नेप्सेमा बुलिस प्रवृत्ति पुनः बलियो, ३ दिनमै बढ्यो १११ अंक

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

नेप्सेमा बुलिस प्रवृत्ति पुनः बलियो बन्न थालेको छ । ३ दिन लगातार नेप्से बढ्दा १ सय ११ अंक जोडेको छ । सोमबार नेप्से करिब ५७ अंक जोडेर २ हजार ६७ बिन्दुमा पुगेको छ । 

सोमबार राष्ट्र बैंकको सञ्चालक समिति बस्ने खबरले पनि बजारलाई तताएको हो । ‘राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्ने खबरले पनि केही काम गरेको छ,’ एक सेयर ब्रोकरले भने । केही दिनअघि मार्जिन कर्जामा कडाइ गर्ने संकेत गरेको राष्ट्र बैंकले लगानीकर्ताबाट विरोध आएसँगै यसलाई लगानीकर्तासँगको छलफलबाटै टुंगो लगाउने बताउँदै आएको थियो । तर, राष्ट्र बैंकको सञ्चालक समितिको बैठक भने बस्न सकेन ।

यो खबरले नकारात्मक बनेको बजार पुनः सकारात्मक हुने प्रयासमा थियो । सोमबार बैठक बस्ने खबरले सकारात्मक प्रभाव परेको हो । ‘बैठकले ठूलो निर्णय नगरे पनि बजार सम्बन्धित नीति चलाउने विषयमा राष्ट्र बैंकले नसोची निर्णय नलिने देखिएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको हो,’ उनको दाबी छ । लगानीकर्ताको पक्षमा निर्णय हुन सक्ने अपेक्षा बढेको हो । 

यस दिन बजार खुलेको केही समयदेखि नै वृद्धिको बाटोमा अगाडि बढ्दै बजार बन्द भयो । कारोबार रकम पुनः ७ अर्ब रुपैयाँ नाघेको छ । यस दिन ७ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको हो । 

२ सय २ किसिमका धितोपत्र र ऋणपत्रको कारोबार हुँदा १५ वटाको मूल्यमा सर्किट ब्रेक लागेको छ । मूल्य एकै दिन १० प्रतिशतले बढ्दा सर्किट ब्रेक लाग्ने गर्छ । सर्किट ब्रेक लागे पनि मूल्य घटेर कारोबार गर्न चाहनेले गर्न सक्ने व्यवस्था छ । यद्यपि, ठूला कम्पनीहरूको समेत त्यसपछि कसैले पनि खासै मूल्य घटेर कारोबार गर्न चाहेनन् । 

१ सय ४३ सेयर र ऋणपत्रको मूल्य बढेर र ४० वटाको मूल्य घटेर सेयर कारोबार भएको हो । प्राइम लाइफ, नेपाल लाइफ, शिखर इन्स्योरेन्सलगायतको मूल्य उच्चदरमा वृद्धि भएको हो । यस दिन २७ दशमलव ४७ प्रतिशत बोनस सेयर र १ दशमलव ४५ प्रतिशत नगद लाभांश प्रस्ताव सार्वजनिक भएको ग्लोबल आइएमई लघुवित्तको मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।

५ दशमलव २५ प्रतिशत बोनस सेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य ३ रुपैयाँले घटेर २ सय ७ रुपैयाँमा सीमित भएको छ ।  १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको कृषि विकास बैंकको सेयर मूल्य भने १७ रुपैयाँले घटेर ५ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

केही दिनअघि ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको प्राइम लाइफको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको हो । यस दिन जीवन बिमा कम्पनी समूहको परिसूचक ८ प्रतिशतले बढेको छ । व्यापारमूलक समूहको पनि यस दिन ८ प्रतिशतले वृद्धि भएको छ । 

See More On

सुझावित समाचार