नेपालमै पहिलोपटक मेरुदण्डको शल्यक्रियासम्बन्धी पुस्तक प्रकाशित भएको छ । मेरुदण्डसम्बन्धी विशेषज्ञ डाक्टरहरू राष्ट्रिय ट्रमा सेन्टरका डा. गौरवराज ढकाल, ग्रान्डी अस्पतालका डा. विनोद बिजुक्छे र बयोधा अस्पतालका डा. अभय यादवले संयुक्त रूपमा पुस्तक लेखेका छन् । सो पुस्तक १३ मंसिरमा भएको नेपाल एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालको अनलाइन सम्मेलनमार्फत सार्वजनिक भएको हो ।
मेरुदण्डको शल्यक्रियासम्बन्धी सामग्री समेटिएको पुस्तकले यससँग सम्बन्धित सबै चिकित्सकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको डा. ढकालले बताए । लेखकहरूले कोसेली प्रकाशनले प्रकाशन गरेको पुस्तकबापतकाे रोयल्टी सामाजिक काममा खर्च गर्ने घोषणा गरे ।
‘मेरुदण्ड चिकित्साले नेपालमा पनि आकार लिन थालेको छ, युवापुस्ताको झुकाव पनि देखिन थालेको छ,’ डा. ढकालले भने, ‘नेपालमा मेरुदण्ड प्रशिक्षण र फेलोसिपका कार्यक्रमहरू भए पनि पाठ्यसामग्री महँगो हुँदा विद्यार्थीका लागि खर्चिलो हुने गरेको थियो, हाम्रो यो प्रयासले त्यस्तो लागत कम गरेको छ ।’ पुस्तकको दोस्राे शृंखला सन् २०२१ को उत्तरार्धमा प्रकाशनमा ल्याउने उद्देश्य रहेको लेखकहरूले बताएका छन् ।