फ्रान्समा पनि भेटियोे कोरोना भाइरसको नयाँ स्वरूप

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

बेलायतमा हालै देखिएको कोरोना भाइरस (कोभिड १९) को नयाँ स्वरूप फ्रान्समा पनि भेटिएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले बेलायतबाट फर्किएका आफ्ना एक नागरिकमा कोरोनाको भर्खरै पत्ता लागेको नयाँ भाइरस संक्रमण देखिएको जनाएको हो । 

फ्रान्सले उक्त व्यक्तिको नाम र परिचय खुलाएको छैन । यद्यपि, ती व्यक्ति फ्रान्सको टुर्स सहरको भएको जनाइएको छ । मन्त्रालयका अनुसार ती व्यक्ति अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । 
उनी १९ डिसेम्बरमा बेलायतबाट फ्रान्स फर्किएका थिए । मन्त्रालयका अनुसार उनमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन । 

बेलायतमा देखिएको कोरोनाको यो नयाँ भाइरस पहिलेको भन्दा बढी संक्रामक रहेको जनाइएको छ । नयाँ स्वरूपको भाइरस देखिएपछि धेरै देशले बेलायत भ्रमणमा रोक लगाएका छन् । कतिपयले बेलायतमा हुने आफ्नो उडान सेवा स्थगित गरेका छन् । त्यसमा नेपाल पनि पर्छ ।

फ्रान्सले पनि सोही कारण आफ्नो सीमा बन्द गरेको थियो । तर, उसले यही बुधबार मात्रै सीमा खुलाउने निर्णय गरेको हो । सीमा खुलाउँदा आफ्नो देश प्रवेश गर्नुअघि कोरोना परीक्षणमा ‘नेगेटिभ’ रिपोर्ट आउनुपर्ने जनाएको छ । त्यसअघि एक–अर्काको देश प्रवेश गर्न खोजेका ठूला कन्टेनरहरू बाटोमै रोकिएका थिए । 

स्वास्थ्य मन्त्रालयका अनुसार ती व्यक्तिमा गत २१ डिसेम्बर संक्रमण पुष्टि भएको हो । बेलायतमै बसोवास गर्ने उनलाई अहिले स्वास्थ्यसम्बन्धी कुनै समस्या छैन ।
नयाँ स्वरूपको यो भाइरस अरू देशमा पनि पुगिसकेको छ । शुक्रबार जापानले बेलायतबाट आइपुगेका पाँचजनामा कोरोनाको नयाँ भाइरस देखिएको जनाएको छ । त्यसअघि डेनमार्क, अस्टे«लिया र नेदरल्यान्ड्सले आफ्नो क्षेत्रमा पनि बेलायतमा देखिएको नयाँ भाइरस देखिएको जनाएको थियो । 

कोरोना भाइरसकै कारण लागू गरिएको लकडाउन फ्रान्सले गत साता मात्रै खुलाएको थियो । त्यसका बाबजुद अरू धेरै कुरामा गरिएको कडाइ अझै जारी छ । फ्रान्सेली सरकारले पूर्ण रूपमा लकडाउन खोल्नका लागि अवस्था सहज भइनसकेको जनाएको छ । यहाँ संक्रमणदर अझै अपेक्षा गरिएअनुसार नघटेको जनाएको छ ।

फ्रान्समा अझै थिएटर र सिनेमा हलहरू बन्द रहनेछन् । बार र रेस्टुरेन्ट पनि बन्द नै रहनेछन् । रातको समय कफ्र्यु पनि लगाउने गरिएको छ । क्रिसमस इभका लागि खुलाइएको रात्रिकालीन कफ्र्यु अरू वेला भने जारी नै रहनेछ । फ्रान्समा कोरोना भाइरस सुरु भएदेखि अहिलेसम्म २५ लाखमा संक्रमण देखिएको छ भने ६२ हजारको मृत्यु भएको छ ।


नयाँ भाइरसमा के छ नयाँ ?
नयाँ खालको कोरोना भाइरस बेलायतमा केही दिनअघि देखिएको हो । त्यसकै कारण हालैको साता लन्डनमा तीव्र रूपमा संक्रमण फैलिएको जनाइएको छ । यस्तै, बेलायतको पूर्व र दक्षिणपूर्वी क्षेत्रमा पनि ठूलो संख्यामा भाइरस फैलिएको छ ।

यी क्षेत्रमा तीन भागको दुई भाग जनतामा संक्रमण देखिएको छ । यो संक्रमण नयाँ खालको भाइरसका कारण भएको बताइएको छ । यद्यपि, यसको पुष्टि भने भइसकेको छैन । राष्ट्रिय तथ्यांक विभागले यसबारे अझै निश्चित हुन बाँकी रहेको जनाएको छ ।

यसबीचमा नयाँ भाइरसबारेमा केही नयाँ तथ्य आएका छन् । 
–  यसले भाइरसको अरू स्वरूपलाई निकै द्रुत गतिमा परिवर्तन गरिरहेको छ ।
–    यो भाइरससँग अरूलाई पनि सशक्त बनाउने क्षमता छ ।
–    यो भाइरसको नयाँ क्षमताको प्रमाण ल्याब परीक्षणमा पनि भेटिएको छ ।

यी तथ्यअनुसार पनि यो भाइरस निकै छिटो मानव शरीरमा फैलने अवस्थामा देखिएका छन् । यो भाइरस अघिल्ला भाइरसभन्दा बढी घातक रहे नरहेकोबारे भने अझै पत्ता लगेको छैन । यसलाई हालै बनेको नयाँ भ्याक्सिनले काम गर्ला वा नगर्ला भन्ने तथ्य पनि अझै निश्चित हुन बाँकी नै छ ।

विश्वले कस्तो प्रतिक्रिया दिएका छन् ?
अहिलेसम्म ४० भन्दा बढी देशहरूले बेलायत भ्रमणमा प्रतिबन्ध लगाएका छन् । बेलायतबाट आउनसमेत प्रतिबन्ध लगाएका छन् । बेलायतबाट वरिपरिको देशमा हुने सबै हवाई उडान बन्द छन् । बेलायतले पनि स्पेन, भारत र हङकङलगायत देशमा आफ्ना हवाई सेवा बन्द गरेको छ ।
 

सुझावित समाचार