असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस सडकमा रहन्छ, कम्युनिस्ट नेतृत्वको सरकारमा कदापि जाँदैन : शेखर कोइराला

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले निरन्तर सडक संघर्ष गरिरहने बताएका छन् । 

आज सोमबार सरकारले चालेको असंवैधानिक कदमविरुद्ध  मोरङ क्षेत्र नम्बर ६ ले विराटनगरमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता कोइरालाले नेपाली कांग्रेस कदापि कम्युनिस्ट नेतृत्वको सरकारमा नजाने र निरन्तर सर्वसत्तावाद र अधिनायकवाद पराजित गर्न सडकमा आन्दोलन गरिरहने बताएका हुन् ।

विराटनगरको जनआन्दोलन चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘प्रतिगमन नसच्चिएसम्म कांग्रेस एक दिन हाेइन निरन्तर सडकमा रहन्छ र सडकबाटै निर्णय गरिछाड्नेछ ।’, 

भावी महाधिवेशनमा कांग्रेस सभापतिको उम्मेदवारका दाबेदार पनि रहेका नेता कोइरालाले सर्वसत्तावाद र अधिनायकवादको विरोधलाई गाउँगाउँसम्म पुऱ्याउन कार्यकर्ताहरूलाई निर्देशन दिए । 

तर, कोइरालाले सर्वाेच्च अदालतले केपी ओलीको असंवैधानिक कदमलाई सदर गर्दै निर्वाचन गराउन फैसला गरे पनि सुनिश्चिता नभएसम्म कांग्रेसले सडक नछाड्ने बताए । 

उनले अगामी सरकार नेपाली कांग्रेसको आफ्नै नेतृत्वमा हुने र त्यसका लागि गाउँगाउँबाट वातावरण तयार गर्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे । 

केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रधानमन्त्री ओली सर्वसत्तावाद र अधिनायकवादको पछि लागेको बताइन् ।

सुझावित समाचार