आयात–निर्यात समस्या समाधानका लागि वीरगन्जका व्यवसायीसँग अर्थसचिवको छलफल

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

वीरगन्जका भन्सार कार्यालय, एकीकृत भन्सार जाँचचौकीका साथै ड्राइपोर्ट भन्सार कार्यालयमा आयात तथा निर्यातमा देखिएका समस्यालाई स्थलगत रूपमा बुझ्न अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीको संयोजकत्वमा वीरगन्ज पुगेको टोलीले सरोकारवालासँग छलफल गरेको छ । टोलीले स्थलगत भ्रमण गरी एकीकृत भन्सार जाँचचौकी पुगेर सरोकारवालासँग छलफल गरेको हो ।

 वीरगन्ज उद्योग वाणिज्य संघले व्यापार सहजीकरणका लागि समय–समयमा उठाउँदै आएका समस्यालाई अर्थ मन्त्रालयको टोलीले स्थलगत रूपमा नै बुझ्ने प्रयास गरेको संघले जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताको संयोजकत्वको प्रतिनिधिमण्डलले नेपालको भारत तथा तेस्रो मुलुकसँग हुने गरेको आयात–निर्यातमा बारम्बार देखा परेका समस्याबारे टोलीलाई जानकारी गराएको जनाइएको छ । उपाध्यक्ष गुप्ताले संघले तयार पारेको समस्याको सूची लिखित रूपमा नै सचिव पुडासैनीलाई हस्तान्तरण गरेको संघले जनाएको छ । 

छलफलका क्रममा कोभिड–१९ का कारण शिथिल हुन पुगेको अर्थ व्यवस्थालाई कसरी उकास्ने भन्ने विषयमा निजी क्षेत्रका प्रतिनिधिलगायत सरोकारवालालाई एकै ठाउँमा राखी छलफल गरेर निराकरणका ठोस उपाय खोज्ने विषयमा छलफल भएको जनाइएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यले काठमाडौंबाट टोली वीरगन्ज पुगेको सचिव पुडासैनीले छलफलका क्रममा बताएका थिए ।

See More On

सुझावित समाचार