सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेन्द्र साहले एकैपटक २७ जना करारका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन् ।
उनले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएको दुई दिनमै २७ जना कर्मचारीलाई एकैपटक जागिरबाट बर्खास्त गरेका हुन् ।

गत २५ असोजमा साह निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएर पर्सा आएका थिए । आएको दुई दिनमै साहले कार्यालयमा आफूअनुकुल कर्मचारी नभएको भन्दै दुईजना इन्जिनियर, कार्यालय सहायकलगायत २७ जनालाई एकैपटक निकालेको बर्खास्तीमा परेका कर्मचारीले बताए ।
उनले निष्कासनमा परेका कर्मचारीलाई कुनै पनि हालतमा तलब भुक्तानी नदिने घाेषणा गरेका छन् । उनले लेखाका कर्मचारीलाई तलब नदिन निर्देशनसमेत दिएका छन् । निकालिएका कर्मचारीले गत असारदेखि असोजसम्मको तलबसमेत पाएका छैनन् ।
साहले निष्कासनमा परेका केहीलाई दैनिक ज्यालादारीमा काम गर्ने गरी पुन: नियुक्तिसमेत दिएकाे कार्यालयमा कार्यरत कर्मचारीले बताए ।

सहरी विकास तथा भवन कार्यालय पर्साको इकाइ शाखा गौरमा कार्यरत इन्जिनियर अशेष गोइतले करारको नियुक्ति पाएको तीन महिनामै नयाँ निमित्त कार्यालय प्रमुख साहले मनोमानीका साथ कामबाट निकालेको बताए ।
गोइतले भने, ‘जागिरबाट निष्कासन भएको सूचना आयो । तीन महिनाको तलब लिन बाँकी थियो । जिल्ला कार्यालय पुग्दा तलब नदिने गरी प्रमुखबाट निर्देशन आएको लेखा शाखाले बतायो । तलब पाएका छैनौँ ।’
निष्कासनमा परेका अर्का इन्जिनियर शैलेन्द्र यादवले गाइतलेजस्तै जागिरबाट निकालेको सूचना पाएपछि कार्यालयमा तलबका लागि निवेदन दिए । लेखाशाखाले माथिको निर्देशन भन्दै उनलाई पनि तलब दिन इन्कार गर्यो ।
उनले भने, ‘काम गरेको तलब पनि नपाउने गरी निर्देशन दिनु भनेको कस्तो नियत हो, तलब नदिए प्रमुखसँग प्रतिवाद गर्न हामी तयार छौँ ।’
पहिलेभन्दा कार्यालय व्यवस्थित भएकाे दाबी
विगतको कार्यालयभन्दा यसपटक सहरी विकास तथा भवन कार्यालय पर्सालाई सुधारमा ल्याएको निमित कार्यालय प्रमुख साहको दाबी छ ।
उनले आफूले जिम्मेवारी पाएपछि कार्यालयलाई व्यवस्थित बनाएको बताए । उनले भने, ‘केही महिनाअगाडि करारमा नियुक्त भएर काम नगर्ने कर्मचारीलाई एकैपटक निष्कासन गरेपछि कार्यालयलाई व्यवस्थित बनेको छ ।’
साहले काम नगर्ने केही कर्मचारीलाई प्रक्रिया पुर्याएर निकालेकाे दाबी गरे ।
तर, उनले जागिरबाट निकालिएका केही कर्मचारीलाई मनोमानी तरिकाले दैनिक ज्यालादारीमा नियुक्त गरेकाे कर्मचारीहरू बताउँछन् ।
कार्यालय प्रमुख हाजिर भएको चार दिनमा सरुवा
झापाबाट सरुवा भएर सहरी विकास तथा भवन कार्यालय पर्साको प्रमुख जिम्मेवारीमा आएका रुद्रनारायण दासलाई निमित कार्यालय प्रमुख साहले हाजिर गराएर केही दिनमै मन्त्रालयमा सरुवा गराएको कर्मचारीहरूले बताए ।
केही महिनाअघि निमित्तको जिम्मेवारी पाएका उनी अहिले कसैलाई पनि हाजिर हुन नदिने गरी कार्यालय आफैँले चलाउने अडान लिएको कर्मचारी स्रोतले जनाएको छ ।
गत मंसिर १० मा कार्यालय प्रमुखको जिम्मेवारीमा बसेर दास मंसिर १४ मा प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा तानिएका छन् ।
नयाँ पत्रिका दैनिकसँग फोनमा कुरा गर्दै दासले सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त प्रमुख साहले आफ्नो राजनीतिक पावर लगाएर केही दिनमै सरुवा गराएको बताए ।
उनले भने, ‘सहरी विकास तथा भवन कार्यालय पर्साको प्रमुखको रूपमा सरुवा भएर गएँ, पहिले त हाजिर नै हुन दिएनन् । पछि प्रमुख जिल्ला अधिकारीलाई हारगुहार गरेर हाजिर भएँ । हाजिर भएको चार दिनमै प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा हाजिर हुन गरी पत्र आयो ।’