिम्फोनी प्रिमियर सुन्न आएका थिए ।
संगीतको दुनियाँमा बिथोविनको नाम निकै सम्मानका साथ लिइन्छ भन्नेमा कुनै शंका भएन । पछि त्यो साँझ दुनियाँको महान् साँझ दरिन पुग्यो । वास्तवमा त्यतिवेलासम्म बिथोविन पूर्ण रूपमा बहिरा भइसकेका थिए । बिथोविनको जन्म आजभन्दा २५० वर्षपहिले जर्मनीमा भएको थियो ।
१७ डिसेम्बर १७७० मा उनको जन्म भएको थियो । उनी संगीतकार बन्ने उत्कर्षमा पुग्दैगर्दा नेपोलियन विश्व विजय गर्छु भनेर युद्धमा लागेका थिए । राजनीतिक रूपमा युरोप निकै ठूलो उथल–पुथलबाट गुज्रँदै थियो । बिथोविनको निधन २७ मार्च १८२७ मा भएको थियो । अच्चम्म त के छ भने, पाचनप्रणाली निकै कमजोर रहेका उनी धेरै रक्सी पिउने गर्थे, त्यसैका कारण पछि उनी बहिरा भए ।
बिथोविन निकै पीडादायक चरणबाट गुज्रिरहेको हुनाले उनमा रक्सी पिउने लत बस्यो । तर, संगीतलाई लिएर उनमा अनौठो किसिमको अनुराग थियो । संगीत बनाउँदै गर्दा खाना खाएँ कि खाइनँ भन्नेसमेत उनी बिर्सन्थे । उनको पाचनप्रणालीमा समस्या देखिएको थियो, तर त्यो सन्चो हुन नपाउँदै रक्सीले त्यसमा थप बिगार गथ्र्यो ।
पछिल्लो समय उनले आफ्ना भाइलाई लेखेको पत्रमा भनेका छन्– ‘ओहो ! मैले आफ्नो कमजोरीलाई कसरी स्वीकार गर्ने होला त्यतिवेला, जब म निकै पर्फेक्सनको स्तरमा पुग्न खोज्दै छु, यस्तो पर्फेक्सन जहाँ निकै कम संगीतकारहरू पुग्छन् ।’ उनीजति महान् संगीतकार सायद अर्को नजन्मिएला । त्यसैले भनिन्छ बिथोविनको संगीत पीडाबाट जन्मेको संगीत हो ।