भ्याक्सिन नेपालमा कति प्रभावकारी होला ?

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

भ्याक्सिनको प्रभावकारिता देशअनुसार फरक भएको पाइन्छ, सही भ्याक्सिन सही समयमा प्रयोग गरेमा मात्र यसको प्रभावकारिता देखिनेछ  

शीर्षक अनौठो लाग्ला, तर यो प्रश्न सबैको मनमा पक्कै उत्पन्न भइरहेको हुनुपर्छ । कुनै भ्याक्सिनले तत् देशहरूमा देखाएजत्तिकै प्रतिशतमा प्रभावकारिता अर्को देशमा पनि देखाउँछ भन्ने छैन । लेखकको प्रोफेसर (जापानमा अध्ययन गर्दा) पनि भ्याक्सिन विकास तथा अनुसन्धानमा राम्रो दखल राख्ने र भ्याक्सिन विकासमा अन्तर्राष्ट्रिय वैज्ञानिकसँग लामो समयदेखि सहकार्य गर्दै आइरहेको हुनाले भ्याक्सिनको सफलता, सीमितता, असफलता र सम्भावनाबारे हामीबीच घनीभूत छलफल हुने गथ्र्यो । हाल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्याले निरन्तरता पाइरहँदा र उपचारका लागि निश्चित र विशेष औषधी तत्काल उपलब्ध नभएको र नहुने सम्भावना हुँदा थप मानवीय क्षति नहोस् भन्नका लागि भ्याक्सिन नै निर्विकल्प उपाय मानिएको छ ।

आजभोलि खोपको चर्चा हुँदा हामी धेरै खुसी र आशावादी हुने गर्छौँ । यो स्वाभाविक पनि हो । हाल केही भ्याक्सिन अन्तिम चरणमा रहेका (केहीले आपत्कालीन प्रयोगका लागि स्वीकृति पाइसकेका) तथा थप सयौँ विकासका क्रममा रहँदै गर्दा नेपालमा पनि भ्याक्सिन ल्याउने पहल सुरु भइसकेको छ । तर, दुईभन्दा बढी भ्याक्सिनले क्लिनिकल ट्रायलमा सन्तोषजनक नतिजा देखाइसकेको र तिनै भ्याक्सिन विश्वबजारका लागि तँछाडमछाड गरिराखेको अवस्थामा नेपाल भने ‘कोभ्याक्स सुविधा’अन्तर्गत भ्याक्सिन ल्याउने प्रक्रियामा रहेको र अपुग भ्याक्सिन कुन, किन र कसरी ल्याउने भन्ने चौबाटोको बीचमा रहेको देखिन्छ । भ्याक्सिन प्रयोगले धेरैभन्दा धेरैको संक्रमणबाट हुने जटिल अवस्था र मृत्युबाट बचाउने हो । हरेक भ्याक्सिनको प्रभावकारिता देशअनुसार फरक भएको पाइन्छ । नेपालमा कुनै पनि भ्याक्सिनको ट्रायल हालसम्म नभएको र भ्याक्सिनका लागि भनेर ठूलो धनराशी लगानी गर्दै गर्दा स्वाभाविक रूपमा एउटा प्रश्न उठ्ने गरेको छ– भ्याक्सिन नेपालमा कति प्रभावकारी होला ?   

