ट्रम्पको हार स्विकार्न नसकेका बोल्सोनारो

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको जितलाई हालसम्म स्विकारेका छ्रैनन् । ट्रम्पकै भाषाबाट सापट लिएर बोल्सोनारो भनिरहेका छन्, ‘अमेरिकी चुनावमा धेरै जालझेल भएको छ, यसैले म चुनावी परिणाम स्विकार्न सक्दिनँ ।’ एकजना विदेशी नेताप्रति बोल्सोनारोको आशक्तिको पछाडि कुन शक्तिले काम गरेको छ ? आखिर बोल्सोनारो त्यस्ता नेता हुन्, जो नयाँ तथ्यले खण्डन गरे पनि हाइड्रोक्लोरोक्विनलाई कोभिड–१९ को उपचार बताइरहेका छन् । उनी महामारीलाई अतिरञ्जित बताउँछन्, आफ्नो सरकारले देशबाट भ्रष्टाचार उन्मूलन गरेको दाबी गरिरहेका छन् र ब्राजिलमा कहिले पनि सैनिक तानाशाही नभएको दाबी गर्छन् । 

विश्व पर्यावरणको महत्वपूर्ण हिस्सा अमेजन रेनफरेस्टमा अभूतपूर्व स्तरको डढेलो लागेर संसारको ध्यान तानिँदासमेत डढेलो लागेको अस्वीकार गर्ने नेता हुन्, बोल्सोनारो । त्यसैले विश्वमञ्चमा अमेरिकी राष्ट्रपति ट्रम्पका सबैभन्दा प्रखर समर्थक बोल्सोनारोले आफ्ना मित्रको हारलाई स्विकार्न नसक्नुलाई पनि नौलो मानिएको छैन । ‘ट्रपिक्सका ट्रम्प’ उपनाम पाएका बोल्सोनारोलाई ट्रम्पसँग आफ्नो नियति जोडिएको लागेर पनि यो हार स्विकार्न गाह्रो भएको हुन सक्छ । ब्राजिलका विपक्षीहरू संगठित भइरहँदा बोल्सोनारोले ट्रम्पको हारमा आफ्नो भावी हारको प्रतिछाया देखेको हुनुपर्छ । 

विगत चार वर्षको अवधिमा ट्रम्पलाई अँगाल्ने बोल्सोनारोको तत्परताका बाबजुद उनले ट्रम्पबाट उत्तिकै सहुलियत पाएको देखिएको थिएन । अघिल्लो वर्ष बोल्सोनारोले ट्रम्पप्रतिको आशक्ति देखाउँदै भनेका थिए, ‘म उनीप्रति झन्भन्दा झन् बढी मायामा पर्दै गएको छु ।’ तर, बदलामा बोल्सोनारोले के पाए ? यहाँसम्म कि अधिकांश अमेरिकी राष्ट्रपतिको राजकीय भ्रमणको गन्तव्य बन्ने गरेको ब्राजिल चार वर्षसम्म ट्रम्पको भ्रमणको सूचीमा परेन । जहाँसम्मको अर्थतन्त्रको कुरा छ, सन् २०१९ मा ब्राजिललाई अति धनी राष्ट्रहरूको समूह ओइसिडीको सदस्य बनाउन अमेरिकाले समर्थन गरेकोमा बोल्सोनारो विश्व व्यापार संगठनमा केही सहुलियत त्यागिदियो । त्यसमार्फत देशको अर्थतन्त्रमा लगानीकर्ताको आत्मविश्वास बढ्ने सरकारको आशा थियो । तर, त्यसो भएन । बोल्सोनारोले आफ्नो देशको कृषि क्षेत्रलाई आघात पुग्ने गरेर अमेरिकी गहुँ र इथानोल निर्मातालाई विशेष व्यापारिक सहुलियत प्रदान पनि गरे । बदलामा ट्रम्प प्रशासनले ब्राजिलियन अल्मुनियममाथि कर लगाएर खराब मित्रको परिचय दिए । 

ट्रम्पको हारले ब्राजिलका राष्ट्रपति बोल्सोनारोले शक्तिमा रहेका एक मित्र मात्र गुमाएनन्, विश्व राजनीतिमा आफूजस्तै दक्षिणपन्थी पपुलिस्ट विचार बोक्ने नेता पनि गुमाए

