आयोजना सम्पन्न नहुँदै उद्घाटनको हतारो

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

दाना–कुश्मा प्रसारण लाइन र दुई सबस्टेसन प्रधानमन्त्रीद्वारा भर्चुअल शुभारम्भ

नेपालकै दोस्रो ठूलो राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत निर्माण भएको सबस्टेसन तथा प्रसारण लाइन प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका छन् । आयोजनाको काम पूरा नहुँदै प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा भर्चुअल उद्घाटन गरेका हुन् । 

आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित २२०/१३२/३३ केभी सबस्टेसन पनि औपचारिक रूपमा सञ्चालन थालिएको हो । तर, हालसम्म आयोजनाको काम ९७ प्रतिशत मात्रै सम्पन्न भएको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिए । उनका अनुसार आयोजनाको इलेक्ट्रिक कार्य पूरा भए पनि आन्तरिक कार्यहरू भने बाँकी छ । उक्त आयोजना करिब एक महिनाअघिदेखि परीक्षण प्रसारणका रूपमा सञ्चालनमा आएको थियो । एसियाली विकास बैंकको ३ अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झन्डै ८० करोडको लागतमा खुर्कोट–दानाखण्डमा प्रसारण लाइन निर्माण भएको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले बताए । 

कुल ३९ दशमलव ६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा १ सय १० टावर छन् । प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा १ सय १४ वटा टावरहरू रहनेछन् । यो प्रसारण लाइन बनेपछि कालीगण्डकी करिडोरमा निर्माणाधीन र भविष्यमा निर्माण हुने आयोजनालाई प्रसारण लाइनको अभाव नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रघुगंगाबाहेक चाँडै नै ४२ मेगावाटको मिस्ट्री खोला र त्यसपछि १३ दशमलव ६ मेगावाटको थापा खोलाको विद्युत् पनि यही प्रसारण लाइनमा जोडिनेछ । 

लामो समयदेखि प्रसारण लाइनको अभावले थापा खोला आयोजनाको विद्युत् खेर गइरहेको छ । अहिले ५ मेगावाटको घलेम्दी जलविद्युत् आयोजना भने जोडिसकिएको छ । यस प्रसारण लाइनमार्फत करिब ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरू निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६ मा ठेक्का सम्झौता भएको थियो । कम्पनीले ३० मे २०१६ देखि निर्माण थालेको हो । आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया रहेको छ । 

त्यस्तै, दुई सबस्टेसनमध्ये पहिलो दाना सबस्टेसनमा ३३ दशमलव ३३ एमभिएका तीनवटा र २५ एमभिएको एउटा पावर ट्रान्सफर्मर जडान भएका छन् । दोस्रो, खुर्कोट सबस्टेसनमा ३३ दशमलव ३३ एमभिएका तीनवटा गरी १००/१०० एमभिएका ट्रान्सफर्मरहरू जडान भएका छन् । यी सबस्टेसनमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिनेछ । 

दोस्रो खण्डको काम ६० प्रतिशत 
कालीगण्डकी करिडोरको दोस्रो खण्ड कुश्मा–न्यू बुटवलको लम्बाइ ८७ किलोमिटर रहेको छ । यस खण्डको काम करिब ६० प्रतिशत सकिएको प्राधिकरणले जानकारी दिएको छ । पहिलो खण्डको उद्घाटन गर्न कुश्मा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइनको दोस्रो खण्ड निर्माणमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए । प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दोस्रो खण्डको निर्माणलाई तीव्रता दिन हरसम्भव प्रयास भइरहेको उत्तर दिए । 

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन) सम्मको प्रसारण लाइनको निर्माण गरिनेछ । कालीगण्डकी नदी बेसिनमा निर्माणाधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको उनको भनाइ थियो । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

सुझावित समाचार