विश्व स्वास्थ्य संगठनका अनुसार हाल ५२ वटा भ्याक्सिन क्लिनिकल ट्रायलमा छन् भने १६२ प्रि–क्लिनिकल ट्रायलमा छन् । १३ भ्याक्सिन तेस्रो चरणमा रहेका (केहीले नतिजासमेत प्रकाशित गरिसकेका) छन् । यसमा विशेष गरेर फाइजर र बायोएनटेक, अक्सफोर्ड र एस्ट्रजेनेका, मोडरना, स्पुतनिक भी, सिनोभ्याक आदि अग्रपंक्तिमा देखिन्छन् । उनीहरू विश्वबजारमा आ–आफ्नो उत्पादन पुर्याउने प्रयासमा छन् । भारतको ‘भारत बायोटेक’ पनि कोरोना भ्याक्सिनको प्रतिस्पर्धामा देखिन्छ । नेपाल सरकारले ‘कोभ्याक्स सुविधा’मार्फत जनसंख्याको २० प्रतिशतलाई भ्याक्सिन उपलब्ध गराउने भने पनि बाँकीलाई विश्व प्रतिस्पर्धामा रहेका भ्याक्सिनमध्येबाट नै खरिद गर्नुपर्ने हुन्छ । फाइजर र बायोएनटेकको भ्याक्सिन ९५ प्रतिशत, मोडरनाको भ्याक्सिन ९५ प्रतिशत, स्पुतनिक भी भ्याक्सिन ९२ प्रतिशत, अक्सफोर्ड र एस्ट्रजेनेकाको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी मानिएका छन् । फाइजर र बायोएनटेकको भ्याक्सिन ट्रायल अमेरिका, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका, जर्मनी र टर्कीका १५२ स्थानमा भएका छन्।

करोडौंको संख्यामा ल्याउन लागिएको भ्याक्सिनको व्यवस्थापन नेपालका लागि चुनौती हो । खोपलाई सही तरिकाले व्यवस्थापन गरिएन भने खोपको प्रभावकारिता घट्न सक्नेछ, जसले गर्दा खोप लगाउनु र नलगाउनुमा फरक हुनेछैन ।

त्यस्तै अक्सफोर्ड र एस्ट्रजेनेका भ्याक्सिन बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा ट्रायल भएका थिए । मोडरनाको भ्याक्सिन अमेरिकामा ट्रायल गरिएको थियो । स्पुतनिक भी भ्याक्सिन रुसमा र सिनोभ्याक ब्राजिललगायत विभिन्न देशमा तेस्रो चरणको ट्रायल गरिएका र गरिँदै पनि छन् । यीमध्ये धेरैले ब्राजिलमा ट्रायल गरेको देखिन्छ भने नेपाललगायत दक्षिण एसियाली कुनै पनि देशमा ट्रायल भएको वा नतिजा प्रकाशित भएको देखिँदैन । भारत आफैँले विकास गरेको खोप ट्रायलको नतिजा पनि सार्वजनिक भएको छैन । भारतमा गरिने कुनै पनि भ्याक्सिन ट्रायल र त्यसको प्रभावकारिताको नतिजाले नेपालका लागि समेत त्यो भ्याक्सिनको प्रभावकारिताबारेमा केही हदसम्म अनुमान गर्न सहज र सहयोगी हुनेछ । 

लक्षणविहीन कोरोना संक्रमितको प्रतिशत संख्या हेर्दा विश्वमा नेपाल अग्रपंक्तिमा आउँछ । पहिलो लकडाउनको अन्तसम्म आइपुग्दासम्म झन्डै ९९ प्रतिशत कोरोना संक्रमित नेपालमा लक्षणविहीन अवस्थामा थिए । उनीहरू क्वारेन्टिनमा रहँदा वा कन्ट्याक्ट ट्रेसिङमा पहिचान हुने गर्थे । हाल पनि अत्यधिक मात्रामा संक्रमितहरू लक्षणविहीन अवस्थामा पाइने गरेका छन् । लेखकको एक मित्रले केही दिनअघि विवाह भोजमा जानुअघि कोरोना संक्रमण छ कि छैन भनेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । केही समयअघि नेपाल सरकारले एन्टिजेन टेस्ट प्रयोगमा ल्याउन हजारभन्दा बढीको कोरोना हटस्पट भनिने ठाउँबाट नमुना संकलन गर्दा झन्डै १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको भन्ने सार्वजनिक भएको थियो । यी संक्रमितहरू आफैँमा कुनै लक्षणहरू देखेर टेस्ट गर्न गएका थिएनन् । यिनीहरू लक्षणविहीन कोरोना संक्रमित थिए । नेपालमा कोरोनाको चेन हे¥यो भने लक्षणविहीन संक्रमितबाट नै सर्ने गरेको देखिन्छ । हाल उपलब्ध भ्याक्सिनले लक्षणविहीनमा कस्तो प्रभाव पर्छ भन्ने प्रमाण नदेखिएको अनुसन्धान लेखमा उल्लेख गरेको पाइन्छ । नेपालमा अधिकांश संक्रमित लक्षणविहीन हुँदा भ्याक्सिन प्रयोगका बाबजुद संक्रमण निरन्तर फैलने अवस्था हो भने नेपालमा भ्याक्सिन प्रयोगको औचित्यतामाथि नै प्रश्न उठ्न सक्नेछ ।

