सशस्त्र प्रहरीको नयाँ बाहिनी र गणको उद्घाटन

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

चितवनमा सशस्त्र प्रहरी बलको नयाँ बाहिनी र गणको सोमबार उद्घाटन भएको छ । राप्ती नगरपालिका–६¸भण्डारामा स्थापना भएको सशस्त्र प्रहरी बल¸ नेपाल नंं. ३ गढिमाई बाहिनी मुख्यालयको गृहमन्त्री रामबहादुर थापाले र भरतपुर महानगरपालिका– २ आँपटारीमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण हे.क्वा. चितवनको गृहसचिव महेश्वर न्यौपानेले  उद्घाटन गरेका हुन् । 

संघीय संरचनाअनुरूप बागमती प्रदेशमा रहेका उपत्यकाका तीन जिल्लाबाहेक अन्य १० जिल्लामा शान्तिसुरक्षा र अमनचयनको वातावरण निर्माण गरी सुशासन कायम गर्ने उद्देश्यका साथ ६ भदौ ०७५ मा बाहिनीको स्थापना गरिएको थियो  । चितवनको  समग्र सुरक्षा व्यवस्था हेर्ने गरी सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण हे.क्वा. चितवनको स्थापना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।  

बाहिनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सशस्त्र प्रहरीले आफूलाई प्रदान गरिएको जिम्मेवारी र उत्तरदायित्वलाई  कुशलतापूर्वक सम्पादन गर्दै आइरहेको र हाल नेपाललगायत विश्वभर महामारीको रूपमा फैलिरहेको कोभिड– १९ को संक्रमण रोकथाम र नियन्त्रणमा  सशस्त्र प्रहरीका राष्ट्रसेवकले उत्कृष्ट कार्य सम्पादन गरी आफूलाई देश र नागरिकको सच्चा पहरेदारको रूपमा प्रमाणित गरेकोमा  धन्यवाद दिएका थिए । 

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिलाई अझै विस्तार गर्दै लैजाने नेपाल सरकारको लक्ष्यअनुसार बिओपीहरूको स्थापना तीव्र गतिमा भइरहेको  उनको भनाइ थियो । बिओपी स्थापनामा वर्तमान संगठन प्रमुखले  लिएको पहलकदमी र नेतृत्वदायी भूमिकाको प्रशंसासमेत गरेका छन् । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सुरक्षाकर्मीहरूलाई  इमान्दार¸ अनुशासित¸बफादार र कर्तव्यनिष्ठ भई सरकारबाट प्राप्त जिम्मेवारी र उत्तरदायित्वलाई उच्च मनोबलका साथ वहन गर्न निर्देशन दिए । 
 

सुझावित समाचार