नेपालको खेलकुद इतिहास धेरै लामाे छैन । इतिहास खोज्ने हो भने राणाकालभन्दा टाढा जानु नै पर्दैन । अर्थात् नेपालमा खेलकुदको सुरुवात ८० वर्षअघि मात्र भएको देखिन्छ । त्यस वेलाको इतिहास भेट्टाउन निकै मुस्किल पर्छ । वर्तमान समयमा बोलेको र कसैले लेखेकै भरमा मात्र तत्कालीन समयको खेल र रकेर्डबारे थाहा पाउनुपर्छ । सुरुवातदेखि नै नेपाली खेलकुदबारे सम्बन्धित निकायले चासो नराख्दै नै यस्तो समस्या आएको देखिन्छ । अब आउने पुस्ताले यस किसिमको झन्झट सामना गर्नुपर्दैन ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्रहालयबीचको सहकार्यमा नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०/२१ सुरु भएको छ । सात दोबाटोस्थित ओलम्पिकको मुख्य भवनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा दूरगामी प्रभाव रहने गरी प्रोजेक्ट सुरुवात गरेको जानकारी दिएका छन् ।
‘नेपाली खेलकुदको अभिलेखी करण सुरुवात भएको छ, यो परियोजनाले वर्तमानमा मात्र नभएर भविष्यमा सबैले सदुपयोग गर्न पाउने विश्वास लिएको छु,’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘हामी उद्देश्य पूरा नभएसम्म यो परियोजना रोक्ने छैनौँ ।’ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)अन्तर्गतको आइओसी ओलम्पिक सोलिडारिटी कार्यक्रमअनुसारै नेपालमा खेलकुदको अभिलेखीकारण हुन लागेको हो । यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गरेको अध्यक्ष श्रेष्ठले बताए ।
यो प्रोजेक्टका लागि आइओसीले १५ हजार डलर पहिलो फेजका लागि उपलब्ध गराएको छ । पहिलो फेजको समयावधि ६ महिनाको हुनेछ । यो समयभित्र नसकिएको एनओसीले आइओसीसँग दोस्रो फेजको प्रस्ताव गर्ने जनाएको छ । यसै वर्षको मार्चमा एनओसी र ओलम्पिक संग्रहालयबीच औपचारिक सम्झौता भएको थियो । सुजनलाल श्रेष्ठको संयोजकत्वमै गत अगष्टबाट कामसमेत सुरु भइसकेको एनओसीले जनाएको छ । ‘नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति बृहत् रूपमा पहिलोपल्ट हुन लागेको छ र यो नेपाली खेलकुदको इतिहास अभिलेखीकृत गरेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने प्रयास हुनेछ,’ एनओसीका अध्यक्ष चतुरानन्द राजवैद्यले भने, ‘हामीले नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्ने प्रयास गरेका छौँ, हामीहरूको प्रयास नै यो प्राजेक्टले त्यसलाई परिपूर्ति गर्ने प्रयास हुनेछ ।’
नेपाल ओलम्पिक संग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले नेपाली खेलकुदको सुरवाती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धिबारे अभिलेख राख्दै आएको जानकारी दिए । उनका अनुसार डिभिटल आर्काइभमा नेपालका खेलाडी र खेल संघबारे अभिलेखीकरणका लागि संकलन गरिनेछ ।
‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रदर्शनसँगै खेलकुदसँग सम्बन्धित तस्बिर र भिडियोको संकलनको प्रयास भइरहेको छ,’ संग्राहालयका अध्यक्ष श्रेष्ठले भने, ‘हामीले ओलम्पिकसँग आबद्ध खेललाई बढी प्राथमिकतामा राखेका छाैँ ।’