कोभिड भ्याक्सिन प्राथमिकताका आधारमा दिने योजना नेपाल सरकारको देखिन्छ । हुन त विश्वमै यस्तो योजना अघि सारिएको पाइन्छ । यसमा पÞ्रmन्ट लाइनरलाई पहिलो प्राथमिकतामा राखिएको छ । तर, भ्याक्सिनको प्राथमिकता छनोट गर्दा भर्खरै संक्रमणमुक्त भएकालाई खोप दिने कि संक्रमण नै नलागेका, दीर्घरोगी वा वृद्धहरूलाई दिने भन्ने अवस्था आउनेछ । कोभिडको अग्रपंक्तिमा हुनेहरू अधिकांश संक्रमित भएका वा भइरहेका देखिन्छन् । हाल प्रचारमा बढी आएका खोप संक्रमण नभएका वा कोभिड–१९ उपचार गरिसकेकालाई भ्याक्सिन ट्रायलमा समावेश गरिएको छैन । यसर्थ कोरोना संक्रमित भइसकेको व्यक्तिलाई समेत खोप दिँदा सकारात्मक नतिजा दिने हो वा लगाउनु र नलगाउनुमा फरक हुने र नहुने हो वा स्वास्थ्यमा नकारात्मक प्रभाव आउने हो भन्ने अनुसन्धानमा भनिएको छैन अथवा यसबारे थाहा छैन । 

सायद यस्तै अनिश्चितताका कारणले होला स्वयं भ्याक्सिन उत्पादक कम्पनी खोपको प्रयोग गरिसकेपछि भइपरी आउने समस्याका कारणले आउने कानुनी मुद्दा खेप्न नपरोस् भनेर नेपाल सरकारसँग पनि आग्रह गरेको कुरा हालै सार्वजनिक भइसकेको छ । भ्याक्सिन ट्रायललाई आधार मान्ने हो भने संक्रमित भए–नभएको छुट्याउनुपर्ने हुन्छ । नेपालमा माथि उल्लेख गरेझैँ अधिकांश संक्रमित लक्षणविहीन रहेका छन्, जसले गर्दा संक्रमण भए–नभएको इतिहास थाहा पाउन त्यस्तो सहज हुनेछैन । तसर्थ खोप लगाउनुअघि हरेक व्यक्तिको एन्टिबडी परीक्षण गर्नुपर्ने अनिवार्यता हुनेछ । यदि भर्खरै संक्रमित भएकालाई पनि लगाउँदा फरक नपर्ने रहेछ भने पनि सो संक्रमितलाई भ्याक्सिन लगाइदिँदा वास्तविक संक्रमण नभएकाहरू खोप लिनबाट वञ्चित हुने सम्भावना बढ्नेछ । हाल विश्वमा एकातर्फ खोपको ठूलो माग छ भने अर्कोतर्फ यसको अभाव पनि छ । नेपाल अरू देशको सहायतामा भर पर्नुपर्ने हुँदा प्राप्त भ्याक्सिनहरू महत्वपूर्ण हुने हुन्छ, सही व्यक्तिले सही समयमा प्रयोग गर्नुपर्ने अर्को चुनौती देखिन्छ । सही भ्याक्सिन सही समयमा सही व्यक्तिमा प्रयोग गरेमा मात्र नेपालमा यसको प्रभावकारी नतिजा देखिन सक्नेछ । 

