तपाईं आफ्नो रगत–पसिनाको कमाइबाट जमिनको एक टुक्रो किन्नुहुन्छ । सिमेन्ट, गिट्टीको जोहो गर्नुहुन्छ, तर जसै घर बनाउन सुरु गर्नुहुन्छ कोही न कोही चन्दा असुल्न आइपुग्छ । अब भन्नुस्, त्यतिवेला तपाईंलाई कस्तो महसस होला ? यो पश्चिम बंगालको डरलाग्दो वास्तविकता हो । चन्दाको यस धन्धालाई यहाँ ‘कटमनी’ भनिन्छ । यो बंगालको सत्तामा पूरै भिजिसकेको छ र यहाँ हुने अधिकांश हत्याहिंसाको जरा यससँग जोडिएका छन् ।
यो रक्तरञ्जित राजनीति अहिले चर्चामा किन छ त ? किनभने, भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको ¥यालीमा ढुंगामूढा गरिएको छ । यो ढुंगामूढा त्यतिवेला गरिएको हो, जतिवेला तृणमूल कांग्रेसका मुखिया र मुख्यमन्त्री ममता बनर्जीका भतिज अभिषेक बनर्जीको संसदीय क्षेत्र डायमन्ड हार्बरमा भाजपाका कार्यकर्ताहरू एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनीहरूमाथि हमला गरियो ।
भाजपाको केन्द्रीय कमान्डले घटनाको विरोध जनाएको छ भने त्यही पश्चिम बंगालको सत्ताधारी पार्टीले यसलाई भाजपाको नाटक मञ्चन भन्दै आएको छ । विवाद बढेको छ, राज्यपाल सक्रिय भइसकेका छन् र केन्द्रीय गृह मन्त्रालयले आधिकारिक रूपमा घटनाको छानबिन गर्न अधिकारीहरू खटाइसकेको छ ।
खासमा बंगालको राजनीतिको चरित्र नै रक्तपिपासु भइसकेको छ । सन् १९९७ मा वामपन्थी सरकारमा गृहमन्त्री बुद्धदेव भट्टाचार्यले विधानसभामा भनेका थिए, पश्चिम बंगालमा सन् १९७७ देखि १९६६ का बीचमा २८ हजार मानिस राजनीतिक हिंसामा मारिएका थिए । यहाँको हिंसाको जरो आधा शताब्दीभन्दा पुरानो छ ।
सन् १९७१ सम्म केन्द्रीय मन्त्रीमण्डलमा रहेका सिद्धार्थशंकर रे लाईसन् १९७२ मा इन्दिरा गान्धीले बंगालको कमान्ड सुम्पिएकी थिइन् । त्यतिवेला प्रदेशको नक्सलबाडीबाट उठेको नक्सली आन्दोलन उग्र भइरहेको थियो । मुख्यमन्त्री सिद्धार्थशंकर रेमाथि नक्सली आन्दोलनलाई दबाइएको भन्दै नरसंहारकको आरोप लाग्यो । तर, ती आरोपको पुष्टि कहिल्यै हुन सकेनन् । यसबीच नक्सलबादको नाममा आफ्ना प्रतिद्वन्द्वीलाई पनि ठूलो मात्रामा सफाया गरियो ।
त्यतिवेला के तय गरियो भने, कुनै पनि काम क्याडरको सहमतिविना नगर्ने । त्यहीँबाट सुरु भएको चन्दाको यो नयाँ धन्धा, जसलाई आज ‘कटमनी’का नामले चिनिन्छ ।
सत्ताको यस आतंकलाई अन्त्य गर्नका लागि बंगालका जनताले सन् १९७७ मा वामपन्थीलाई शासन सुम्पिए । त्यतिवेला के आशा गरिएको थियो भने, हत्या–हिंसाको राजनीति अन्त्य हुनेछ । तर, त्यो आशा पूरा हुन सकेन । आगामी ३४ वर्षसम्म वामपन्थी सत्तामा टिकिरहे, तर त्यतिवेला सत्ताधारी दलद्वारा पोषितहरू झनै शक्तिशाली भएर निस्किए ।
यसको सबैभन्दा ठूलो प्रमाण बन्यो २१ जुलाई १९९३ को सत्ताधारी हत्याकाण्ड, जसमा वामपन्थी सरकारले युवा कांग्रेसको प्रदेश अध्यक्ष ममता बनर्जीको नेतृत्वमा विरोध प्रदर्शन भइरहँदा त्यसमाथि गोली चलाउने आदेश दियो । त्यसमा १३ कार्यकर्ता मारिए । ममता बनर्जी आज पनि त्यो दुःखद घटनालाई वेलावेला सम्झने गर्छिन् ।
समय बित्दै गयो र सत्ताका लागि रगत बग्दै गयो । ममता बनर्जी कांग्रेसबाट छुट्टिएर आफ्नो नयाँ पार्टी गठनतर्फ लागिन् । जनताले नयाँ पार्टीसँग आशा लगाए र सन् २०११ मा वामपन्थीहरूलाई साढे तीन दशकदेखिको सत्ताबाट च्यूत गरिदिए । तर, दुःखको कुरा त्यो हत्या–हिंसाको राजनीति अझै पनि बंगालमा रोकिएको छैन । भाजपाका अधिकांश नेताहरूले के आरोप लगाउने गर्छन् भने गत वर्ष उनीहरूका एक सय १९ कार्यकर्ताको हत्या गरियो ।
आखिर बंगालमा हिंसाका जरा यति गहिरा कसरी भए त ? बाहिरबाट हेर्दा लाग्छ, यो सबै सत्तामा कायम राख्नका लागि गरिँदो हो । तर, वास्तवमा यहाँको परिघटना त्यति सपाट छैन । सन् १९७७ मा सत्तामा आएका वाम दलले आफ्नो जरा मजबुत गर्नका लागि रेजिमेन्ट क्याडर बेस बनाए ।
ठूला जमिन्दारबाट जमिन खोसेर गरिबमा बाड्नाले गरिबमा वामपन्थीको सरकार निकै लोकप्रिय हुन गयो । ती सबै निकै तीव्र गतिमा क्याडरमा रूपान्तरित भए । तर, विनास्वार्थ आखिर कसले पार्टीको सेवा गर्न सक्थ्यो र ? अनधिकृत ढंगले यसको नयाँ गोरेटो खनियो । त्यतिवेला के तय गरियो भने, कुनै पनि काम क्याडरको सहमतिविना नगर्ने । त्यहीँबाट सुरु भएको चन्दाको यो नयाँ धन्धा, जसलाई आज ‘कटमनी’का नामले चिनिन्छ ।
बंगालका जनताले ममता बनर्जीलाई सत्ता सुम्पिएपछि ती वामपन्थी कार्यकर्ताले के गर्ने त ? उनीहरूले हृदय परिवर्तन गरे र आफ्नो कार्यालयमा लागेको वाम झन्डा निकालेर तृणमूल कांग्रेसको झन्डा लगाइदिए । भन्नुको अर्थ कार्यकर्ता तिनै, मात्र झन्डा फेरियो । अनि उनीहरूको बानी फेरिने कुरा भयो त ? त्यसको परिणाम सबैका सामुन्ने छ । हिजोआज पनि कहिले पूजा चन्दाको नाममा त कहिले सुरक्षाको नाममा त कहिले घर बनाउने, पसल खोल्ने नाममा पनि चन्दा बुझाउनुपर्ने हुन्छ ।
(लेखक वरिष्ठ पत्रकार हुन्) हिन्दुस्तानबाट