परिपत्र सच्याउन गृह मन्त्रालयलाई आग्रह

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

जिल्ला समन्वय समिति ललितपुरले गृह मन्त्रालयले पठाएको परिपत्र सच्याउन माग गरेको छ । जिसस ललितपुरका प्रमुख अम्बरबहादुर खड्काले विज्ञप्ति जारी गरी परिपत्र अव्यावहारिक भएको जनाउँदै सच्याउन माग गरेका हुन् ।

गृह मन्त्रालयले २५, २७ र २८ कात्तिकमा जारी गरेको परिपत्रले ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन, संकलन एवं बिक्री वितरण सम्बन्धमा जिल्ला समन्वय समितिलाई संविधान एवं संघीय र प्रदेश कानुनले प्रदान गरेको अधिकारमाथि अंकुश लगाउने प्रयास गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जिससलाई संविधान, संघीय सरकार र प्रदेश सरकारद्वारा विभिन्न समयमा जारी ऐन–कानुनद्वारा प्रदत्त अधिकारको सम्मान एवं संरक्षण गर्दै गृह मन्त्रालयद्वारा जारी गरिएका परिपत्रहरूले जिससको अन्य सरोकारवाला निकायसँगको संयोजनकारी भूमिकालाई कमजोर बनाएको हुँदा उक्त परिपत्रहरूलाई सच्याई व्यावहारिक एवं कार्यान्वयनयोग्य नीति एवं विधि निर्माण गरियोस् भनी जोडदार रूपमा माग गर्दछु ।’ 

सुझावित समाचार