विश्वमा कोभिड–१९ का कारणले मृत्यु हुनेमा सबैभन्दा बढी वृद्ध उमेरका पर्छन् । नेपालमा त कोरोना संक्रमण व्यापक भएपछि संक्रमित वृद्धमा मृत्युको संख्या ह्वात्तै बढेको पाइन्छ । हाल तेस्रो चरण पार गरेका अधिकांश भ्याक्सिनमा वृद्धलाई प्राथमिकतामा पारेको देखिँदैन अथवा ट्रायलमा नगण्य संख्यामा मात्र वृद्ध उमेरका समावेश गरिएका छन्, जसले गर्दा यी भ्याक्सिन यो समूहका लागि कति प्रभावकारी हुन सक्ला भनेर ठोकुवा गर्न सकिनेछैन । उनीहरूमा दीर्घरोग हुँदा र नहुँदा भ्याक्सिनले संक्रमणको लक्षणलाई कडा हुनबाट कसरी रोक्छ भन्ने जानकारी छैन । त्यस्तै गर्भवती महिला यी ट्रायलमा समावेश नगरिएकाले यसको प्रभावकारिताबारे नतिजा र तथ्यांक छैन । नेपालमा कोरोना संक्रमण सुरु भएदेखि सुत्केरी महिलाको मृत्यु वा गर्भपतन भएका थुप्रै घटना छन् । नेपालमा हालको तथ्यांक हेर्ने हो भने पनि ६० वर्षमाथिका वृद्धको मृत्यु कोरोना संक्रमणका कारणले बढी हुने गरेको देखिएकाले नेपालमा भ्याक्सिनको सही प्रयोग र प्रभावकारिता पनि यी समूहमा कुन भ्याक्सिनले बढी सकारात्मक नतिजा दिएको छ भन्नेमा भर पर्नेछ । करोडौंको संख्यामा ल्याउन लागिएको भ्याक्सिनको व्यवस्थापन नेपालका लागि अर्को चुनौती हो । हाल नियमित खोपका लागि प्रयोग भइरहेका फ्रिजबाहेक थप अरू पनि चाहिनेछ । खोपलाई सही तरिकाले व्यवस्थापन गरिएन भने खोपको प्रभावकारिता घट्न सक्नेछ, जसले गर्दा खोप लगाउनु र नलगाउनुमा फरक हुनेछैन ।                

अन्त्यमा, हाल एक दर्जनको हाराहारीमा भ्याक्सिन तेस्रो चरण पार गर्दै छ र थप सयौँ विभिन्न चरणमा रहेको देखिन्छ । बेलायत, अमेरिका र रुसले आ–आफ्नो देशमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् भने केही देश छिट्टै अनुमति दिने चरणमा छन् । यसैबीच नेपालले पनि भ्याक्सिन भित्र्याउने प्रक्रिया सुरु गरेको भए पनि कुन भ्याक्सिन किन आवश्यक छ भन्ने प्रश्नको चौबाटोको बीचमा हामी उभिएका छौँ । कुनै भ्याक्सिनको प्रभावकारिता उच्च, तर नेपालमा वितरण गर्न व्यावहारिक कठिनाइ (अल्ट्रा कोल्ड फ्रिज चाहिने), कुनैको हाल उपलब्ध भ्याक्सिनभन्दा तुलनात्मक रूपमा कम प्रभावकारिता, तर मूल्य र वितरण गर्ने (सामान्य फ्रिजको प्रयोग गर्न सकिने) कोणबाट हेर्दा बढी व्यावहारिक देखिने, भने कतिपय भ्याक्सिनको प्रभावकारिता नतिजाको तथ्यांक पारदर्शी नभएको जस्ता आदि सीमितता छन् । यी सबै सीमितताका बाबजुद नेपालले भ्याक्सिनको सावधानी र सटिक विश्लेषण गरी नेपाली नागरिकका लागि प्रभावकारी हुने र आर्थिक हिसाबले पनि कम भर पर्ने भ्याक्सिन ल्याउनुपर्ने हुन्छ । ‘भ्याक्सिन कूटनीति’ दबाब नेपालका लागि अर्को चुनौती देखिन्छ । तसर्थ नेपालले ठूलो संख्यामा भ्याक्सिन खरिद गर्दै गर्दा भ्याक्सिनको प्रभावकारिता, आर्थिक अवस्था, भौतिक संरचना, भौगोलिक अवस्था आदिलाई मध्यनजर गरी भ्याक्सिन छनोट र प्रयोगबारेको बहसलाई तीव्रता दिनुपर्छ ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

सुझावित समाचार