राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे ।
अहिलेको संकटको सिर्जना कम्युनिस्ट र कांग्रेसबाट भएको हुँदा ती दलहरूबाट अब निकास सम्भव नभएको भन्दै थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस र कम्युनिस्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने वेला भएको विचार व्यक्त गरे । राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएकोसमेत राणाको भनाइ थियो ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसद्को विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्वाेच्च अदालतको फैसला कुर्नुपर्ने बताए ।
उनले मुलुकलाई असफलताको बाटोमा लान खोजिएकोमा त्यो हुन नदिन राप्रपा बलियो हुनुपर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पुस १७ गते काठमाडौंमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए ।