रसुवामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

रसुवामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । 

शुक्रबार सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरि देशको ६२औँ जिल्ला तथा बागमती प्रदेशको ९औँ जिल्लाको रूपमा रसुवा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । 

गोसाइँकुण्ड गाउँपालिकाका चारजना ज्येष्ठ नागरिकलाई परिचयपत्र दिएर बिमा कार्यक्रमको शुभारम्भ गरिएको

स्वास्थ्य बिमा बोर्ड बागमती प्रदेशका संयोजक सिर्जना पौडेलले बताइन् । 

कार्यक्रमको अवसरमा ज्येष्ठताको आधारमा चारजना र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङलाई परिचयपत्र वितरण गरिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । 

बोर्डका अनुसार बिमितका लागि रसुवामा प्रथम बिन्दुको रूपमा रसुवा अस्पताल र जिबजिबे ग्रामीण अस्पताल तोकिएको छ । 

कार्यक्रमको शुभारम्भ गर्नुपूर्व बोर्डले तीनदिने तालिम सञ्चालन गरेको थियो । कार्यक्रमको सदस्यता दर्ता चक्रअनुसार सेवा क्रियाशील हुने महिना निर्धारण गरिएको  जनाएको छ ।  

फागुन १ गतेदेखि रसुवा अस्पतालबाटै बिमा लिन सकिने गरी आवश्यक तयारी सुरु गरिएकोसमेत स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । 

वैशाख, जेठ र असारमा गर्नेको भदौ १, साउन, भदौ र असोजमा गर्नेको मंसिर १, कात्तिक, मंसिर र पुसमा गर्नेको फागुन १ र माघ, फागुन र चैतमा गर्नेको जेठ १ गतेदेखि सेवा क्रियाशील हुने भएको छ । 

बिमा गर्नेले परिवारको सदस्यको आधारमा शुल्क तिर्नुपर्नेछ । पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति सदस्य थप सात सय रुपैयाँ तिर्नुपर्छ । 

बिमा गराएपछि पाँचजनासम्मको परिवारले वार्षिक एक लाख र सोभन्दा बढी सदस्य भएका परिवारले दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्ने पाइने व्यवस्था गरिएको छ । 

स्वास्थ्य बिमा कार्यक्रममा कस्मेटिक सर्जरी, सहायक उपकरण यन्त्र, दाँतका महँगा उपचार सेवा, कृत्रिम गर्भाधान, लिंग परिवर्तनलगायतका सेवा समावेश नगरिएको बोर्डले जनाएको छ । 

दाँत उखेल्ने, संक्रमण नियन्त्रण, सामान्य फिलिङबाहेकका सेवा पनि बिमामा समावेश गरिएको छैन । बिमा गराएका परिवारले प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने बताइएको छ । 

स्वास्थ्य बिमा बोर्डका अनुसार हालसम्म रसुवासहित ६२ जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको छ । 

आर्थिक वर्ष ०७२–७३ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अब १५ जिल्लामा विस्तार हुन बाँकी रहेको जनाइएको छ ।

सुझावित समाचार