बेलायतमा कोरोना भाइरसको नयाँ स्वरूपको जीवाणु भेटिएको भन्दै कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । यसअघि बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको अधिकारीहरूले बताएका छन् ।
दोस्रो लहरका कारण बेलायतमा केही साता यतादेखि कडा खालका प्रतिबन्ध लगाएको थियो । यहाँ झनै कडा भाइरस आएपछि थप प्रतिबन्ध लगाउँदा जनजीवन कष्टकरण बनेको छ ।
ब्रिटिस सरकारले कडा प्रतिबन्धको व्यवस्था गरेको भोलिपल्टै आइतबार डच सरकारले पनि यात्रा प्रतिबन्ध लगाएको थियो । बेलायतमा आगामी क्रिसमस र नयाँ वर्षमा दिएको बिदाका समयमा नागरिकहरू जम्मा हुन सक्ने भएकोले प्रतिबन्ध थप कडा बनाएको बुझिएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले यहाँका थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा बुधबार मात्र गरेका थिए । जसका कारण यहाँ बसोवास गर्ने कतिपय स्थानका नागरिक घरबाट निस्किनसमेत नपाउने गरी प्रतिबन्ध लगाएको अधिकारीहरूले जानकारी गराएका छन् ।
यसरी बुधबार नयाँ प्रतिबन्ध लगाएका स्थानहरूमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरू रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिए ।ती स्थानहरूमा पछिल्लोपटक नयाँ खालका कोरोना भाइरसका दुईजना बिरामी भेटिएको उनले बताए ।
बेलायतमाथि ४० देशले हवाई प्रतिबन्ध लगाए
बेलायतमा यो पछिल्लो अवस्थापछि यहाँ आउने–जाने हवाई उडानमाथि विभिन्न देशले प्रतिबन्ध लगाएको बताएका छन् ।बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएको समाचार छ। गएको आइतबार मात्र पनि डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको डच सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा कोरोना भाइरसको जीवाणु पाएको भन्दै डच सरकारले उडान प्रतिबन्ध लगाएको हो । बेलायत सरकारले पनि आगामी क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुन सक्ने सम्भावना रहेकाले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न आग्रह गरेको छ ।
बेलायतबाट हुन सक्ने कोरोनाको संक्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्न यतिखेर विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्ध लगाएका छन् ।
यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको छ । गत वर्षको डिसेम्बरबाट सुरु भएको पुरानै कोरोना भाइरसबाट पनि बेलायत सुरुमै प्रभावित भएको थियो । अहिले देखिएको झन् कडा खालको भाइरसबाट मृत्युदर पनि बढी भएपछि ब्रिटिस सरकार र सर्वसाधारणलाई थप समस्यामा पारेको छ ।