ट्रम्पको कार्यकालमा बोल्सोनारोलाई एउटा छुट भने दिइएको थियो : उनलाई अमेजनमा मन चाहेको गर्ने छुट थियो । यसको अर्थ उनलाई वातावरणीय कानुनलाई कमजोर बनाउने छुटसमेत थियो । बोल्सोनारो आफैँ पनि ‘पर्यावरणीय कानुनले केही पनि नजोगाउने’ भन्थे । ठूला कृषक, काठ व्यापारी तथा खनिज व्यापारीले रेनफरेस्टमा लुट मच्चाइरहँदा उनी मौन रहे । उनको प्रशासनमा अमेजन वर्षावनको विनाश १२ वर्षकै उच्च पुगेको छ । ट्रम्पको आशीर्वादकै कारण बोल्सोनारोले निर्बाध रूपमा वातावरणीय विकास जारी राख्न सकेका हुन् । दबाब दिनुको साटो उल्टो एक ट्विटमार्फत ट्रम्पले अघिल्लो वर्ष लेखेका बोल्सोनारोको प्रशंसा गर्दै लेखेका थिए, ‘बोल्सोनारोले अमेजन डढेलो निभाउन निकै ठूलो मिहिनेत गरेका छन् ।’ उनको प्रयासका लागि कृतज्ञ हुनुपर्ने ट्रम्पको आशय थियो ।

बाइडेनले जलवायु संकटलाई ट्रम्पले जस्तो हौवा मात्र मानेको देखिँदैन । जलवायु संकटप्रति गम्भीर नेतृत्व अमेरिकाको सत्तामा आएपछि बोल्सोनारोमाथि दबाब बढ्ने निश्चित छ । राजनीतिक वैज्ञानिक ओलिभर स्टुन्केलका अनुसार ब्राजिलले पर्यावरणीय संरक्षणमा गरेको हेलचेक्र्याइँको कारण केही समयपछि नै अमेरिका र युरोपेली संघको संयुक्त दबाब सामना गर्नुपर्ने हुन सक्छ । विश्वको सबैभन्दा ठूलो उष्ण प्रदेशीय वर्षावन संरक्षण गर्न असफल भएकोमा ब्राजिल ती मुलुकबाट आर्थिक रूपमा एक्लाइन सक्छ । बोल्सोनारोलाई बाइडेनको आगमनले पर्न सक्ने दबाबबारे पहिले नै नभएको भने होइन । अमेरिकी राष्ट्रपतीय डिबेटका क्रममा बाइडेनले ब्राजिललाई दबाब दिने भनेकोमा बोल्सोनारोले कडा टिप्पणी पनि फर्काएका थिए । ‘एक देशको राष्ट्र प्रमुखका उम्मेदवारले हामीले अमेजनको आगो निभाउन सकेनौँ भने ब्राजिलको व्यापारिक अवरोध बढ्ने भनेका छन् ।’ तर, त्यसमा चिन्ता लिन आवश्यक नभएको भन्दै उनले त्यससँग कसरी सामना गर्ने योजना सुनाउँदै भनेका थिए, ‘कूटनीति मात्र पर्याप्त हुँदैन । जब थुकले काम गर्दैन, तब बारुदको आवश्यकता पर्छ ।’ 

यस्ता टिप्पणीले सद्दे दिमाग भएका राजनेताले भन्न नहुने हो । हामीले यस्ता टिप्पणीको आलोचना गर्नुपर्छ । तर, बोल्सोनारोको यो भनाइले समय बदलिँदै छ र बदलिएको समयमा आफूलाई पायक पर्नेछैन भन्ने उनलाई भान परेको हुन सक्छ । ट्रम्पको हारले ब्राजिलका राष्ट्रपतिले शक्तिमा रहेका एक मित्र मात्र गुमाएनन्, विश्व राजनीतिमा आफूजस्तै विचारधारा बोकेको एक नेता पनि गुमाए । विश्वभरका दक्षिणपन्थी पपुलिस्ट नेताहरूका लागि ट्रम्प एक आदर्श थिए, अझ नेता नै थिए । अहिले आएर ट्रम्पको बहिर्गमनले उनको जस्तो राजनीति गर्नेहरूलाई असहजता उत्पन्न गराएको छ । कम्तीमा धेरै ब्राजिलियन नागरिकको यस्तो धारणा (आशा) रहेको छ । सन् २०१६ को ट्रम्प जितले जसरी ब्राजिलको आफ्नै पपुलिस्ट नेताको उदयलाई सघायो, उनको हारले यताका नेताको बहिर्गमन हुने ब्राजिलियन जनताको आशा देखिन्छ । तर, आशा सधैँ यथार्थमा बदलिन्छ भन्ने पनि हुँदैन ।

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य 
भेनेसा बारबरा ‘अ होर्टिलिका’ नामक साहित्यिक पत्रिकाका सम्पादक हुन् । 

सुझावित समाचार