प्रधानमन्त्रीले शिलान्यास गरेको राँके–रवि–भेडेटार सडक ठेक्का तोडेर भए पनि अघि बढाइने

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

पाँचथरको राँकेदेखि रवि हुँदै धनकुटाको भेडेटार जोडिने सडक कालोपत्रे गर्ने योजना वर्षौँदेखि अलपत्र रहेको छ । 
सडक नबन्दा यात्रु हिउँदमा धुलो र वर्षामा हिलो व्यहोर्न बाध्य छन् ।

सडकको ट्रयाक ओपन भएको दुई दशकपछि कालोपत्रेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ साल पुसमा शिलान्यास गरेका थिए । 

तर, अहिलेसम्म पनि ठेकेदारले काम अघि बढाएको छैन । अहिलेसम्म सडक निर्माणको प्रगति बल्ल १२ प्रतिशत मात्रै छ । 

दोस्राेपटक स्थलगत रूपमा अवलोकन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्थानीयवासीसँगको छलफलमा ठेक्का तोडेर भए पनि सडक कालोपत्रे गराउने वचन दिएका छन् । 

धनकुटाको ६ नं. बुधबारेमा भएको स्थानीयवासी र जनप्रतिनिधिसँगको छलफलमा मन्त्री नेम्वाङले सडकका विषयमा परराष्ट्रमार्फत भारत सरकारसँग कुरा भइसकेको र अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने भन्ने विकल्पका विषयमा छिट्टै टुंगो लाग्ने बताए । 

‘सडक निर्माण कार्यलाई गति दिने गरी मन्त्रालयले तत्कालै निर्णय लिन्छ, सडकको काम यही अवस्थामा रहनुहुँदैन,’ उनले भने । 

भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको सडकको ठेक्का पनि भारतीय कम्पनीकै हातमा छ ।

ठेकेदार एफको इन्फ्राको प्रालिले तीन करोड २६ लाख १८ हजार पाँच सय ४१ अमेरिकी डलरमा कालोपत्रेका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक निर्माणको प्रगति अहिलेसम्म ४० प्रतिशतभन्दा बढी भइसक्नुपर्ने हो । तर, बल्ल १२ प्रतिशत मात्रै काम भएको छ । 

सडकले धनकुटाका भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मढेवास, सौरेबजार, ६ नम्बर बुधबारे क्षेत्रलाई समेट्छ । 

यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुबिर्से पञ्चमी, पुरानो पञ्चमी, देउरालीलगायत ग्रामीण बजारमा पुग्छ । 

इलामको फुयतप्पा, चमैता, एकतप्पालगायत क्षेत्र हुँदै सडक राँके बजार जोडिन्छ । 

राँके–भेडेटार बाटोलाई आधार बनाएर मोरङका विभिन्न गाउँ जाने सडक छन् । सडक बनेपछि यहाँको कृषि उपजलाई बजारसम्म पुऱ्याउन सहज हुने स्थानीय बताउँछन् । 

यो सडकले गाउँलाई सहरसँग मात्रै हाेइन, मेची र कोसी राजमार्गलाई पनि जोड्ने काम गर्छ । 

सडक निर्माणका विषयमा भएको छलफलमा धनकुटा, इलाम र पाँचथरका स्थानीय तहका प्रमुखहरूले मन्त्री नेम्वाङलाई यथाशीघ्र सडक निर्माण पूरा गरिदिन आग्रह गरे । 

कार्यक्रममा धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईलगायत सहभागी थिए ।

सुझावित समाचार