खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा कर्मचारी अभाव भएपछि विभिन्न जिल्लाको अनुगमन प्रभावित भएको छ । तनहुँसहित गोरखा, लमजुङ, मनाङ र पूर्वी नवलपरासीको अनुगमन गर्ने जिम्मा पाएको कार्यालयले कर्मचारी अभावका कारण अनुगमन गर्न सकेको छैन ।
मनाङ जिल्लामा अहिलेसम्म अनुगमन भएकै छैन । जसका कारण त्यस क्षेत्रका स्थानीय मर्कामा परेका छन् । १५ कात्तिक ०७५ मा तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएयता होटेल, किराना पसल तथा उद्योगहरूमा नियमित अनुगमन हुँदै आएको थियो । तर, अहिले कर्मचारी अभाव भएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेल बताउँछन् ।
लामो समयदेखि दरबन्दी खाली
अनुसन्धान अधिकृत पोख्रेलका अनुसार कार्यालयलाई पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी छ । तर, कर्मचारी अभावले सबै जिल्ला पुग्न सकिएको छैन । ‘कार्यालयमा म एक्लै छु । एक्लैले पाँचवटा जिल्लाको अनुगमन गर्नुपर्छ । गोरखा र लमजुङमा कहिलेकाहीँ मात्रै अनुगमन गरिएको छ । मनाङमा अहिलेसम्म एकपटक पनि अनुगमन गर्न सकेका छैनौँ,’ उनले भने ।
कार्यालयले अहिले तनहुँसहित गोरखा र लमजुङको मात्रै अनुगमन गरेको छ । ती जिल्लामा पनि सबै ठाउँमा अनुगमन हुन सकेको छैन । पूर्वी नवलपरासी भने नजिक भएकाले भैरहवाले हेरेको छ । दरबन्दीअनुसार कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित बनेको खाद्य अधिकृत पोख्रेलको भनाइ छ । ‘एक्लैले जताततै भ्याउनुपर्ने बाध्यता छ, तर सकिएको छैन,’ उनले भने, ‘तीनजनाको दरबन्दी भए पनि दुईजना प्राविधिक कर्मचारीको पद खाली छन् ।’
सवारीसाधनको पनि अभाव
कार्यालयमा चारपांग्रे सवारीसाधन छैन । बाहिरी जिल्लामा जानुपर्दा भन्नेबित्तिकै सवारीसाधन पाइँदैन । भाडाको सवारीसाधन लैजाँदा चर्को शुल्क लाग्छ । एकातिर कर्मचारीको अभाव छ, अर्कोतिर सवारीसाधन छैन । ‘तनहुँमा कार्यालय भएकाले यहाँको बजारमा साताको दुई–तीनपटक बजार अनुगमन गरेका छौँ, अनुगमन प्रभावकारी पनि बनेको छ, तर बाहिरी जिल्लाको अनुगमनलाई भने तीव्रता दिन सकिएको छैन,’ उनले भने, ‘एकपटक पनि अनुगमन नगरिएको मनाङको भने पुसमा अनुगमन गर्ने तयारी छ ।’ कार्यालयले पाँच जिल्लाका झन्डै दश हजार खाद्य व्यवसायीको अनुगमन गर्नुपर्ने जिम्मेवारी छ ।
लमजुङ र गोरखामा एक–एकपटक अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले लमजुङ र गोरखामा आर्थिक वर्ष ०७७/७८ मा एक–एकपटक अनुगमन गरेको छ । कार्यालयले गत वर्ष लमजुङमा दुईपटक अनुगमन गरेको थियो भने गोरखामा तीनपटक गरेको थियो । ती जिल्लाको अनुगमनलाई छिटै निरन्तरता दिने कार्यालयले जनाएको छ ।
खाद्य स्वच्छता कायम राख्न किराना पसल, होटेल तथा उद्योगहरूमा नियमित अनुगमन गर्दै आएको कार्यालयले जनाएको छ । सर्वसाधारण जनताको स्वास्थ्य कायम राख्न, खाद्य पदार्थमा मिसावट रोक्न र उचित स्तर बनाइराख्न कार्यालयले अनुगमन गर्दै आएको हो ।